साप्ताहिक संवाददाता
बलिउडमा १० जना त्यस्ता गायक–गायिका छन् जो पहिलो गीतबाटै स्टार बन्न सफल भए । तीमध्ये पहिलो स्थानमा छन् गायक अरिजित सिंह । अरिजितले गाएको पहिलो गीत हो— चलचित्र मर्डर–२ को फिर मोहब्बत करने चला । यही गीतबाट उनी बलिउडमा स्थापित भए । गायिका कनिका कपुरले आफ्नो डेब्यु गीत बेबी डलबाटै प्रसिद्धि पाइन् । गायिका श्रेया घोषाल चलचित्र देवदासको आफ्नो पहिलो गीत बैरी पिया... बाट लोकप्रिय भइन् ।
गायक राहत फतेह अली खानले चलचित्र पापको मन की लगनबाट सफलताको स्वाद चाखे । गायिका नीति मोहनले चलचित्र स्टुडेन्ट अफ द इयरको इश्क वाला लभबाट सफलता पाइन् । गायक आतिफ असलमले चलचित्र जहरको वो लम्हेबाट सफलता पाए ।
गायिका शाल्मली खोलगडेले चलचित्र इशकजादेको मैं परेशांबाट परिचय बनाइन् । अदनान सामीले चलचित्र अजनबीको मैं सिर्फ तेरा महबूबबाट चर्चा पाए । गायिका उषा उत्थुपले चलचित्र शालीमार को आफ्नो पहिलो गीत वन टु चा चा चाबाट सफलताको स्वाद चाखिन् ।