डा. धवलशमशेर राणा नेपालगन्जका लागि चिरपरिचित नाम हो । २०५४ सालको स्थानीय निर्वाचनमा डा. राणा एमालेबाट नेपालगन्ज नगरपालिकाको मेयर निर्वाचित भए । विकासका कामहरू गर्ने अवसर पाए । त्यसपछि उनी एमाले परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरे । संविधानसभाको निर्वाचनमा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिए । त्यतिबेला उनी कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालासँग पराजित भए पनि एमाले र माओवादीभन्दा अग्रता कायम गरी दोस्रो स्थानमा रहे । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राणाको दोस्रो इनिङ सुरु भएको छ ।
मेयरका रूपमा दोस्रो इनिङ सुरु गर्न पाउँदा कस्तो अनुभव भैरहेको छ ?
दोस्रोपल्ट नेपालगन्जको मेयरमा निर्वाचित भएपछि निकै उत्साहित छु । २०५४ मा मेयर निर्वाचित भएपछि सुरु गरेका विकासका थुप्रै काम अधुरा रहे । त्यसलाई निरन्तरता दिनेछु । म जनताले दिएको जिम्मेवारी पूरा गर्ने पूरा प्रयास गर्नेछु । नेपालगन्जवासीले यति धेरै माया दिनुभएकोमा निकै खुसी लागेको छ ।
नेपालगन्जका जनताले तपाईंप्रति दोस्रो पटक विश्वास गर्नुको कारण के होला ?
मेरो कामको शैली नेपालगन्जवासीले राम्रोसँग बुझेका छन् । पहिले मेयर हुँदा मैले गरेको विकासको कामका आधारमा जनताले फेरि पनि विश्वास गरेका हुन् । त्यति बेला मैले नेपालगन्जको विकासका लागि थुप्रै काम गरेको थिएँ । त्यसलाई अझै पनि नेपालगन्जवासीले बिर्सिएका छैनन् । मप्रति जनताको ठूलो विश्वास रहेछ । जनप्रतिनिधिविहीन भएपछि यो पुरानो सहरमा विकासका गतिविधि ठप्प भएका छन् । त्यसलाई पूरा गर्न पनि मलाई जनताले फेरि छानेका हुन् ।
अबको तपाईंका मुख्य प्राथमिकता के हुनेछन् ?
मध्य र सुदूरपश्चिमको केन्द्रबिन्दु नेपालगन्ज निकै पछाडि परेको छ । मेरो प्राथमिकता भनेको कुरूप भैसकेका सडक मर्मत, डुबानमुक्त नेपालगन्ज, फोहोर व्यवस्थापन आदि कार्य हुनेछन् । नगरपालिकाभित्रको बेथिति रोक्नुपर्नेछ । त्यस्तै रानी तलाउ तथा वाटर पार्कको व्यवस्थापन गरी पहिलेकै अवस्था पुर्याउनुपर्नेछ । वर्षा सुरु भैसकेका कारण पहिलो प्राथमिकता सहरलाई डुबानमुक्त बनाउनु नै हो ।
नेपालगन्जलाई कस्तो नगर बनाउने परिकल्पना गर्नुभएको छ ?
नेपालगन्ज निकै पुरानो तथा ऐतिहासिक सहर हो । यसलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने मेरो लक्ष्य छ । त्यसका लागि योजना बनाउनुपर्नेछ । त्यससँगै शिक्षा, स्वास्थ्य एवं औद्योगिक हबका रुपमा नेपालगन्जको विकास गर्नेछु ।
आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ ? यहाँको मुख्य स्रोत के हो ?
सरकारले दिने अनुदानसँगै आन्तरिक स्रोतहरू पनि छन् । त्यस्तै मिनी जुको स्तर उन्नति गरी दर्शकहरूबाट केही शुल्क लिन सकिन्छ । रानी तलाउ र वाटर पार्कमा मेरै पालामा पहिले पनि बोटिङको व्यवस्था गरी शुल्क लिइन्थ्यो । बस पार्कलगायतका थुप्रै आन्तरिक स्रोत नेपालगन्जमा छन् ।