परेवा उडान प्रतियोगिता विश्वकै लागि नौलो प्रतियोगिता भने होइन । नेपालमा डेढ दशकयता परेवा उडानले प्रतियोगिताका रूपमा स्थान जमाएको छ । परेवा पालकहरूले यसलाई राष्ट्रिय स्तरको खेलका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने योजनासमेत बनाएका छन् । राजपरिवार तथा राणाहरूमा मात्र सीमित ऐतिहासिक परेवा उडाउने खेल अब सर्वसाधारणमाझ लोकप्रिय बनाउने र यसलाई विश्वभर फैलाउने योजना नेपाल परेवा उडान खेल संघले लिएको छ ।
शान्तिको प्रतीक परेवा पाल्ने सौख भएका व्यक्तिहरूले परेवा उडानलाई प्रतियोगिताका रूपमा विकसित गरेर राष्ट्रिय खेलका रूपमा विकास गर्न थालिसकेका छन् । भारत, पाकिस्तान, भुटान श्रीलंका, बहराइन आदि देशमा बर्सेनि परेवा उडान प्रतियोगिता हुन्छ ।
नेपालमा २०५७ सालदेखि परेवा उडान प्रतियोगिता हुँदै आएको छ । परेवा उडान खेलमा खेलाडीहरूको संख्या पनि दिन–प्रतिदिन बढिरहेको छ । सौखका रूपमा घरमै परेवा पाल्ने तथा ती परेवालाई प्रतियोगितामा सामेल गराउनेहरूको संख्या बढिरहेको छ । नेपाल परेवा उडान खेल संघका अध्यक्ष नारायणबहादुर श्रेष्ठ भन्छन्— नेपालमा डेढ सयभन्दा बढी खेलाडी छन् तर उनीहरूलाई प्रोत्साहित गर्न सकिएको छैन ।
यसैगरी परेवा उडानलाई प्रवद्र्धन गर्ने उद्देश्यले संघ–संस्था खोल्ने क्रम पनि बढिरहेको छ । बनेपाको भूमि क्लब, हिमालय परेवा उडान क्लब, काठमाडौं, मध्यपुर परेवा उडान खेल क्लब, ठिमी, ललितपुर परेवा उडान क्लब आदि परेवा उडानलाई प्रवद्र्धन गर्न क्लब हुन् ।
गोरखशमशेर उत्कृष्ट
ठमेल, काठमाडौंका गोरखशमशेर राणा परेवा उडाउने खेलमा मात्र होइन, परेवा पालनमा पनि सौखिन छन् । अन्तत: यही सौखका कारण उनी अठारौं राष्ट्रिय परेवा उडान प्रतियोगितामा उत्कृष्ट ठहरिए । नेपाल परेवा उडान खेल संघले आयोजना गरेको प्रतियोगितामा राणाले उडाएको पाँचवटा परेवा २८ घण्टा ८ मिनेट उडेर प्रथम भएका थिए ।
परेवा उडाएर प्रथम भएका राणाले ४ लाख रुपैयाँ मूल्य बराबरको केयुर रनिङ शिल्ड उचाले । प्रतियोगितामा काठमाडौं ठमेलकै रवीन्द्र महर्जनको परेवाले कुल २१ घण्टा ४३ मिनेट उडेर दोस्रो तथा ठमेलकै पुष्प महर्जनले उडाएको परेवा २१ घण्टा ३१ मिनेट उडेर तेस्रो स्थान हात पार्न सफल भए ।
विगत दुई महिनादेखि सञ्चालित उक्त प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेका गरी ३७ जना प्रतियोगी परेवासहित सहभागी थिए । यसअघि भक्तपुर, कौशलटारका विनोद कुटु, भक्तपुरकै मधु घिमिरे तथा काठमाडौंका गोरखशमशेरले एक/एक पटक केयुर रनिङ शिल्डको उपाधि हात पारिसकेका छन् । यो शिल्ड आफूसँग राख्न प्रतियोगीले तीन पटकसम्म उपाधि जित्नुपर्ने हुन्छ ।
गत वर्ष स्थापना गरिएको विष्णुभक्त श्रेष्ठ उत्कृष्ट रनिङ शिल्डको उपाधि भक्तपुर बोडेका सञ्जय श्रेष्ठले हात पारेका छन् भने उत्कृष्ट परेवाको उपाधि पनि सञ्जयले नै हात पारेका छन् । यसका लागि उनको चिनी परेवा ८ घण्टा ३९ मिनेटसम्म उडेको थियो । उक्त प्रतियोगितामा टाउके, चिनी, तुनियाँ, कास्नी, काभरा आदि जातका परेवा उडाइएको थियो ।
यस्तो हुन्छ नियम
परेवा उडान प्रतियोगितामा भाग लिन परेवा पालकको उमेर २० वर्षभन्दा माथि हुनुपर्छ । बिहान ६ देखि साँझ ६ बजेसम्म चल्ने प्रतियोगितामा प्रतियोगीले सातवटा परेवालाई सहभागी गराउन पाउँछन्, जसमा उडाइएका दुईवटा परेवा अतिरिक्तका रूपमा रहन्छन् । परेवा धपाउन प्रतियोगीलाई १० मिनेटको समय दिइन्छ, जसमा एक घण्टाभन्दा अगावै परेवा जमिनमा ओर्लिए त्यस्ता परेवा प्रतियोगिताबाट बाहिरिएको मानिन्छ । उडाइने सातवटा परेवालाई निर्णायकको निर्देशनअनुसार प्रतियोगिताको एक दिनअघि रंग लगाउनुपर्ने हुन्छ, जसले गर्दा आकाशमा उड्दासमेत आफ्नो परेवा सजिलै चिन्न सकियोस् ।
प्रतियोगितामा उडेका परेवा प्रतियोगीले भनेजस्तै तोकिएकै दुई स्थानमा बस्नुपर्छ, अन्यथा उक्त परेवाको उडान समय गणना हुँदैन । मौसमको खराबी वा परेवालाई बाजजस्ता मांसाहारी चराले आक्रमण गरे प्रतियोगीलाई फेरि परेवा उडाउने मौका दिइन्छ । उडाइएका पाँचवटा परेवाको उडान अवधि गणना गरी सबैभन्दा बढी समय उड्ने परेवापालकलाई विजयी घोषित गरिन्छ । सबैभन्दा बढी समय उड्ने परेवालाई उत्कृष्ट परेवाको उपाधि दिइन्छ ।
विदेशमा परेवा उडान
मासुका लागि प्रयोग गरिने परेवा तथा उडानका लागि प्रयोग हुने परेवा फरक हुन्छन् । उडानका लागि प्रयोग गरिने परेवाको मूल्य लाखौं रुपैयाँसम्म पर्छ । यस्ता प्रतियोगितामा टाउके, चिनी, तुनियाँ, कास्नी, काभरा आदि जातका परेवा उडाइन्छ ।
विदेशमा एउटा महादेशबाट अर्को महादेशसम्म परेवा उडाएर उत्कृष्ट घोषणा गर्ने चलन छ । साउदी अरेबिया, इंग्ल्यान्ड, आयरल्यान्ड आदि देशमा यस्तो प्रतियोगिता बाक्लै मात्रामा हुन्छ । धनाढय एवं उच्च खान्दानका व्यक्तिहरू यो खेलका सौखिन हुन्छन् । महँगो खर्चमा परेवा पाल्ने र तालिम दिएर रेसर परेवा उत्पादन गर्ने प्रचलन विदेशमा राम्रैसँग फस्टाएको पाइन्छ ।