मुगुको छायाँनाथ रारा नगरपालिकाले पहिलो मेयरका रूपमा हरिजंग शाहीलाई पाएको छ । स्वास्थ्यकर्मीको स्थायी जागिर छोडेर शाही नगरको मेयरमा निर्वाचिन भएका हुन् । ४२ वर्षीय शाहीले स्वास्थ्य शिक्षा र ग्रामीण विकासजस्ता दुई विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका छन् ।
तपार्इंको प्राथमिकता के हो ?
मेरो प्राथमिकता छायाँनाथ रारा नगरपालिकाको १४ वटै वडामा विद्युत् सेवा पुर्याउने हो । गमगढी बजारलाई सुन्दर सफा बनाउने, एक घर एक धारा र प्रत्येक घरमा चर्पीको अनिवार्य व्यवस्थामा लाग्नेछु ।
नगरलाई कस्तो बनाउने परिकल्पना गर्नुभएको छ ?
मैले छायाँनाथ रारा नगरपालिकालाई पाँच वर्षभित्र समृद्ध नगर बनाउने परिकल्पना गरेको छु । नगरको गुरुयोजना तयार गरेर विकासलाई तीव्रता दिनेछु ।
स्रोत कसरी जुटाउनुहुन्छ ?
नगरको आन्तरिक स्रोत भनेकै पर्यटकीय स्थल रारा हो । यसलाई व्यवस्थापन गर्न सके सरकारी बजेटको मुख ताक्नुपर्ने अवस्था आउँदैन । एक महिनाभित्रै झयारी र माथितुममा प्रवेशद्वार स्थापना गरी आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्क उठाउने निर्णय भैसकेको छ ।
आम्दानी बढाउन के गर्नुहुन्छ ?
नगरको स्रोत वृद्धि गर्न चुनौती पनि छ भने त्यो सहज पनि छ । ढुंगा, गिट्टी, बालुवामा कर लगाइनेछ । नक्सा पासमा कर लगाइनेछ । पर्यटकीय स्थलहरू ऋणीमोक्ष, तातोपानी चैन छायाँनाथ मन्दिर कालिका मालिका मन्दिर मुगु कर्णाली नदी घुम्न जाने पर्यटकबाट प्रवेश शुल्क उठाउनेछांै । जडीबुटी उत्पादनमा वृद्धि गरी स्रोत बढाउने र एक घर एक स्याउ बगैंचाको अवधारण ल्याएर उत्पादनमा जोड दिने योजना पनि छ ।