कांग्रेस सभापति शेरवहादुर देउवा विरुद्ध पहिलो पटक आफ्नै गृह जिल्लामा चर्को विरोध भयो त्यो पनि आफ्नै पार्टीका नेता कार्यकर्ताबाट । टिकट वितरणलाई लिएर चरम असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताहरुले सदरमुकाममा नारा जुलुस मात्र गरेनन् कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले टिकट वितरणलाई लिएर पार्टी केन्द्रिय समितिमा उजुरी नै दर्ता गरे ।
कांग्रेसको गत अधिवेशनमा कांग्रेस नेतृ आरजु देउवाको इच्छाविरुद्ध सभापतिमा २ मतले जितेका मल्ल र निर्वाचन हारेका रघुवर भट्ट समूहबीच चर्कंदै गएको बिवाद अन्तत: सभापति देउवासम्म पुग्यो र टिकट वितरणलाई लिएर सडकमै चरम असन्तुष्टी पोखियो । गृहजिल्लामा देखिएको विवादलाई देउवाले साम्य पार्न सकेका छैनन् । टिकट वितरणको असन्तुष्टीले निर्वाचनमा गम्भीर असर पर्ने संकेत देखिएको छ ।
०५४ को निर्वाचनमा धेरै मत अन्तरले अमरगढी नगरपालिकामा निर्वाचन जितेको कांग्रेसका लागि यसपटक भने गम्भीर चुनैती देखिएको छ । पार्टीभित्र टिकट वितरणमा देखिएको असन्तुष्टी साम्य गर्न सके सहज निर्वाचन जित्ने सम्भावना देखिएको कांग्रेसमा यो असन्तुष्टी कायम रह्यो र अन्तरघात भयो भने अमरगढीमा रहेको उसको बर्चश्व तोडिन सक्छ ।
एमालेभित्र पनि चरम बिवाद छ तर त्यो बिवाद सडकमा नआएको मात्र हो । टिकट वितरणमा एमाले संस्थापन पक्षले जबरजस्ती गरेको आरोप कार्यकर्ताको छ ।
अमरगढी नगरपालिकामा कांग्रेसको तुलनामा निकै कमजोर रहेको एमाले कांग्रेसभित्रको विवादलाई आधार वनाएर निर्वाचन जित्ने दाउमा छ । विद्यार्थी राजनीति गर्दै आएका विश्वेसर ओझालाई एमालेले मेयरको उम्मेदवार बनाएको छ । उनी यसअघि डडेलधुरा क्याम्पसका स्ववियु सभापति हुन् । विद्यार्थी राजनीतिबाट आएका ओझा युवा हुन् ।
कांग्रेसले ०३७ सालदेखि राजनीति गर्दै आएका वन संरक्षणमा चर्चा पाएका नेता डिल्ली जोशीलाई मेयरको उम्मेदवार बनाएको छ । उनी कुनै समय डडेलधुराको वन संरक्षण पर्यावरण वचाउ अभियानमा राष्ट्रियस्तरमा राजा वीरेन्द्रबाट पुरस्कृत भएका नेता हुन् । उनले पहिलो पटक सुदूरका पहाडी जिल्लामा पाइने लाली गुराँसको फूलबाट सर्वत बनाउने नयाँ प्रविधि भित्र्याएका थिए । समाजिक रुपमा स्वच्छ छवि भएका जोशी कांग्रेसभित्र इमान्दार नेताका रुपमा परिचित छन् । नेपाली कांग्रेसमा निरन्तर जिल्ला कमिटी सदस्य हुँदै जोशी यस अघि डडेलधुरा कांग्रेसका सचिव समेत हुन् ।
अमरगढी नगरपालिकामा माओवादी केन्द्रको भने खासै प्रभाव देखिदैन् । माओवादी केन्द्रबाट शोभा भट्ट मेयर पदमा उम्मेदवार भएकी छिन् । राजनैतिक रुपमा खासै चर्चामा नआएकी भट्ट महिला भएकै कारण प्रतिस्पर्धामा आउने सम्भावना निकै कम छ ।
अमरगढी नगरपालिका : डडेलधुरा
जनसंख्या | २२ हजार २ सय ४१ |
क्षेत्रफल | १ सय ३८.९५ बर्ग किमि |
मतदाता | ११ हजार ७ सय ८१ |
वडा | ११ |
जनप्रतिनिधी | ५७ |
मतदान स्थल | ११ |
मतदान केन्द्र | १८ |