साप्ताहिक संवाददाता
हरेक प्रकारका भूमिकाप्रति न्याय गर्न सक्ने अभिनेत्री हुन्– ऋचा शर्मा । उनको अभिनयमा खोट लगाउने ठाउँ कमै हुने कुरा टलकजंग भर्सेस टुल्के, उमा, को आफ्नो आदि चलचित्रको भूमिकाबाटै प्रमाणित भैसकेको छ ।
अभिनयमा उत्कृष्टता दिए पनि ऋचा अभिनीत चलचित्रहरू भने व्यवसायिक रूपमा सफल हुन सकिरहेका छैनन् । अभिनेत्रीहरूले चलचित्र निर्माण गर्ने ट्रेण्ड प्रारम्भ भएसँगै ऋचाले पनि यो विधामा भाग्य परीक्षण गर्ने निर्णय गरिन् चलचित्र ‘आधा लभ’ मार्फत । चलचित्र त बन्यो तर यो चलचित्र सिनेमा हलमा लामो समयसम्म टिक्न सकेन ।
लगानी नै उठाउन गाह्रो परेपछि ऋचालाई पहिलो प्रयासमै धक्का लागेको छ । यतिबेला उनी आधा लभको प्रदर्शन विदेशमा गरेर लगानी सुरक्षित गर्ने प्रयास गर्दैछिन् । पक्कै पनि ऋचाले भविष्यमा चलचित्रमा लगानी गर्नुअघि धेरै पटक सोच्ने मनस्थिति बनाएको हुनुपर्छ ।