साप्ताहिक संवाददाता
अष्ट्रेलियाको मेलबर्नस्थित प्लानेट सेकर्समा आयोजित सांगीतिक प्रस्तुतिमार्फत नेपथ्यले सन् २०१७ को श्रृंखलाबद्ध अस्ट्रेलिया यात्रा प्रारभ गरेको छ । फरक–फरक उमेर समूह तथा व्यवसायमा आबद्ध दर्शकहरूको घुइँचो देखिएको उक्त कन्सर्टको आयोजना स्थानीय यती फुटबल क्लबले गरेको थियो । ‘महाभूकम्पले नेपाललाई नराम्रोसँग बिथोलेको भोलिपल्टै मेलबर्नको मञ्चमा उभिनुपर्दा दुई वर्षअघिको हाम्रो कन्सर्ट साह्रै पीडादायी बन्न पुगेको थियो ।
आज फेरि यही सहरमा तपाईंहरूका सामुन्ने हामी नेपाल र नेपालीत्वको उत्सव मनाउन उभिँदा असाध्यै रमाइलो महसुस भैरहेको छ,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्दै थिए । कन्सर्टको बीच–बीचमा दर्शकहरूसँग संवाद गरेका गुरुङले नेपालीहरूलाई आफ्नो समाजका निम्ति एकजुट हुन आह्वानसमेत गरे । केही गीत सुनाइसकेपछि अमृतले बितेको २५ वर्षदेखि नेपथ्यलाई लगातार माया गर्दै आएकोमा दर्शकहरूप्रति आभार प्रकट गरेका थिए ।
त्यसपछि अमृतले ब्यान्डकै पहिलो गीत सुनाएका थिए– ‘आँगनै भरि हिउँ नै झरे...’ । कार्यक्रममा नेपथ्यले झन्डै दुई दर्जन लोकप्रिय गीत प्रस्तुत ग¥यो । अमृतलाई स्टेजमा सधैं झैं ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ तथा मादलमा शान्ति रायमाझीले सघाएका थिए ।