लण्डनस्थित वेम्ली एरिना सांगीतिक कार्यक्रमका लागि विश्वमै चर्चित भेन्यू मानिन्छ । त्यही अन्तर्राष्ट्रिय मञ्चमा नेपाली गीत संगीत गुन्जियो ।
साढे १२ हजार दर्शक क्षमताको उक्त भेन्यूमा झण्डै ७ हजार नेपाली युवा ओइरिए । वेम्ली एरिना र वेम्ली स्टेडियम नेपाली युवाले ढाके । एकैपटक चार वटा नेपाली ब्याण्डले आफ्नो कला प्रस्तुत गरेर नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय उचाईमा पुर्याउने प्रयास गरे । कुटुम्ब, अल्बाट्रोस, एज ब्याण्ड र बिपुल क्षेत्री (ट्राभलिङ ब्याण्ड) गरी चारवटा सांगीतिक समूहले एउटै प्लेटफर्ममा गीत संगीत प्रस्तुत गर्दा युवा दर्शकले संगै गाएर नाचेर साथ दिए ।
कार्यक्रमको शुरुमै नेपाली लोक बाजाको उत्थानमा समर्पित लोकप्रिय ब्याण्ड कुटुम्बले असारै महिनामा, रातो र चन्द्र सूर्य, सोध रामलाई लगायत गीत संगीत र धुन प्रस्तुत गरेर दर्शकलाई ‘वार्म अप’ गराएको थियो । कन्सर्टमा गायक विपुल क्षेत्रीको युवा क्रेज अत्यधिक देखियो । क्षेत्रीले डढेंलो लाग्यो, अल्लारे यो जोवन, सिरिरी हावा बग्यो सुस्तरी, भेट भयो आज हामी लगायत आफ्ना कैयौं हिट गीत प्रस्तुत गरे ।
एज ब्याण्डको प्रयास हो मेरो, नचाहेको होइन तिमीलाई गीतदेखि अल्बाट्रोसको रक म्यूजिकमा झुम्मिने दर्शकको कमी रहेन । सन् २०१३ मा नेपथ्यले पहिलो पटक वेम्ली ऐरिना टेकेको थियो । नेपथ्यले रचेको इतिहास दोश्रो पटक ती ब्याण्डले अनुशरण गरेका हुन् । बी फेस्ट र पर्चा प्रोडक्सनले ‘जून फेस्टिभल’ नामक कन्सर्ट गरेका हुन् ।
आयोजक पर्चा प्रोडक्सनका सिइओ समिर गुरुङले नेपाली कलाकार र गीत संगीतलाई अन्तर्राष्ट्रिय मञ्च दिनु आफूहरुको मुख्य उद्देश्य रहेको बताए । नेपालीले वेम्ली ऐरिनामा हत्तपत्त आँट्न नसक्ने उक्त कार्यक्रम समिर गुरुङ, दीपेन्द्र लामा, सिद्धार्थ गुरुङ, कपिल गुरुङ, प्रशासन गुरुङ लगायतको संयुक्त प्रयासमा भएको हो ।