अभिनेत्री नीता ढुंगाना करिब दुई साता अस्ट्रेलियाको सिड्नीमा घुमघाम गरेर स्वदेश फर्किएकी छिन् । झापाली समाजले आयोजना गरेको कुमार बस्नेतको सांगीतिक साँझमा कम्मर मर्काएकी नीता त्यसपछि भेटघाट तथा घुमघाममा व्यस्त भइन् ।
त्यसो त उनी त्यहाँ एउटा छोटो चलचित्रमा अभिनय गर्न गएकी थिइन् तर त्यसको छायांकन तत्काल प्रारम्भ नहुने भएपछि उनी पुन: अस्ट्रेलिया जानुपर्ने भएको छ । ‘म आफ्नै केही विशेष कामले नै यहाँ आएकी हुँ, नीताले सिड्नीस्थित साप्ताहिक प्रतिनिधिसँगको भेटमा भनिन् । अभिनेता अमेश भण्डारीसँगको रिलेसनसिप करिब एक वर्षअघि टुङ्गिएपछि उनी अहिले सिंगल छिन् ।
त्यसैले पनि उनले अस्ट्रेलियाले दिएको लामो भिसाको सदुपयोग गरेको अनुमान गरिन्छ । ‘एउटा सम्बन्ध राम्रो भएन भन्दैमा त्यसैमा दु:ख मानेर बस्नु हुँदैन,’ नीताले भनेकी छिन्– ‘त्यसैले पनि म अहिले आफ्नै व्यवसायिक काममा समय दिइरहेको छु ।’ नीताले अस्ट्रेलियामा पाएको माया र इज्जतका लागि आफू ऋणी भएको बताइन् । अस्ट्रेलिया बसाइको मूल्यांकन गर्दै नीताले भनिन्– ‘रोचक तथा रमाइलो मात्र भएन, धेरै नयाँ साथी बनाउने अवसर पनि प्राप्त गरेँ ।’