साप्ताहिक संवाददाता
च्याम्पियन्स ट्रफी सुरु हुनुअघि दुई खालका तथ्य स्थापित गर्न खोजिएको थियो । पहिलो, डिफेन्डिङ च्याम्पियन भारत निकै बलियो छ र उसलाई हराउन विपक्षी टिमलाई गाह्रो होइन, असम्भव जस्तै छ । दोस्रो, पाकिस्तान कमजोर टिम हो र यसले प्रस्तुत गर्ने चुनौती पनि बलियो हुने छैन । प्रतियोगितामा भारत र पाकिस्तान एउटै समूहमा थिए र लिग चरणको पहिलो खेलमा यिनै दुई टिम भिडेका थिए । वर्षाद्वारा बाधित उक्त खेलको नतिजा ठूलो अन्तरको जितसँगै भारतको पक्षमा रह्यो ।
त्यसपछि सबैले भन्न थाले– पाकिस्तानी क्रिकेट अब भारतको तुलनामा निकै पछाडि पर्यो । अब पाकिस्तानी क्रिकेटलाई अघि बढ्न सजिलो छ्रैन । अहिले प्रतियोगिता पनि टुंगिसकेको छ र नतिजा सबैका सामु छ । फाइनलमा यिनै दुई चिरपरिचित प्रतिद्वन्द्वी पुगे । फाइनलमा भने जित पाकिस्तानको नाममा रह्यो, त्यो पनि धेरै फराकिलो अन्तरको । पाकिस्तानले भारतलाई १ सय ८० रनले हराउँदै उपाधि आफ्नो नाममा लेखायो ।
के यो स्तब्धपूर्ण नतिजा थियो अथवा अप्रत्यासित । होइन, धेरैले यसलाई स्वभाविक मानेका छन् । पक्कै पनि पाकिस्तानले भारतविरुद्ध आफ्नो पहिलो खेल गुमायो तर त्यसयता टिमले सम्हालिएर खेल्न थाल्यो र फाइनल अघि लय समात्यो । धेरै देश सम्मिलित ठूलो क्रिकेट प्रतियोगितामध्ये पाकिस्तानको अहिलेको जित सबैभन्दा ठूलो हो, यसले पनि प्रस्ट पार्छ, पाकिस्तानको यो सफलता कति महत्त्वपूर्ण र विशेष छ ।
भारतविरुद्धको खेलयता पाकिस्तानले लिग चरणमा दक्षिण अफ्रिका र श्रीलंकाविरुद्ध शानदार जित निकालेको थियो । सेमिफाइनलमा आयोजक इंग्ल्यान्डमाथि पाकिस्तानको जितलाई अद्वितीय नै मानियो । एक दिवसीय क्रिकेटमा अहिले सबैभन्दा लयमा रहेको अर्को टिम इंग्ल्यान्ड नै हो । यही टिममाथि अन्तिम चारमा पाकिस्तानको खेल निकै माथिल्लो दर्जाको रह्यो । यस्तोमा धेरैले यो पनि भन्न थालेका छन्, पाकिस्तान उपाधिको हकदार थियो र त्यसको पूरा श्रेय टिमलाई दिनै पर्छ ।
विश्व क्रिकेटमा पाकिस्तानी टिमलाई सबैभन्दा विश्वास गर्न नसकिने टिम मानिन्छ । यसका पछाडिको कारण हो, टिमको उतारचढावपूर्ण खेल । पाकिस्तानले कहिले निकै उत्कृष्ट प्रदर्शन गर्छ भने त्यसको भोलिपल्टै उसको खेल सबैभन्दा खस्किएको हुनसक्छ । यस अर्थमा प्रतियोगिता अघि पाकिस्तानलाई लिएर विश्वस्त हुन नसकिने ठाउँ पनि उत्तिकै थिए । यद्यपि अहिलेको जितले सन्देश दिएको छ, पाकिस्तानी क्रिकेट त्यति कमजोर पनि भएको छैन, जति यसअघि अनुमान गरिन्थ्यो ।
विश्वकप सफलताको सम्झना
सन् १९९२ मा पाकिस्तानले इमरान खानको नेतृत्वमा एक दिवसीय विश्वकप जितेको थियो र अहिले पाकिस्तानले च्याम्पियन्स ट्रफी जित्दा धेरैले तिनै पुराना दिन सम्झिए । कारण दुवै अवसरमा टिमले कमजोर सुरुआत लियो तर एकपल्ट टिमले के जित्न थाल्यो, उसलाई रोक्न प्रतिद्वन्द्वीहरू असफल भए । पाकिस्तानले जितेको एक मात्र विश्वकपका क्रममा पनि उ एक समय प्रतियोगिताबाट बाहिरिने स्थितिमा थियो ।
त्यही स्थितिपछि लगातार जित निकालेर पाकिस्तानले विश्वकप हात पार्यो । च्याम्पियन ट्रफीमा पनि पहिलो खेलमा भारतसँग हारेपछि त्यस्तै स्थिति तयार भएको थियो, पाकिस्तानी टिमका लागि, तर पाकिस्तानले यसपटक पनि हार मानेन । फाइनल अघि आईसीसीले आयोजना गर्ने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराउनै नसक्ने तथ्य पनि स्थापित थियो, तर यसपटक धेरै लामो समयपछि पाकिस्तानले भारतविरुद्ध जित निकाल्न नसक्ने भ्रम तोडेको छ र यो पाकिस्तानी क्रिकेटका लागि सुखद तथ्य हो ।
पाकिस्तानमा क्रिकेट फर्कने आशा
सुरक्षा व्यवस्थालाई लिएर पश्चिमेली नजर कस्तो हुन्छ, त्यो च्याम्पियन्स ट्रफीकै बेला पनि देखियो । च्याम्पियन्स ट्रफी सुरु हुनुअघि इंग्ल्यान्डमा आतंककारी आक्रमण भयो, तर सुरक्षाको कारण देखाएर कसैले पनि प्रतियोगितामा सहभागी नहुने बताएनन् । न त सुरक्षालाई लिएर चिन्ता नै व्यक्त गरियो । बरु प्रतियोगितामा सहभागी भएर आतंककारीविरुद्ध एकबद्धता जनाउने कुरा अगाडि आयो । यस्तो दृष्टिकोणलाई लिएर कोही दुर्भाग्यशाली छ भने त्यो पाकिस्तान नै हो ।
सन् २००९ यता पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट हुन सकेको छैन । साना र कमजोर टिम त पाकिस्तान पुगे, तर ठूला टिमले सुरक्षाकै कारण देखाएर पाकिस्तान जान अस्वीकार गर्दै आएका छन् । सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टिममाथि आतंककारी आक्रमण भएको थियो । त्यस क्रममा सात जना खेलाडी घाइते भए भने छ जना सुरक्षाकर्मीको निधन समेत भयो । त्यसयता पाकिस्तानी टिम आफ्नो घरको खेल यूएईमा खेल्न बाध्य छ ।
च्याम्पियन्स ट्रफी जितेपछि विदेशी टिम पाकिस्तान जान र त्यहाँ क्रिकेट खेल्न तयार हुने हुन कि ? पाकिस्तानी कप्तान सरफराज अहमदलाई विश्वास छ, सम्भवत: अब यस्तै हुनेछ । हामीलाई विश्वास छ, विदेशी टिम अब पाकिस्तानमा खेल्न तयार हुनेछन् । यस्तै अनुरोध पाकिस्तानका दक्षिण अफ्रिकी प्रशिक्षक माइकल आर्थरको मुखबाट पनि निस्किएको छ । उनको भनाइ छ– च्याम्पियन्स ट्रफीले सम्भवत: पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटका लागि अवसरको ढोका खोल्नेछ ।
सफल स्टार
फखर जमान, पाकिस्तान
च्याम्पियन्स ट्रफी सुरु हुनु अघिसम्म धेरैले यही प्रश्न गरेका थिए । इंग्ल्यान्ड पुग्न अघिसम्म उनले खासै अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् । यस अर्थमा उनी निकै कम अनुभवी खेलाडी थिए । च्याम्पियन्स ट्रफीकै क्रममा उनले डेब्यु पनि गरे, तर यिनै खेलाडीले फाइनलमा भारतविरुद्ध शानदार १ सय १४ रनको शतकीय इनिङ्स खेले । उनले पहिलो विकेटका लागि अजहर अलिसँग १ सय २८ रनको साझेदारी पनि गरे । त्यही साझेदारीले नै पाकिस्तानको ठूलो स्कोर र जितको आधार तयार गरेको थियो । जमानले प्रतियोगिताभर २ सय ५२ रन बनाएर आफ्नो उपयोगिता समेत सिद्ध गरे ।
हसन अलि, पाकिस्तान
मध्यम तीव्र गतिका बलर हसन अलि पाकिस्तानका लागि च्याम्पियन्स ट्रफीको नायक रहे । पाकिस्तानले उपाधि जित्नुका पछाडि सबैभन्दा ठूलो कारण अलिकै सटिक बलिङलाई मानिएको छ । अलि प्रतियोगितामा सबैभन्दा बढी १३ विकेट लिने बलर पनि हुन् । पाकिस्तानले खेलेका सबै चार खेलमा उनले लगातार घातक बलिङ गरे र विकेट लिए । उनको यसपटकको बलिङको सबैभन्दा ठूलो विशेषता रह्यो, कन्ज्युसाइपूर्ण बलिङ । विपक्षी ब्याट्सम्यानले उनका सामु खुलेर ब्याटिङ गर्न सकेनन्, त्यसैले उनीहरू दबाबमा आए र अलिलाई विकेट दिन बाध्य भए ।
असफल खेलाडी
एबी डे’भिल्लियर्स, दक्षिण अफ्रिका
ठूला प्रतियोगितामा लगातार चुक्ने एउटै टिम हो– दक्षिण अफ्रिका । यसपल्ट च्याम्पियन्स ट्रफीमा पनि दक्षिण अफ्रिका असफल भयो र सेमिफाइनलसम्म पनि पुग्न सकेन् । यसका पछाडिको एउटा ठूलो कारण रह्यो, कप्तान एबी डे’भिल्लियर्सको खराब प्रदर्शन । उनले तीन खेलमा २० रन मात्र बनाउन सके । पाकिस्तानविरुद्धको खेलमा उनी पहिलो बलमै आउट भए । आफ्नो खेल जीवनमा उनी यसरी गोल्डेनडकको शिकार भएको यो पहिलो अवसर हो । पछिल्लो समय चोटविरुद्ध लगातार संघर्ष गरिरहेका डे’भिल्लियर्सको खेल निकै खस्कन थालेको बताइन्छ ।
महेन्द्रसिंह धोनी, भारत
भारतका पूर्वकप्तान हुन्, महेन्द्रसिंह धोनी । भारतीय टिमका लागि विकेटकिपरका रूपमा उनको जति आवश्यकता छ, उत्तिकै आवश्यकता ब्याट्सम्यानका रूपमा पनि छ । यद्यपि धोनी च्याम्पियन्स ट्रफीमा नराम्रोसँग चुके । फाइनलमा पाकिस्तानविरुद्ध दबाबमा रहँदा उनीबाट ठूलो आशा गरिएको थियो, तर उनी खराब सट खेल्दै आउट भए । धोनीले उक्त खेलमा चार रन मात्र बनाए । पूरा प्रतियोगितामा उनले पाँच खेलबाट ६३ रन मात्र बनाउन सके । टेस्ट क्रिकेटबाट सन्यास लिइसकेका धोनीलाई अब एक दिवसीय टिममा पनि स्थान सुरक्षित गर्न गारो छ ।