साप्ताहिक संवाददाता
पछिल्लो समय प्रविधिले निक्कै फड्को मारिसक्यो । अहिलेको विश्व एउटा मोबाईलमा अटाएको छ । मान्छे हरेक कुरामा तुरुन्तै प्रतिकृया चाहन्छ । चाहे विभिन्न घटना–परिघटना हुन् अथवा गीतसंगीत नै । कुरेर सुन्ने बाानी धेरैमा हराउँदै गएको छ । तयसैले पनि यो समय रेडियो र रेडियो कार्यक्रमको त्यत्ति धेरै महत्व छैन् भन्दा पनि हुन्छ । फलस्वरुप सञ्चार माध्यम जस्तै जन्मिएका छन् सञ्चारकर्मी र रेडियो कार्यक्रम पनि ।
तर, कुनै एउटा कार्यक्रम २० वर्षदेखि निरन्तर प्रसारणमा छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ । रेडियो नेपालको साहित्यिक कार्यक्रम मधुवन प्रसारण भएको २० वर्ष पूरा भएको अवसरमा एउटा भव्य कार्यक्रमको आयोजना गरियो । समारोहमा २०१८ साल पुष १२ गते रेडियो नेपालबाट प्रसारण भएको कविशिरोमणि लेखनाथ पौडेलको अन्तर्वार्ता आज पुन: प्रसारण गरियो ।
२०१८ सालमा कवि शिरोमणि पौड्यालको अन्तर्वार्ता लिनुहुने वरिष्ठ कवि श्यामदास वैष्णवको उपस्थितिमा सो अन्तर्वार्ता प्रसारण गरिएको हो । कवि शिरोमणि पौड्यालसाग २०१८ सालमा कवि वैष्णव र अर्का वरिष्ठ कवि जनार्दन समले लिएका थिए । कवि वैष्णव रेडियो नेपालको पहिलो उद्घोषक हुन् । उनले २००७ साल चैत्र २० गते पहिलोपटक रेडियो नेपालमा उदघोषण गरेका हुन् । कार्यक्रम मधुवनको आज शुक्रबार विशेष प्रसारणको अवसरमा त्यस बेला अन्तर्वाता लिने ९४ बर्षीय बरिष्ठ साहित्यकार श्यामदाश बैष्णवको समुपस्थितिमा साहित्यकारहरुले भाषा, संस्कृति र गीत–संगीतको उत्थानमा रेडियो नेपालको अतुलनीय योगदान रहेको स्मरण गरे ।
साहित्यकारहरु दिनेश अधिकारी, डा. रामप्रसाद ज्ञवाली, प्रल्हाद पोखरेल, मोमिला र महेश पौडेलले नेपाली गीत–संगीतको अभिलेखीकरण रेडियो नेपालबाटै सुरु भएकोले नेपाली गीत संगीतको अध्ययन् र अनुसन्धानका लागि रेडियो नेपाललाई संगीतको केन्द्रिय पुस्तकालयका रुपमा विकास गर्न सुझाव दिए ।
रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपालले अग्रज स्रष्टाहरुको सृजनाको संरक्षण गर्दै भावी पुस्तालाई त्यसबारे ज्ञान उपलब्ध गराउने गरी कार्य सुरु गरेको बताए । उनले, भाषा, साहित्य, संस्कृति र गीत संगीतसाग सम्बन्धित रेडियो नेपालका अमूल्य सम्पतिहरुको आधुनिक प्रविधिमार्फत् अभिलेखीकरण गर्न सुरु गरिएको जानकारी दिए ।
रेडियो नेपालबाट साप्ताहिक रुपमा प्रसारण हुने कार्यक्रम मधुवन रेडियो नेपाल कार्यक्रम महाशाखाका प्रमुख एवं साहित्यकार डा. नवराज लम्सालले सञ्चालन गर्दै आएका छन् ।