असार १४, २०७४
ओलम्पिक प्रतियोगितामा अमेरिकाका तर्फबाट स्वर्ण पदक जितेकी धाविका सान्या रिचर्ड्स रोसले धेरै महिला खेलाडीले गर्भपतन गर्ने रहस्य खुलासा गरेकी छिन् । स्पोर्ट्स इलुस्ट्रेटेड म्यागेजिनलाई अन्तर्वार्ता दिँदै सान्याले भनिन्– सन् २००८ को बेइजिङ ओलम्पिक प्रारम्भ हुनुभन्दा केही दिनअघि मैले पनि गर्भपतन गराएँ भने मैले चिनेका धेरै महिला खेलाडीले समेत गर्भपतन गराएका थिए ।
जमैकनबाट अमेरिकी धाविका बनेकी सान्याले बेइजिङ ओलम्पिकमा २ वटा स्वर्ण पदक जितेकी थिइन् । २३ वर्षको उमेरमा बेइजिङ ओलम्पिकमा ४ सय मिटर तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण पदक जितेकी सान्याले आफ्नो उक्त अन्तर्वार्तामा भनेकी छिन्— यो विषयमा छलफल चल्नुपर्छ, किनभने त्यतिबेला बेला मैले भोगेजस्तो समस्या एवं मानसिक तनाव अरू महिला खेलाडीले भोग्नु नपरोस् ।