साप्ताहिक संवाददाता
असार २२, २०७४
दार्जीलिङबाट आफ्ना सिर्जना प्रस्तुत गर्न काठमाडौं आएकी शान्ति ठटालले पलेँटीका दर्शक–श्रोताहरूलाई आफ्ना सांगीतिक धुनहरू सुनाएर मन्त्रमुग्ध तुल्याइन् । नेपालयको ‘आर’शालामा सम्पन पलेँटीमा उनले आफ्ना झन्डै डेढ दर्जन सिर्जना प्रस्तुत गरेकी थिइन् ।
पाँचौं पटक पलेँटीमा प्रस्तुत शान्ति ठटालले यसपालि संगीतकारका रूपमा आफ्नो प्रस्तुति दिएकी थिइन् । पलेँटीमा उनका सिर्जनालाई गायिका मीना निरौला तथा दार्जीलिङकी लोकप्रिय गायिका सोनु राईले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका क्रममा संगीतकार ठटालले आफ्नो समयका मूर्धन्य कलाकार अम्बर गुरुङ, अरुणा लामा, नारायण गोपाल आदिसित सम्बन्धित स्मरणहरू सुनाएकी थिइन् । अंग्रेजी महिनाको अन्तिम शुक्रबार सञ्चालन हुने यो कार्यक्रमको अगस्ट महिनाको श्रृंखलामा उदय–मनिला सोताङ प्रस्तुत हुने बताइएको छ ।