‘...लास्टमा ब्रेकअप भैसकेपछि प्रिभियस म्यासेजहरू पढ्नु, उसको खुसीको कामना गर्नु, स्माइलसँगसँगै आँखामा आँसु आउनु, हरेक स्याड सङ आफ्नै लागि बनेका हुन भन्ने मान्नु, केही कुरा पनि राम्रो नलाग्नु तर पनि मनमा एउटा झिनो आशा जाग्नु ‘सबै ठीक हुन्छ’ र, अन्तिममा अब कहिल्लै पनि ट्रु लभ गर्दिनँ भन्दै रुने साँच्चै कति अनौठो यो माया भन्ने चिज ?’
सन् २०१६ को सेप्टेम्बरको एक दिन नायिका नीता ढुंगानाले फेसबुकमा लेखेको लामो स्टाटसको एउटा अंश हो यो । मार्मिक लाग्ने उक्त स्टाटसमा उनले प्रेमीसँग रहँदाका मधुर पलहरूको समेत स्मरण गरेकी थिइन्, जसको अन्तमा नीताले ब्रेकअपपछिको स्थिति र पीडालाई पनि खुलस्त व्यक्त गरेकी थिइन् । नीताले उक्त स्टाटस त्यतिबेला फेसबुकमा पोस्ट गरेकी थिइन्, जतिबेला उनी प्रेमी आमेश भण्डारीसँगको तीन वर्ष लामो प्रेमसम्बन्धमा आएको ब्रेकअपको पीडासँग लडिरहेकी थिइन् । नीताले आमेशसँग विवाह नै गर्ने घोषणा गरेकी थिइन् । यद्यपि आमेश र नीता वैवाहिक जीवनसम्म पुग्न सकेनन्, बीचमै उनीहरूको बाटो बदलियो । आपसी विवाद, आशंका र एक–अर्कामाथिको हस्तक्षेप नै उनीहरूको ब्रेकअपको मुख्य कारण रहेको बताइन्छ ।
त्यसो त आमेशसँग नीताको त्यो पहिलो अफेयर्स थिएन । त्यसअघि उनको नाम गायक चेतन सापकोटासँग जोडिएको थियो । नीता–चेतन रिलेसन आमेश–नीताको जति हाइलाइट भने भएन । नीताले आमेशसँगको ब्रेकअपको पीडालाई सोसल मिडियामै व्यक्त गरे पनि अधिकांश नायिकाहरूको पीडा बाहिर आउँदैन ।
नीता रजतपटमा ब्रेकअप झेल्ने र पीडामा पर्ने एक्ली नायिका होइनन् । नायिका नम्रता श्रेष्ठका ब्वाइफ्रेन्डसँगका अनेकन किस्सा मिडियामा खुबै छाउँछन् । सालिन र इन्टलेक्चुअल छविकी नम्रताको पहिलो प्रेमीका रूपमा चर्चामा आएका थिए— रेमनदास श्रेष्ठ । यद्यपि उनले रेमन आफ्नो बेस्टफ्रेन्डमात्र भएको स्पष्टीकरण दिने गरेकी छिन् । त्यसपछि उनको अफेयर्स डिजे तान्त्रिक हुँदै धनाढ्य म्यानपावर व्यवसायी प्रेम घलेसम्म पुग्यो । घले कुनै समय पूर्व मिस नेपाल जेनिशा मोक्तानसँगको अफेयर्सका कारण पनि चर्चामा थिए । अहिले भने नम्रता धनाढ्य प्रेमी स्टिफन दावा शेर्पासँगको रोमान्समा रमाइरहेकी छिन् । दावा तिनै युवक हुन्, जसको अफेयर्स कुनै समय सुन्दरी मोडल तथा भिजे सहना ब्रजाचार्यसँग थियो । गत साउनमा होलिडे मनाउन न्युजिल्यान्डको गोप्य सयरमा निस्किएको नम्रता–दावाको जोडी बेला–बेलामा चलचित्र हल तथा सार्वजनिक कार्यक्रममा पनि सँगै देखिन्छ ।
अहिलेकी हटकेक नायिका प्रियंका कार्कीको अफेयर्सको लहरो पनि लामै छ । कुनै समय एक फोटोग्राफरसँग अफेयर्समा रहेकी प्रियंका पछि टेलिभिजन प्रस्तोता हुँदा आफ्नै सहकर्मीसँगको प्रेममा थिइन् । अमेरिका पुगेपछि प्रियंकाको प्रेम रोचक मैनालीसँग बस्यो जसलाई उनीहरूले विवाहमा परिणत गरे । आपसमा किचलो सुरु भएपछि यो जोडीले डिभोर्सको बाटो रोज्यो । डिभोर्सपछि नेपाल फर्किएर चलचित्र नगरीमा स्थापित भएपश्चात् प्रियंका अहिले आफूभन्दा पाँच वर्ष कान्छा नायक आयुष्मान देशराजसँग रोमान्स गरिरहेकी छिन् । उनी अहिले विभिन्न पार्टीमा पनि आयुष्मानसँगै देखिन्छिन् । त्यसो त प्रियंका आयुष्मानको पनि पहिलो प्रेमिका होइनन्, उनी यसअघि परमिता राणासँगको प्रेममा थिए । उनीहरूको रिलेसन टुंगिएपछि प्रियंका र आयुष्मानको रिलेसन अघि बढेको बताइन्छ ।
कुनै समय बढी प्रेमी फेर्ने नायिकामा पर्थिन्— नायिका हर्षिका श्रेष्ठ । आकर्षक जीउडालकी धनी यी नायिकाको एक समय चलचित्र सम्पादक विपिन मल्लसँग प्रेम थियो । विपिनसँग ब्रेकअप भएपछि उनी बादल प्रसाईं हुँदै अमेरिकी ग्रिनकार्ड होल्डर आशिषकुमार शाक्यसम्मको प्रेममा परिन् । उनले आफूले तीनवटा ब्रेकअप भोग्नुपरेको कुरा मिडियालाई नै बताएकी छिन्, तर उनले आफ्नो प्रेमलाई विवाहसम्म डोर्याउन सकिनन् । आशिषसँगको एक वर्ष लामो प्रेम विवाहमा परिणत हुने अनुमानकै बीच हर्षिकाले भारतीय व्यवसायी प्रसुन झुनझुनवालसँग इन्गेजमेन्ट गर्ने निर्णय गरेपछि (दुई वर्षअघि) धेरै आश्चर्यमा परेका थिए । लगत्तै हर्षिकाले २०७२ सालको जेठमा झुनझुनवालसँगै लगठगाँठो कसिन् ।
नायिका निशा अधिकारी तथा क्रिकेटर शरद भेषवाकरको प्रेम जीवनका बारेमा पनि मिडियामा राम्रै चर्चा भयो । निशा र शरदको प्रेम त्यतिबेला सार्वजनिक भएको थियो जतिबेला नेपाल ट्वान्टी—२० विश्वकप खेल्ने तयारीमा थियो भने त्यसका खम्बा ब्याटसम्यान शरद चर्चाको शिखरमा थिए । क्रिकेटबाट चर्चा पाइरहेका बेला नाम चलेकी नायिकाले फेसबुकमा स्टाटस नै लेखेर प्रेम सम्बन्ध सार्वजनिक गरेपछि उनीहरूको चर्चा नहुने कुरै थिएन । त्यसपछि निशा र शरद काठमाडौंका क्याफे तथा चलचित्र हलहरूमा भेटिन थाले । उनीहरूको आगामी असार १८ गते लगन गाँठो जोडिने तयारीमा छ । यद्यपी सिने जगतसँगै जोडिएका एक व्यक्तिसँग निशाको नाम जोडिएको थियो ।
फरक भूमिकाका कारण चर्चामा आउने नायिका ऋचा शर्मा नायक विनय श्रेष्ठसँगको प्रेममा असफल भइन् । विनयसँग लामो अफेयर्सका क्रममा यो जोडी चलचित्र हलदेखि विभिन्न कार्यक्रममा सँगै मात्र देखिएन, चलचित्र निर्माणदेखि व्यवसायसम्म सँगै अघि बढेको थियो, तर उनीहरूको रिलेसन लङ लास्टिङ हुन सकेन । आपसमा विवाद देखिएपछि ऋचा र विनय सात वर्ष लामो रिलेसनलाई अन्त्य गर्दै २०६९ मा अलग्गिएका हुन् । अहिले विनयले अर्कै युवतीसँग घरजम बसाइसकेका छन् । त्यसपछि ऋचालाई विभिन्न व्यक्तिसँग जोडेर चर्चामा ल्याइए पनि शर्मा स्वयंले आफ्नो नयाँ रिलेसन सार्वजनिक
गरेकी छैनन् ।
सुष्मा कार्की र निर्देशक सुदर्शन थापाको अफेयर्सको निकै हल्लीखल्ली थियो एकताका । त्यसपछि उनको नाम जोडियो निरक शाहीसँग । निरकसँगको उनको प्रेम यति झांगियो कि सुष्माले आफ्नो शरीरमा निरकको नाममा ट्याटु नै खोपिन, तर निरकले सार्वजनिक ठाउँमा पिट्न र झगडा गर्न थालेपछि एक दिन दुई दिन हुँदै उनीहरूको सम्बन्ध बिग्रँदै गयो । तीन वर्ष प्रेमसम्बन्धमा रहेको यो जोडी आपसमा विवाद बढेपछि २०७१ असारमा एक–अर्काबाट अलगिएको हो । सुटिङ होस् वा रेस्टुराँ उनीहरूबीच कुटपिट भएका खबर खुबै आए । आफूलाई सार्वजनिक स्थानमै निरन्तर कुटपिट गर्न थालेपछि सुष्माले निरकबाट ब्रेकअप लिएको बताइन्छ ।
नम्रता सापकोटा पहिले गायक बादल प्रसाईं र त्यसपछि सागर श्रेष्ठसँगको अफेयर्सका कारण चर्चामा आइन् । कतिसम्म भने सागरको मायामा डुबेकी नम्रताले उनीसँगको तस्बिर अपलोड गर्दै आफू मायामा पग्लिएको टिप्पणी सामाजिक सञ्जालमै समेत गरेकी थिइन् । सागरसँग उनको दुई वर्ष लामो प्रेमसम्बन्ध २०७१ को भदौमा टुंगिएको बताइन्छ । नम्रता पनि बढी ब्रेकअप झेल्ने नायिकामा पर्छिन् ।
पछिल्लो समयमा चर्चामा रहन सफल नायिका वर्षा शिवाकोटीको अफेयर्स मोडल निराजन प्रधानसँग रहेको खबरले पनि चलचित्र वृत्तमा उतिकै चर्चा बटुल्यो । कतिसम्म भने वर्षाले आफ्नो अफेयर्सका विषयमा सार्वजनिक रूपमै खुलस्त कुराकानी गरेकी थिइन्, तर उनको यो रिलेसनसिप लामो समय टिक्न सकेन । कुनै समय रिमा विश्वकर्मा तथा व्यवसायी आरिफ शेखको लभ अफेयर्सको पनि उत्तिकै चर्चा हुने गरेको थियो, तर अन्तत: यो जोडीको पनि ब्रेकअप भयो । अहिले रिमाले लन्डन निवासी एक एनआरएनसँग लगनगाँठो कसिसकेकी छिन् ।
मोडल सहाना ब्रजाचार्यको प्रेम कुनै समय दावा स्टिफन शेर्पासँग थियो । यो जोडीलाई सार्वजनिक ठाउँमा डेट गरेको पनि धेरैले देखेका थिए, तर उनीहरूको प्रेम केही वर्षमै भाँडियो । अहिले सहाना सुरज गिरीसँगको डेटमा रमाइरहेकी छिन् । नायिका अशिष्मा नकर्मी अमेरिकामा रहँदा लिभ इन रिलेसनमा थिइन् । पार्टनरसँग विवाद भएपछि उनी त्यो सम्बन्धबाट अलग्गिइन् । त्यसपछि नेपाल फर्किएकी अशिष्मा चलचित्रमा सक्रिय भइन् र अहिले पनि अशिष्माको रिलेसन अर्का एक युवकसँग चलिरहेको बताइन्छ ।
नायिका जेनिशा केसी तथा नायक विराज भट्टको अफेयर्सका गसिप पनि एक समय खुबै चर्चामा थिए । उनीहरूको चर्चा किन पनि हुन्थ्यो भने विराजले आफूले अभिनय गर्ने चलचित्रका निर्माताहरूसँग जेनिशालाई काम गराउनुपर्ने सर्त राख्थे, तर उनीहरू दुवैले अफेयर्सको चर्चालाई भने निरन्तर खण्डन गरिरहे । विराज भोजपुरी चलचित्रतर्फ लागेपछि जेनिशाको हातमा पनि कम चलचित्र पर्न थाले, तर उनको अफेयर्सको चर्चा भने त्यसपछि पनि सेलाएन । सन् २०१४ मा एक निर्मातासँग नाम जोडिएपछि उनले त्यसको खण्डन गर्दै आफ्नो अफेयर्स रुसी युवकसँग रहेको दाबीसमेत गरेकी थिइन् । दुई वर्ष लामो उनको त्यो अफेयर्स पनि गत वर्ष टुंगिएको बताइन्छ ।
बिरालो आकारमा ‘एस’ खोपिएको हातको ट्याटुलाई पूजा शर्माको अफेयर्ससँग जोडियो । कतिपयले यही कारण उनको अफेयर्स निर्देशक सुदर्शन थापासँग रहेको अनुमान गरे । रमाइलो त के भने सुदर्शनले निर्देशक गरेको ‘प्रेमगीत’ हिट भएपछि नै पुजाको चर्चा चुलिएको हो । सुदर्शन र पूजा एक–अर्काको अफेयरमा रहेको कसैको नजरबाट लुकेको छैन, उता पल शाहको प्रेमको चर्चा भने आँचल शर्मासँग छ । पल र आँचलबीचको घनिष्ठता चलचित्र ‘जोनी जेन्टलम्यान’को सेटबाट सुरु भएको बताइन्छ ।
एकसँग जोडिने, तोडिने र फेरि अर्कोसँग जोडिने नेपाली नायिकाको नियतिजस्तै बनिसकेको छ । अधिकांश नेपाली नायिकाको पहिलो प्रेममा ब्रेक लागेको पाइन्छ । कतिपय नायिकाले दोस्रो हुँदै तेस्रो प्रेमीसम्म पुग्दा पनि आफ्नो प्रेमलाई सफल बनाउन सकेको देखिँदैन । केही नायिकाको ब्वाइफ्रेन्ड फेरिरहने ट्रेन्ड हेर्दा न दुई मन जोडिँदाको खुसी देखिन्छ र न टुट्दा हुने पीडा नै । आखिर नायिकाहरू किन ब्वाइफ्रेन्ड फेर्छन् ? आखिर किन हुन्छ यस्तो ? गीत, संगीत तथा चलचित्रका अनुसन्धानकर्ता प्रकाश सायमी यसलाई विश्वभरकै ट्रेन्डका रूपमा व्याख्या गर्छन् । ‘कलाकारले कसैलाई माया गर्नै सक्दैन, यो आफैंलाई पनि माया गर्न नसक्ने प्राणी हो,’ सायमी भन्छन्, ‘पपुलारिटीको चरम अवस्थामा भावनात्मक सम्बन्ध हुनै सक्दैन ।’ उनीहरूभित्र भयावह डर हुने र त्यसैले सम्बन्ध भत्किने दिशातर्फ लाने उनले बताए । ‘कलाकार/सेलिब्रेटीका तीन थरीका रिलेसन हुुन्छन् । प्रोफेसनल, पर्सनल र प्राइभेट,’ सायमी भन्छन्– उनीहरूको प्राइभेट लाइफ हुँदैन भनिन्छ तर धेरै प्राइभेट लाइफ उनीहरूकै हुन्छ । उनीहरूलाई असुरक्षाको भयावह डर हुन्छ । अरूले मेरो अफेयर्स भए नस्वीकार्लान कि आफ्ना चलचित्र हेर्न छोडी देलान कि भन्ने डर हुन्छ ।
स्वदेशी तथा विदेशी सेलिब्रेटीको सम्बन्ध र जीवनशैलीमा आउने उतारचढावलाई नजिकबाट हेरिरहेका रक गायक माइक खड्का एक–आपसमा हुने प्रतिस्पर्धा, इगो क्ल्यास, शंका, अविश्वास एवं नायिकाहरूले एकसँग रिलेसनमै रहेका बेला अर्कोसँग देखाउने झुकावका कारण पनि ब्रेकअप हुने गरेको बताउँछन् । ‘आपसमा कम्पिटिसनको भावना, आफ्नोलाई अर्कोसँग तुलना गर्ने तथा इगो क्ल्यासका कारण सम्बन्धहरू लङ लास्टिङ हुँदैनन्,’ खड्का भन्छन्– रिलेसनमा कम्पिटिसन हुनु हुँदैन, कम्पिलिमेन्ट गर्नुपर्छ, आफूले राम्रो पक्षलाई मात्र हेरिदिनुपर्छ यति भए रिलेसन लङ लास्टिङ हुन्छ । केटीहरू एक जना केटासँग अफेयर्स परिरहेका बेला अर्कोसँग पनि झुकाव राख्न थाल्छन् । अनि केटीहरू विक र चलायमान हुन्छन्, केटाहरू पनि हुन्छन् तर केटाभन्दा बढी केटीमा यस्तो हुन्छ ।
पछिल्लो समयकी उदीयमान नायिका वर्षा राउतसँग डेट गरिरहेका संजोग कोइराला एउटा सफल रिलेसनका लागि तीन कुरा आवश्यक हुने बताउँछन् । कोइराला भन्छन्– पहिलो माया, त्यसपछि विश्वास र धैर्य । कोइरालाको बुझाइमा पनि नेपाली चलचित्र नगरीमा अफेयर्सहरू टुटिरहनुको प्रमुख कारण विश्वास र धैर्यताको अभाव नै हो ।
प्रेममा साना–तिना कुरा पचाउन सक्नुपर्छ
सेलिब्रेटीका लभ, ब्रेकअपजस्ता विषयमाथि खुबै चर्चा हुन्छ, तर सामाजिक जीवनमा पनि यस्ता घटना घटिरहेका हुन्छन् । आपसमा कम्पिटिसनको भावनाका कारण यस्तो हुन्छ । मेरी श्रीमतीभन्दा अर्काको बढी राम्री, मेरो श्रीमान्भन्दा अर्कोका श्रीमान् वा मेरी प्रेमिकाभन्दा अर्काकी प्रेमिका राम्रो भन्ने बित्तिकै इगो क्ल्यास हुन्छ । रिलेसनमा कम्पिटिसन हुनु हुँदैन, कम्प्लिमेन्ट गर्नुपर्छ । आफूले उसको राम्रो पक्ष मात्र हेर्नुपर्छ, यति भए रिलेसन लङ लास्टिङ हुन्छ ।
प्रेमको सन्दर्भमा केटीहरूको एउटा केटासँग अफेयर्स चलिरहेका बेला अर्कोसँग अलिकति झुकाव हुन सक्छ । केटाहरूको तुलनामा केटीहरू बढी विक र चलायमान हुन्छन,् एउटा रिलेसन हुँदै अर्कोसँग झुकाव राख्ने प्रवृत्ति केटीहरूमा बढी हुन्छ । केटाहरूमा पनि यस्तो हुन्छ, तर कम । भलै, यी क्षणिक कुरा हुन् तै पनि यसैले सम्बन्धलाई टुटाउँछ । स–साना कुरामा शंका गर्नु हुँदैन, साना–तिना कुरा पचाउनुपर्छ, फोन इन्गेज भएपछि अर्कैसँग चक्कर चलाएको आशंकाले पनि कतिपय सम्बन्धलाई बिगार्छ ।
- माइक खड्का, रक गायक
एउटा अर्को ब्रेकअप
चलचित्र क्षेत्रमा प्रेमसम्बन्ध स्थापित र ब्रेकअप हुनु सामान्य कुरा हो । चलचित्र क्षेत्रमा आयुष्मान–प्रियंका, शरद–निशाको प्रेमसम्बन्धले चर्चा पाइरहेका बेला अर्को एउटा जोडीले भने आफूहरूबीच ‘ब्रेकअप’ भएको घोषणा गरेका छन् । अभिनेता सलोन बस्नेत तथा अभिनेत्री करिश्मा श्रेष्ठले गत साता आयोजित एउटा चलचित्रको घोषणा समारोहमा आफ्नो प्रेमसम्बन्ध अघि बढ्न नसकेको बताएका हुन् । सोभित बस्नेतले निर्देशन गर्ने चलचित्र ‘बाबु कान्छा’ को घोषणा कार्यक्रममा करिश्मा भन्दै थिइन्– ‘हाम्रो ब्रेकअप भैसक्यो, अब हामी साथी मात्र हौं ।’ करिश्माले ब्रेकअपको कारण नसोध्न आग्रहसमेत गरिन् । सलोनले पनि करिश्माको कुरामा सही थप्दै भने– ‘प्रेमि–प्रेमिकाको सम्बन्धमा भन्दा पनि हामी साथीकै सम्बन्धमा ठिक रहेछौं भन्ने लागेर ब्रेकअप गरेका हौं ।’
जो रिलेसनमा छन् ?
साम्राज्ञीराज्यलक्ष्मी शाह–मयंक खड्का
आष्मा डिसी–संयम पुरी
सृष्टि श्रेष्ठ–सौगात मल्ल
वर्षा राउत–संजोग कोइराला
मलिना जोशी–अनुपविक्रम शाही
छुल्ठिम गुरुङ–अनिल योञ्जन
कलाकारको ब्रेकअप र अफेयर सफलता र संवेदनासँग जोडिन्छ
कलाकार जसलाई सेलेब्रेटी मानिन्छ, तिनको निजी जीवन हुँदैन भनिन्छ । सेलेब्रेटीको पर्सनल लाईफ नै प्रोफेसनल लाईफ बन्न पुग्छ । चलचित्र वा कला जगत् एउटा प्राइभेट लिमिटेड हो, यहाँ हरेक कुरा प्राइभेट हुन सकेन भने त्यो अवाञ्छित बन्न पुग्छ । प्राइभेट लाइफमा सबैभन्दा म्याटर गर्ने कुरा हो, सेलेब्रेटीको ब्रेकअप । नाम, दाम र चकाचौँधको यो दुनियाँमा कोही कसैसित आश्रित हुने, सम्बन्धमा गाँसिने प्रमुख कारण हो— असुरक्षा, जसलाई मनोविज्ञानको भाषामा पस्र्युक्युसन कम्प्लेक्स भनिन्छ ।
हाम्रो र बलिउडको सिनेजगत्मा यस्ता घटनावृत्ति धेरै हुन्छन् । बलिउडका पहिलो सुपरस्टार राजेश खन्नासित त्यतिबेला भर्खर चल्तीमा आउन थालेकी नायिका नीतु सिंहले आफ्नो जन्मदिनको उपहारमा राजेशसित के माग्छिन् भने, तपाईंसित एउटा चलचित्रमा काम गर्न पाउँ । राजेशले त्यो उपहार त दिए तर त्यही कारणले उनको आफ्नै प्रेमिकासित ब्रेकअप हुन पुग्यो । राजेशले पछि डिम्पल कपाडियासित विवाह गरे, आफूभन्दा १५ वर्ष कान्छी डिम्पलसित उनको सम्बन्ध १० वर्ष पनि टिक्न सकेन ।
चलचित्र महाचोरमा राजेश महाबोर नायक मानिए, त्यसपछि उनलाई असुरक्षाको डर भयो, सेलेब्रेटीको सम्बन्धमा पजेसन सिन्ड्रोम एक प्रकारको रोग हो । राजेशले त्यसपछि नयाँ–नयाँ नायिकासित सम्बन्ध राख्न थाले, टिना मुनिम त्यसमध्ये एउटा नाम हो, तर महानायक राजेशको टिना मुनिमसितको चलचित्र पनि असफल भएपछि उनीहरूको ब्रेकअप भयो ।सबै चलचित्र उद्योगमा राजेशको जस्तै अवस्था धेरैको छ ।सेलेब्रेटीको ब्रेकअप र अफेयर दुई फरक कारणले हुन्छ, सफलता र संवेदना । सफलतामा टिकिरहन सक्ने जोडीको ब्रेकअप कमै भएको पाइन्छ, त्यो चाहे राजेशको होस् वा अमिताभको, तर जहाँ सफलतासित संवेदना वा भनौँ, सम्बन्धको कुरा गाँसिन्छ, त्यहाँ सफलता वा असफलताको कुरा गाँसिँदैन । भावनात्मक असुरक्षा पनि एउटा प्रमुख कारण हो जुन नेपाली सेलेब्रेटीहरूमा पनि उत्तिकै देखिन्छ ।
मेरो एउटा चलचित्रमा एक जना नायिकाका पतिले म त्यो अमूक हिरोसित खेल्न दिन्न भनेपछि मैले नायिकाको पूरै चरित्र बदल्नुपरेको थियो, तर पछि ती नायिका चल्न छोडेपछि फेरि ती नायकसितको सम्बन्धकै कारण उनी पुन: चलचित्रमा फर्किइन् र सफलसमेत भइन् । यहाँ ब्रेकअपले व्यवसायिक जीवनमा पनि धेरै असर पार्छ, त्यसैले सेलेब्रेटीको प्रोफेसनल लाईफ नै पर्सनल लाईफ हो
भन्ने देखिन्छ ।ब्रेकअप त्यसको एउटा मानसिक कार्यव्यापार मात्र हो ।
- प्रकाश सायमी, समिक्षक