साप्ताहिक संवाददाता
लेखक/निर्देशक : रामशरण पाठक संगीत : कल्याण सिंह, एलिस कार्की तथा रोहित जोन क्षेत्री कलाकार : प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, श्रद्धा प्रसाइँ, शिशिर भण्डारी, कविता रेग्मी, मुक्ताबाबु आचार्य आदि ।
चलचित्र ‘प्रेमगीत’ले दर्शकहरूको मन जितेको धेरै भएको छैन । त्यसपछि चम्किएका अभिनेता प्रदीप खड्का तथा अभिनेत्री पूजा शर्मामध्ये पूजाले हालै प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु’ मार्फत अर्को सफलता हात पारिसकेकी छिन् भने प्रदीप
खड्काको परीक्षा आज शुक्रबार हुँदैछ । आज शुक्रबारदेखि ‘प्रेमगीत’को दोस्रो श्रृंखला ‘प्रेमगीत टु’ प्रदर्शनमा आउँदै छ । प्रदीपले यसपटक चलचित्र क्षेत्रकी नयाँ अनुहार अश्लेषा ठकुरीसँग केमेस्ट्री मिलाउँदै छन् । नेपालका युवक तथा म्यानमारकी युवतीबीच यात्राका क्रममा हुने मित्रता प्रेममा परिणत भएपछि युवतीको अतितले गर्दा युवकले आफ्नो प्रेम प्राप्तिका लागि गर्नु पर्ने संघर्ष ‘प्रेमगीत टु’ को मुख्य विषय हो ।
नेपालका मनोरम दृश्यहरूका साथै थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको ‘प्रेमगीत टु’को निर्माणमा निर्माता सन्तोष सेनले निकै खर्च गरेका छन् । अघिल्लो ‘प्रेमगीत’का कारण युवा दर्शकहरूको नजरमा परेका अभिनेता प्रदीप खड्काका कारण ‘प्रेमगीत टु’ बहुप्रतिक्षित चलचित्र बन्न पुगेको छ । ‘प्रेमगीत टु’लाई पुरुषोत्तम प्रधानले खिचेका हुन् भने यसमा अष्ट महर्जनको द्वन्द्व तथा रेनेशा बान्तवा राईको नृत्य हेर्न पाइन्छ ।