साप्ताहिक संवाददाता
पूजा शर्मालाई प्रदीप खड्काको अझै पनि माया लाग्छ, उनी प्रदीपलाई मिस गरिरहन्छिन् । यो कुरा उनले हालै एक अनलाइन टेलिभिजनलाई भनेकी हुन् ।
चलचित्र प्रेमगीतबाट असाध्यै रुचाइएको जोडी प्रदीप र पूजाबीच उक्त चलचित्र प्रदर्शनमा आएको दुई दिनपछि नै निर्माता र निर्देशकको मनमुटावका कारण बोलिचाली बन्द भयो । प्रदीपले निर्माता सन्तोष सेनको पक्ष लिए र उनैसँग लागे । सन्तोषले प्रेमगीत टु बनाए जसमा प्रदीपको जोडीमा अश्लेषा ठकुरीलाई लिइयो ।
यता निर्देशक सुदर्शन थापाले चलचित्र प्रेमगीतको शिर्षगीत म यस्तो गीत गाउँछु लाई शीर्षक बनाएर चलचित्र बनाए र पूजाको अपोजिटमा पल शाहलाई लिए । अझै पनि यी दुई टिमबीच शीतयुद्ध चलिरहेको छ । म यस्तो गीत गाउँछु असार ३० गते प्रदर्शनमा आउँदैछ भने प्रेमगीत टु साउन १३ गते प्रदर्शनमा आउनेछ ।
यसबीच प्रेमगीतकी गीत अर्थात अभिनेत्री पूजा शर्माले आफ्नो जोडी प्रदीपलाई अझै मिस गरिरहेको बताउनु उनीहरूबीच फेरि सम्बन्ध राम्रो हुन सक्ने संकेत मान्न सकिन्छ । पुजाले भनेकी छिन्– म प्रदीपलाई माया गर्छु, लाग्छ उसको मनमा पनि पक्कै माया नै होला । अब प्रदीपको जवाफ आउन बाँकी छ ।