सृष्टिको शुरुवात देखि नै योग विद्या रहेको पाइन्छ । सुर्यलाई आफ्नो गतिमा घुम्नु, प्रकाश फैलाउनु, प्रकृतिले समय अनुसार मौसम परिवर्तन गर्नु, वनस्पति र प्राणी जगतलाई पोषण गर्नु दिनरातमा परिवर्तन हुनु यी सबै कार्य श्रीमद् भागवत गीतामा भनिए जस्तै ‘योग: कर्मशु कौशलम्’–२/५० अर्थात् कर्ममा कुशलता नै योग हो । यो सम्पुर्ण प्रकृति निरन्तर निश्वार्थ भावनाले कर्म गरि रहेका छन् जुन योग हो ।
भगवान शिव र सृष्टिकर्ता हिरण्य गर्भलाई योगको मूख्य प्रेरणादायी मानिन्छ । संसारकै उच्च हिमाली क्षेत्र नेपाल भएको र यो क्षेत्रमा बढी उर्जा उत्सर्जन हुने हुदाँ भगवान शिव ऋषिमुनिहरुले यस क्षेत्रबाट तप द्वारा प्रशस्त उर्जा प्राप्त गरेको पाइन्छ । त्यसैले एउटा साधकको लागि नेपालको भूमि तप, ध्यान साधनाको लागि उत्तम मानिन्छ ।
प्राणी जगतमा सर्वश्रेष्ठ प्राणी मानव भएको हुदाँ मानव जन्मको चार उद्देश्य छ । जुन धर्म, अर्य, काम, मोक्ष मुख्य हो । यो चारवटा उद्देश्य प्राप्त गर्न सबभन्दा पहिला शरीर, मन र आत्मा शुद्ध हुनुपर्दछ । जुन योगको नियमित अभ्यासबाट मात्र प्राप्त गर्न सकिन्छ ।
विश्वमा बढ्दै गएको जनसंख्या वातावरण प्रदुषण, आर्थिक असन्तुलन सामाजिक असन्तुलन, रासायनयुक्त भोजन, विकृति मानसिकता रोगको प्रकोप, दैविक प्रकोप, प्राकृतिक विपत्ति, आदिलाई सन्तुलनमा राख्न सक्ने भनेको नै योग विद्याको अनुसारण गर्नु हो । योगको अभ्यास नियमित रुपमा बिहान गर्ने हो भने शरीर मन र आत्मा शुद्ध हुन जान्छ । नियमित योग अध्यास, सन्तुलित भोजन, दिनचर्या र रात्रीचार्यामा सन्तुलन गर्नाले व्यक्ति स्वस्थ निरोगी हुन सक्छ । शरीर र मनको स्वस्थ साथै डायविटिज, हाईपरटेन्सन, मेन्टल डिसअर्डर र क्यान्सर घुँडा कम्मर दुखाई, पेट सम्बन्धि सम्पुर्ण रोग, छाला सम्बन्धि रोग, नाक कान घाँटी सम्बन्धि रोग आदि रोगहरुलाई निदान गर्छ ।
नियमित योग अभ्यास गर्नाले हाम्रो शरीरमा हुने इण्डोक्राइन सिष्टमलाई क्रियाशिल बनाई शरीरमा आवश्यक पर्ने हार्मोनहरुको उत्पादन नियमित रुपमा गर्छ । आवश्यक हार्मोनहरुको उत्पादनले पाचन प्रणालीमा सुधार, मांशपेशीको विकास, रोग प्रतिरोधात्मक शक्तिमा वृद्धि, शरीरमा उत्पन्न हुने विजातिय पदार्थको निष्कासन नियमित, वात, पित्त, कफ सन्तुलित प्राण शक्तिमा वृद्धि हुन जान्छ । जसको कारण शरीर, इन्द्रिय र मन स्वस्थ हुन जान्छ ।
हाम्रो जस्तो अविकसित अशिक्षित आर्थिक असन्तुलन गरीवी भएको देशमा यहीबाट शुरुवात भएको योग विद्यालाई विश्वभरका मानिसलाई बुझाउन सके योग पर्यटनबाट थुप्रै आर्थिक लाभ लिन पनि सकिन्छ । हिमालको स्वच्छ वातावरण, बढी उर्जावान क्षेत्र, ऋषिमुनिहरुले ध्यान गरेको क्षेत्रको बारेमा प्रचार प्रसार गरी थुप्रै पर्यटक भित्रयाउन सकिन्छ ।
योग शिक्षालाई विद्यालय स्तरमा लागु गरि देश भित्रै योग्य योग प्रशिक्षकको उत्पादन गरी वैदेशिक रोजगारमा पाठाउन पनि सकिन्छ । योग प्रशिक्षकको रुपमा यो पेशालाई अपनाउदाँ सम्मान र आर्थिक उन्नति पनि गर्न सकिन्छ ।
शिक्षा क्षेत्रमा योग शिक्षा लागू गरिदाँ आउने भाविपिढी स्वस्थ नैतिकवान, चरित्रवान र इमान्दार हुने छन् । विद्यार्थीहरुको मानसिक तनाव कम हुनुको साथै स्मरण शक्तिमा वृद्धि हुन जाने छ ।
आर्थिक रुपमा कमजोर व्यक्तिहरुले पनि नियमित योग अभ्यास गरेमा भविष्यमा हुन सक्ने रोगबाट छुटकारा पाउन सकिन्छ । असाध्य रोगहरुमा एलोपेथी उपचारको साथ साथै योग चिकित्सा विधि पनि अपनाउदा रोग चाँडो निको हुन्छ । आयुर्वेद औषधी र योगको अभ्यास गर्नाले देशबाट बाहिर जाने रकमलाई घटाई आर्थिक रुपमा देशलाई बलियो बनाउन सकिन्छ ।
पतंजलि योग समिति नेपालले श्रद्धेय स्वामी रामदेव जी महाराज र आचार्य बालकृष्ण जी महाराज को निर्देशनमा नेपाल अधिराज्यभरी ७५ वटा जिल्लामा नियमित रुपमा १ हजार ९ सय ३५ स्थानमा योग प्रशिक्षण तालिम दिदै आइरहेको छ । काठमाण्डौ उपत्यका भित्र मात्र ७ सय स्थानमा योग कक्षा संचालन भइरहेको छ । यो सतकर्मले समाजको हरेक व्यक्तिलाई योग सम्बन्धि जानकारी र स्वस्थ्य लाभ प्राप्त आएको छ ।
योगलाई २१ जुनमा मात्र योग दिवसको रुपमा नमनाई प्रत्येक दिन निरन्तर गरे मात्र लाभ प्राप्त गर्न सकिन्छ । नेपाल सरकारले प्रत्येक कार्यालयमा, विद्यालयमा, अस्पतालमा सार्वजनिक स्थानमा योग सम्बन्धि जानकारी र अनिवार्य १० मिनेटको ध्यानको कार्यक्रम राख्न जरुरी छ । जसले गर्दा व्यक्तिमा योग सम्बन्धि जनचेतना, स्वास्थ्यमा सुधार, मानसिक उन्नति, कार्य क्षमतामा वृद्धि, नैतिकवान, चरित्रवान, देशप्रति माया भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव, आर्थिक उन्नति आदिमा वृद्धि गर्छ । फलस्वरुप व्यक्ति, समाज र देशकै स्वस्थमा सुधार आई हरेक कार्यमा सफलता प्राप्त गर्न सकिन्छ ।
‘योगात्परतंपुण्यं यागात्परतरं शित्तम ।
योगात्परपरंशक्ति योगत्परतरं न हि ।।’
अर्थात योगको समान न त कोही पुर्ण कर्म छ न त कोही कल्याणकारी कार्य छ, न त कोही ठुलो छ । योग नै जीवनको सबैभन्दा ठुलो आश्रम हो ।
आले पतञ्जलि विश्वविद्यालय हरिद्धारमा अध्ययनरत हुनुहुन्छ ।