साप्ताहिक संवाददाता
गत बिहिबार नेपालका लागी दक्षिण कोरियाका नव नियुक्त राजदुत पार्क योङ सिकको जीवनमा सम्झिनलायक क्षण रह्यो । राजदुत नियुक्त भएर आउँनुअघि नै नेपाल घुम्न आईसकेका पार्क योङ नेपालका परम्परागत नृत्यको दृश्याबलोकनमा रमाए ।
प्रसंग हो, कोरियाबाट फर्केर आएका नेपालीहरुले स्थापना गरेको छाता सँस्था अंकुरले आयोजना गरेको स्वागतमा कार्यक्रमको । राजदुत पार्क योङले डिल्लीबजारस्थित भोजन गृहमा स्याब्रु नाँच, तामाङ सेलो, झ्याउरे लगायत अन्य नृत्य अबलोकन गरे । नेपाली गीत संगीतमा रमाए ।
‘नेपालको चाहना, स्वदेशमै रोजगारीको सिर्जना’ भन्ने नारा बोकेको ‘अंकुर’ सन् २०१० मा स्थापना भएको हो । ९ सय भन्दा बढी सदस्यहरु रहेको यो संस्थामा एक सय जना आजिवन सदस्यहरु छन् । यो संस्थामा आबद्ध सदस्यहरु नेपालमा स्कुल खोल्ने, रेस्टुराँ ब्यबसाय गर्ने, उद्योग खोल्ने, कोरियन भाषा सिकाउने काममा सक्रिय छन् । रोजगारीको सिलसिलामा कोरियामा जाने नेपालीहरुका पक्षमा पनि काम गर्दै आएको छ ।
अंकुरका सदस्यहरुले दक्षिण कोरियामा पाँच वर्ष बस्दा काम, अनुशासन, त्यहाँको स्थानिय भाषा सिकेको बताए । ‘फर्किदा नेपालमा केही ब्यबसाय गर्न धन आर्जन पनि गरेर आएका हुन्छन् ।’ ठमेलमा रेस्टुराँ ब्यबसाय गरेर बसेका नवराज भण्डारीले भने, ‘उता बस्दा मिहिनेत गर्ने बानी बसेकोले यहाँ ब्यबसाय गर्दा धेरैलाई सफलता पनि मिल्छ ।’ कोरियाबाट फर्केर नेपालमा ब्यबसाय गर्ने एक व्यक्ति बराबर अन्य तीन जनालाई रोजगारी दिने अंकुरका अध्यक्ष लाल प्रसाद भट्टराईले बताए ।