साप्ताहिक संवाददाता
कतै प्रेमी–प्रेमिका गफमा मस्त, कतै गितार बजाउँदै रम्ने युवाहरूको समूह, बियरको चुस्की लिँदै ताल वरिपरीका दृश्य नियाल्नेहरू उस्तै । त्योभन्दा बढी त्यहाँका दृश्य मोबाइलमा कैद गर्नेहरू । ताल किनारमा पौडी खेल्दै रमाउने तथा डुंगा सयर गर्दै आनन्द लिनेहरू पनि त्यस्तै । यी दृश्य पोखराको फेवाताल किनारमा रहेको फुट ट्रयाकमा हिजोआज देखिने आम दृश्य हुन् । यसरी रमाउनेमा विदेशी तथा आन्तरिक पर्यटकका साथमा पोखराका स्थानीय बासिन्दा पनि हुन्छन् ।
गर्मी मौसममा तालको सुन्दरता र त्यहाँबाट प्राप्त हुने शीतलताका कारण ताल किनारमा भीड बढ्ने गरेको छ । ताल किनारमा फुट ट्रयाक बनेपछि लेकसाइडको सडकमा देखिने भीड ताल किनारमा सरेको हो । साथमा बसुन्धरा पार्क, कोमागाने पार्क, क्याप्पिङचोक आदि ठाउँमा क्रिकेट, फुटबल, भलिबल आदि खेल खेल्नेहरूको संख्या पनि बाक्लिँदै गएको छ ।
अन्य दिनको तुलनामा शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिनमा फेवातालको किनारमा रमाउनेहरू बढी हुन्छन् । गर्मी मौसममा फेवातालको शीतलतासँगै प्राकृतिक दृश्य नियाल्न पाइने भएका कारण यसको आकर्षण बढ्दै गएको हो ।
ताल किनारमा पुग्ने पर्यटकलाई लक्षित गर्दै विभिन्न रेस्टुराँ तथा बारका अतिरिक्त विभिन्न व्यवसायीले समेत विभिन्न प्रकारका परिकार उपलब्ध गराउने गरेका छन् । यहाँ केही रेस्टुराँले लाइभ म्युजिकको समेत व्यवस्था गरेका छन् । सारङ्गीवादक पनि ताल किनारमा पुग्नेहरूलाई सारङ्गीको धुन सुनाउन व्यस्त हुन्छन् । साँझ अबेरसम्म ताल किनारमा देखिने दृश्यले त्यहाँ पुग्ने जो–कोहीलाई मोहित तुल्याउँछ । मौसम खुलेको दिन फेवातालमा देखिने माछापुच्छ्रेको छायाँ देखेर होस् वा त्यहाँबाट देखिने प्रकृतिको सुन्दर दृश्य हेरेर होस् जो कोही भुतुक्क हुन्छन् ।