साप्ताहिक संवाददाता
प्रतियोगिताको महत्त्व, आकार तथा बजेटका आधारमा राष्ट्रपति रनिङ सिल्ड निकै ठूलो प्रतियोगिता हो । यसको इतिहास पनि उत्तिकै समृद्ध छ, तर हालै सम्पन्न यसको नवौं संस्करणले यसको विगतका उपलब्धिप्रति न्याय गर्न सकेन । उल्टै प्रतियोगितापछि राष्ट्रिय खेलकुद परिषद् चर्को विवादमा अल्झिएको छ । आर्थिक अनियमितताका प्रसङ्ग पनि अगाडि आएका छन् । प्रतियोगिताको व्यवस्थापनलाई स्तरीयता नाप्ने औजार मान्ने हो भने त्यो नै सबैभन्दा फितलो रह्यो ।
प्रतियोगिताको इतिहास पल्टाउने हो भने पञ्चायत र त्यसको केही समयपछिसम्म वीरेन्द्र सिल्ड प्रतियोगिता सञ्चालन गरिन्थ्यो । त्यसलाई नेपाली खेलकुदमा नयाँ खेलाडीको खोजी र विकासको सबैभन्दा ठूलो अवसर मानिन्थ्यो । पछि उक्त प्रतियोगिताले राष्ट्रपति रनिङ सिल्डको नाम पायो । नाम फेरिए पनि प्रतियोगिताको लक्ष्य भने एउटै थियो, नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने ।
नेपाली खेलकुदमा एक समयकी चर्चित नाम हुन्— केशरी चौधरी । उनले एथलेटिक्समा ठूलै नाम कमाइन् । केशरी पनि राष्ट्रपति रनिङ सिल्डकै उत्पादन थिइन् । केशरी जस्ता नाम हरू पनि थुप्रै छन् । यसपटकको प्रतियोगितामा सफलता प्राप्त गर्ने केही खेलाडीले निकट भविष्यमा नेपाली खेलकुदमा वर्चस्व कायम गर्ने निश्चित छ ।
यसपटकको प्रतियोगिता धेरै अर्थमा असफल रह्यो । प्रतियोगिताको बजेट नै १२ करोड रुपैयाँ थियो । नेपाली खेलकुदका लागि यो ठूलै रकम हो र यसबाट निकै ठूलो आकारको प्रतियोगिता उत्तिकै भव्य ढंगले सम्पन्न गर्न सकिन्थ्यो ।
धेरैले यसपटकको प्रतियोगितालाई लिएर लगाएको आरोप हो– बजेट फ्रिज हुने डरले असारको मसान्ततिर हतारमा प्रतियोगिता आयोजना गरियो । यही निहुँमा धेरैले गलत ढंगले आर्थिक लाभ पनि लिए । अहिले नवौं राष्ट्रपति रनिङ सिल्डको चर्चा त्यसमा भएको भ्रष्टाचारमै केन्द्रित छ जसले केही खेलाडीको उत्कृष्ट प्रदर्शनलाई समेत ओझेलमा पारेको छ ।
मध्यमाञ्चल च्याम्पियन मध्यमाञ्चल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन थियो र यसपटक पनि यही टिम च्याम्पियन भयो । मध्यमाञ्चल एथलेटिक्समा १ सय ६७, कबड्डीमा ५६ तथा भलिबलमा ७० सहित २ सय ९३ अंक जोड्दै समग्रमा टिम च्याम्पियन भएको हो । प्रतियोगितामा कराते, उसु, तेक्वान्दो, क्रिकेट र फुटबलको अंक टिम च्याम्पियनमा गणना गरिएको थिएन । पश्चिमाञ्चल २ सय ६४ अंकसँगै दोस्रो स्थानमा रह्यो भने तेस्रोमा स्थानमा १ सय ७३ अंकसहित मध्यपश्चिमाञ्चल रह्यो ।
यो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डी, तेक्वान्दो, कराँते, उसु, फुटबल तथा क्रिकेट गरी ८ खेल समावेश थिए । प्रतियोगितामा मुलुकको संघीय ढाँचाअघिको पाँच विकास क्षेत्रको सहभागिता थियो र प्रत्येक क्षेत्रले समान १ सय ४२ खेलाडी उतारेका थिए । त्यस आधारमा कुल सहभागी खेलाडीको संख्या ७ सय १० थियो । केन्द्रीय स्तरको प्रतियोगिता आयोजना हुनुअघि क्षेत्रमै पनि छनौट प्रतियोगिताहरू भएका थिए । यस अर्थमा समग्रमा यो प्रतियोगितामा सहभागी खेलाडी संख्या निकै ठूलो थियो ।
कीर्तिमानी खेलाडी
भुवन महतो
मध्यमाञ्चलका भुवन महतोले लङजम्पमा ३० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भंग गरे । उनले नयाँ विद्यालय खेलकुदको कीर्तिमान बनाउने क्रममा ६ दशमलव ५३ मिटर जम्प गरेर धनवीर चौधरीले वि.सं. २०४४ मा बनाएको कीर्तिमानलाई उछिनेका हुन् ।
प्रकाश दनुवार
पूर्वाञ्चलका प्रकाश दनुवारले ४ सय मिटर दौडमा १६ वर्षअघि वि.संं २०५८ मा कृष्ण महतोले बनाएको कीर्तिमानलाई उछिनेका छन् । यस क्रममा उनले ५० दशमलव २० सेकेन्डको नयाँ समय कायम गरेका थिए ।
निशान गुरुङ
पश्चिमाञ्चलका निशान गुरुङले सटपुटमा १५ दशमलव ०१ मिटरको नयाँ कीर्तिमान बनाए । उनले राष्ट्रपति रनिङ सिल्डको पछिल्लो संस्करणमा तिलक नेपालले कायम गरेको कीर्तिमान भंग गरेका हुन् ।
अजितकुमार यादव
मध्यमाञ्चलका अजितकुमार यादवले १५ सय मिटर दौडमा आफ्नै कीर्तिमानमा सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाए । एथलेटिक्सको यो विधामा अब उनको नाममा ८ मिनेट ५६ दशमलव १७ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान तयार भएको छ ।