डोटेली राजासँगै आएर पुर्खौदेखि डोटीमा बसिरहेको अग्रवाल परिवारमा वि.सं. २०२७ मा जन्मिएकी हुन्- दिपायल सिलगढी नगरपालिकाकी नवनिर्वाचित मेयर मञ्जु मलासी । मन्जु ७ नम्बर प्रदेशकी एक मात्र महिला मेयर हुन् । दिपायल सिलगढी नगरपालिकामा २०४६ सालमा भएको जनआन्दोलन सफलताको विजय जुलुस देखेर राजनीतिप्रति आकर्षित मन्जुले महिलाको सामूहिक सशक्तीकरण गर्नुपर्छ भन्दै ०५२ सालमा चिसापानी महिला सामुदायिक वन समूह गठन गरेर पहिलो पटक सामाजिक काममा हात हालेकी थिइन् । ०५४ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएकी मन्जु ०५४ को स्थानीय निर्वाचनमा दिपायल सिलगढी नगरपालिकाको सदस्य मनोनीत भइन् । मन्जु ०६५ सालमा प्रतिनिधिसभा सदस्य हुँदै ०६७ सालयता एमालेको जिल्ला कार्यसमितिको उपसचिव छिन् ।
तपाईंका प्राथमिकता के–के हुन् ?
सडक, खानेपानी र शिक्षा मेरा प्राथमिकता हुन् । नगरपालिका भए पनि दिपायलको थुप्रै बस्ती– वडा अझै सडकको पहुँचबाहिर छन् । म प्रत्येक घरमा एम्बुलेन्स जाने सडक बनाउन विशेष प्राथमिकता दिने पक्षमा छु । दिपायलमा खानेपानीका लागि महिलाले ज्यादै कष्ट बेहोर्नुपरेको छ । खानेपानीका सानातिनाभन्दा बृहत् योजना तयार पार्ने तथा प्रत्येक वडाबाट वार्षिक एकजना विपन्न महिलालाई नगरकै स्रोतबाट प्राविधिक विषय पढाउने सोच लिएकी छु ।
साधन–स्रोत कसरी जुटाउनुहुन्छ ?
राजस्वको व्यवस्थापन गर्छु । कहीं–कतै पनि चुहावट हुन दिनेछैन । ‘एक वन एक उद्यम’को अवधारणा अघि सार्नेछु । खानी तथा इन्धनको अनुसन्धान गरी उपयोगमा ल्याउनेछु । चुनढुंगाको उपयोग तथा अल्लो प्रशोधनको कामलाई प्राथमिकता दिँदै गैरसरकारी संस्थाहरूलाई एकद्वार प्रणालीमा ल्याएर दुर्गम बस्तीमा केन्द्रित गर्नेछु । सेतीमा र्याफ्टिङ सञ्चालन तथा यहाँका ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नेछु ।
दिपायल सिलगढीलाई कस्तो सहर बनाउने परिकल्पना छ ?
यो नगरलाई सुशासनयुक्त नमुना सहर बनाउने परिकल्पना छ । भ्रष्टाचारको जरै उखेल्छु । दिपायल पाँच वर्षभित्र सुशासनका लागि हेर्न लायक नमुना सहर हुनेछ ।