दाङ, लमहीका २४ वर्षीय शंकर सुवेदी वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) केन्द्रीय क्याम्पसका डिप्लोमा इन हाइड्रोपावर इन्जिनियरिङका विद्यार्थी हुन् । बुटवलबाट सिभिल सब–इन्जिनियर अध्ययन गरेका शंकरसँग विभिन्न हाइड्रोप्रोजेक्टमा काम गरेको अनुभव छ ।
सिराहाका ब्रमेशकुमार चन्द्रवंशी हाइड्रो इन्जिनियरिङ पढ्न सुर्खेत आइपुगेका छन् । प्लस टुमा साइन्स पढेका चन्द्रवंशीले जलविद्युत्को क्षेत्रमा दक्ष जनशक्तिको कमी देखेर आफूलाई यो विषयमा होमेको बताए ।
दाङका शंकर र सिराहाका ब्रमेशकुमारजस्तै ४८ जना विद्यार्थी एमयूको केन्द्रीय क्याम्पसबाट डिप्लोमा इन हाइड्रोपावर गर्दैछन् । एमयूले नेपालमै पहिलो पटक हाइड्रोपावर इन्जिनियरिङ कोर्स सुरु गर्यो । त्यसले गर्दा सुर्खेत मेची–महाकालीकै विद्यार्थीहरूका लागि आकर्षणको थलो बन्यो । रोजगारीको ग्यारेन्टी भएकाले न्यून कोटा हुँदा पनि विद्यार्थीहरूको चाप थियो, क्याम्पस प्रमुख विजय पण्डित भन्छन्– नेपालमै यो विषयमा पढाइ हुने एमयू पहिलो विश्वविद्यालय भएकाले यहाँ आकर्षण बढ्नु स्वभाविक हो ।
०६७ असारमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) स्थापना भयो । त्यसपछि मध्यपश्चिमको प्रशासनिक केन्द्र वीरेन्द्रनगर विश्वविद्यालय स्थापनाले शैक्षिक हब बन्न थाल्यो ।
कुनै बेला मध्य/सुदुरपश्चिम क्षेत्रकै प्रख्यात क्याम्पस थियो सुर्खेत क्याम्पस (शिक्षा) । शान्ति स्थापनायता गाउँ–गाउँमा क्याम्पस खोल्ने लहर चलेपछि यो क्याम्पसमा विद्यार्थीको चाप कम हुन पुग्यो । एमयूको स्थापनाले एकाएक यहाँको शैक्षिक विकासले गति लियो । विश्वविद्यालयले मानविकी तथा समाजशास्त्रअन्तर्गत पत्रकारिता, द्वन्द्व र शान्ति अध्ययन, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिजस्ता नयाँ विषय पढाइ भैरहेका छन् ।
वीरेन्द्रनगरमै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त व्यवस्थापन संकायकै चार निजी कलेज छन् । सुर्खेत मोडल, सिद्धपाइला, ज्ञानसिन्धु र सहारा कलेजले व्यवस्थापन विषय अध्यापन गराइरहेका छन् । सुर्खेत क्याम्पस शिक्षा, अमरदीप क्याम्पस नेवारे, सहारे क्याम्पस, सिम्ता बहुमुखी क्याम्पस, भेरी शिक्षा क्याम्पस गुमी, जनता क्याम्पस विद्यापुर जस्ता कलेजका कारण सुर्खेत उच्च शिक्षा अध्ययनको शैक्षिक हब बन्न पुगेको छ । पश्चिम सुर्खेतमा अवस्थित जनज्योति उच्च माविले १८ महिने एवं तीनवर्षे कृषि तथा पशु प्राविधिक कोर्स सञ्चालन गरिरहेको छ । विद्यालयका प्राचार्य नारायण सिग्देलले २६ जिल्लाका ३ सय १ जना विद्यार्थीले कृषि तथा पशु प्राविधिक अध्ययन गरिरहेको बताए ।
स्कुलदेखि उच्च शिक्षासम्म वीरेन्द्रनगरमै पढाइ हुन थालेपछि विद्यार्थी एवं अभिभावकको पहिलो रोजाई सुर्खेत बन्ने गरेको छ । यहाँ एचए, स्टाफ नर्स, अनमी, जेटिए, सब ओभरसियर आदि प्राविधिक विषय पढाइ हुने निजी इन्स्टिच्युटहरू पनि उत्तिकै छन् ।
प्राविधिक विषय पढ्न अब काठमाडौंलगायतका ठूला सहर धाउनु पर्दैन, शिक्षाका लागि राष्ट्रिय सञ्जालका जिल्ला संयोजक टीकाराम आचार्य भन्छन्– सुर्खेतमा शिक्षाका सबै खालका पूर्वाधार तयार हुँदैछन् । यद्यपि तिनको गुणस्तर वृद्धि आवश्यक छ ।