साप्ताहिक संवाददाता
उखरमाउलो गर्मी छ । गर्मी छल्न, केही समय सुस्ताउन काठमाडौं वरिपरि कुनै ठाउँ खोजिरहनुभएको छ ? स्वीमिङका साथै विभिन्न खेलकुदमा रमाउन चाहनुहुन्छ भने चोभारको हुपी ल्यान्ड एन्ड एम्युजमेन्ट वाटर पार्क उपयुक्त गन्तव्य हुन सक्छ ।
काठमाडौंको केन्द्र रत्नपार्कबाट नजिकैको हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्कले धेरैको मन लोभ्याउँदैछ । ६० रोपनी क्षेत्रफलमा फैलिएको यो पार्कभित्र एकैपटक ६ हजार मानिस प्रवेश गर्न सक्छन् । यो पार्कमा जुरासिक सफारी, स्वीमिङ, भिडियो गेम, बुल राइड, अक्टोपस राइडजस्ता सुविधा उपलब्ध छन् । यो पार्कभित्र छिरेपछि समय बितेको पत्तो हुँदैन ।
विविध प्रकारका खेल एवं यहाँको मनोरम वातावरणले जो–कसैको मन लोभ्याउँछ । यो ठाउँ बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले खोजेजस्तै छ । सनसाइन सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल तेजप्रकाश श्रेष्ठ आफ्नो स्कुलका विद्यार्थीहरू लिएर हुपी ल्यान्ड एम्युजमेन्ट एन्ड वाटर पार्क पुगेका थिए । बालबालिकाहरू खेलकुदमा रमाए, एकदमै उत्साहित देखिन्थे । श्रेष्ठले आफ्नो अनुभव बताए– उनीहरू रोमाञ्चित भए । यो पार्कमा खेल्ने सामग्रीहरू मनग्य रहेछन् । ०७३ असार २२ गतेदेखि सञ्चालनमा आएको यो पार्कमा यतिबेला थप सुविधा बिस्तार गरेर धेरैभन्दा धेरै मानिस भित्र्याउने प्रयास भैरहेको म्यानेजर सौरभ बस्नेतले बताए । यो ठाउँ १२ वर्षसम्मका लागि भाडामा लिइएको हो ।
शनिबार झन्डै ३ हजारभन्दा बढी मानिसले मनोरञ्जन गर्ने यो पार्कमा अरू दिन लगभग १ हजार मानिस पुग्ने जानकारी पार्कका संस्थापक जगत बस्नेतले जानकारी दिए । यो पार्कको प्रवेश शुल्क ६ सय ५० रुपैयाँ छ भने शनिबार १ सय रुपैयाँ अतिरिक्त तिर्नुपर्ने हुन्छ । यहाँ विद्यार्थीहरूका लागि ६ सय, बालबालिकालाई ३ सय ५० तथा अपांगलाई ४ सय ५० रुपैयाँ शुल्क लाग्छ । स्वदेशी तथा विदेशी दुवैका लागि एउटै शुल्क कायम गरिएको छ ।
यो पार्कभित्र रेन डान्स, फेरी स्विल, आक्वा फन हिल आदि सुविधा थपिएका छन् । स्वीमिङ गर्नुअघि सामानहरू राख्ने १ सय वटा लकरको व्यवस्था छ । लकरमा एकै पटकमा ४–५ हजार मानिसका सामान राख्न सकिन्छ । त्यहाँ पुरुष र महिलाका लागि ९/९ वटा चेन्ज रुम छन् । हुपी ल्यान्डमा भारत, चीन र थाइल्यान्डबाट झिकाइएका अन्तर्राष्ट्रिय स्तरका ३ वटा स्लाइड छन् ।
पार्कभित्र एउटा रेस्टुराँ तथा सातवटा फुड स्टल छन् जहाँ आफ्नो इच्छाअनुसार मम, बर्गर, रोल्स, हट् डग, कफी, पप कर्न, आइसक्रिम, पानीपुरी आदि अर्डर गर्न सकिन्छ । पार्कभित्र प्रवेश गरेपछि क्यास कार्डको सिस्टम छ । एटिएम कार्डजस्तै देखिने यही कार्डबाट कारोबार गर्न सकिन्छ । यसमा जति पनि पैसा राख्न सकिन्छ । यहाँ जुन पायो त्यही ठाउँमा धूम्रपान गर्न छुट छैन । यहाँ बनाइएका तीनवटा स्मोकिङ रुममा मात्र धूम्रपान गर्न मिल्छ । पार्कभित्र प्रवेश गर्नेहरूको ५ लाख रुपैयाँ बराबरको इन्स्युरेन्स गरिएको छ । भविष्यमा यो पार्कमा रोलर कोस्टर, वेभ पुल, र्यान्जर, थप वाटर स्लाइडजस्ता खेल थप्दै जाने योजना रहेको म्यानेजर बस्नेतले बताए ।