विद्यालयको सांस्कृतिक कार्यक्रम होस् अथवा पाँचतारे होटलको भोज । जन्ती नचाउने ब्यान्डबाजा होस् अथवा महोत्सवको पञ्चैबाजा । पछिल्ला दुई वर्ष लोकलयमा आधारित केही गीत नसुनिएको अवसर कमै हुन्छ । चलचित्र वडा नम्बर ६ को सुर्के थैली खै तथा छक्कापञ्जाको पूर्व–पश्चिम रेलका शब्दहरू प्राय: सबै नेपालीलाई कण्ठस्थ हुनुपर्छ । भर्खरै थपिएको छ, चलचित्र दुई रुपैयाँको कुटुमा कुटु । कुटुमा कुटुले त सार्वजनिक भएको दुई महिना नबित्दै इतिहास कायम गरिसकेको छ । यी तीन गीतमध्ये सुर्के थैली खै युट्युबमा १ करोड पटक हेरिने पहिलो गीत मात्र भएन, २ करोडभन्दा बढी पटक हेरिने पहिलो गीतसमेत भयो । आजको मितिमा यो गीत २ करोड ६७ लाख पटक हेरिसकिएको छ । पूर्व–पश्चिम रेलले हालसम्म १ करोड ७० लाख दर्शक पाएको छ भने कुटुमा कुटुले ४९ औं दिनमा एक करोड दर्शक पाएको थियो, अहिलेसम्म १ करोड २० लाख पटक हेरिइसकिएको छ ।
सर्वाधिक लोकप्रिय भएका यी तीनवटै गीतका सर्जक हुन्— दोलखामा जन्मिएका गायक, गीतकार तथा संगीतकार राजनराज शिवाकोटी । २०५९ सालमा आफ्नै शब्द, संगीत तथा स्वरमा मायाले आउने जाने बाटोमा शीर्षकको पप गीत रेकर्ड गराउँदा संगीतकर्मी शिवाकोटीले डेढ दशकभित्रै आफू नेपालको नम्बर एक गायक, संगीतकार तथा गीतकार हुन्छु भन्ने कल्पनासम्म गरेका थिएनन्, तर डेढ दशक लामो अथक मेहनत, कहिल्यै हरेस नखाने स्वभाव तथा गीत खोज्न आफ्नै थाकथलो मात्र होइन, जंगलै पस्न पनि पछि नपर्ने जिद्दीपनले राजनराजलाई आज यति व्यस्त संगीतकर्मी बनाएको छ कि उनी यो वर्षभरीकै लागि प्याक भैसकेका छन् । स्वदेशका एवार्ड समारोहमा उनले खालि हात फर्कनुपरेको छैन, विदेशका सांगीतिक कार्यक्रमका निम्तो मान्नसमेत उनलाई भ्याइ–नभ्याइ छ । रेकर्डिङको चापकै बीच उनी यही महिनाको अन्त्यमा सांगीतिक कार्यक्रमका लागि अस्ट्ेरलिया जाँदैछन्, जहाँ उनी आफ्नो जीवनकै पहिलो एकल गायनमा प्रस्तुत हुनेछन् ।
एकपछि अर्को गीत लोकप्रिय हुनुलाई राजनराजले आफ्नो भाग्य होइन, कर्मलाई नै कारक मानेका छन् । ‘म चौबिसै घण्टा संगीतमा रमाइरहेको हुन्छु, साप्ताहिकसँगको भेटमा राजनले भने– ‘मेरा पछिल्ला गीत लोकप्रिय भएकोमा म रत्तिभर हौसिएको छैन, यो त मेरो सुरुवात मात्र हो ।’ हुन पनि यतिबेला राजनराजलाई आफ्नो चलचित्रमा समावेश गर्न चाहने निर्माता–निर्देशकको सूची लामै छ । उनले पिँजडा ब्याक अगेन, ह्याप्पी डेज, रुद्रप्रिया, कान्छी आदि चलचित्रका लागि गीत तयार पारिसकेका छन् भने शीर्षक राख्न बाँकि झन्डै आधा दर्जन चलचित्रका गीत पनि तयार भैसकेका छन् । ‘मैले काम गरिरहेका गीत वर्ष २०७६ सम्म प्रदर्शन हुने चलचित्रमा समेटिने छन्, राजनराज आत्मविश्वासका साथ भन्छन्— ‘अझै केही वर्ष श्रोतालाई म अहिले भन्दा बढी नचाउन अनि मनोरञ्जन प्रदान गर्न सक्छु भन्ने कुरामा ढुक्क छु ।’
हुन त राजनराजलाई अहिले चलचित्रका गीतको गायक तथा संगीतकारका रूपमा चिनिन्छ । यद्यपि उनले विगतमा लोक, दोहोरी, तेहेरी, पप, आधुनिक, राष्ट्रिय भाव, तीज गीत आदि विभिन्न विधाका गीत सिर्जना गरिसकेका छन् । चलचित्रमा समावेश भएका आफ्ना लोक शैलीका गीत लोकप्रिय भएपछि राजनराजले यो वर्ष पहिलो पटक तीज गीत समेत बनाउनुपर्यो । ‘यस्तो गीत बनाइदिनुपर्यो, यस्तो संगीत तयार पारिदिनुपर्यो, यस्तो रचना गरिदिनुपर्यो, गाइदिनुपर्यो भन्दै आउनुहुन्छ, राजनराज भन्छन्– ‘म कसैलाई नाइँ भन्न सक्दिनँ, यद्यपि संख्या बढाउन गुणस्तरमा सम्झौता पनि गर्दिनँ ।’
राजनराजको स्वरमा त जादु छँदैछ, संगीतमा पनि छुट्टै आकर्षक छ भने शब्दहरू मौलिक छन् । उनी गीत रचना गर्न आफ्नै जिल्ला दोलखाका गाउँपाखा डुल्छन् । राजन सबैले प्रयोग गरिरहेका, देखिरहेका सजिव तथा निर्जीव वस्तुहरूलाई नै शब्दमा उतार्छन् । सुर्के थैली, सुपारी दाना, खैनी–चुरोट, अमिलो–गुलियो सुन्तला, काली नाग आदि शब्द त्यसकै उपज भएको राजनराज बताउँछन् ।
राजनराजका केही लोकप्रिय सिर्जना
- म माया गर्छु (शब्द/संगीत) : गायक अनिल सिंह
-रिसाए नि ठीकै (शब्द) : गायक अनिल सिंह
- अलिकति पीडा हुँदा नि (शब्द/संगीत) : गायक नविन के भट्टराई
- वार्ता गराइदेउ (शब्द/संगीत/स्वर) : पहिलो लोकतेहेरी गीत
- प्रिय तिम्रो सिउँदोमा (संगीत) : गायक प्रकाश तिमिल्सिना
- जिन्दगी यो फूलैफूलको (संगीत) : गायिका अञ्जु पन्त
- डाँफेझैं नाच्ने (संगीत) : गायिका जुनु रिजाल
- दीप बनोस हाम्रो जीवन (संगीत) : गायक सत्य–स्वरुपराज आचार्य
- ढाँटी–ढाँटी बैगुनीलै (संगीत) : गायक मनोजराज
- मलाई भोलि केही भए (संगीत) : गायक कर्णदास
- हाम्रो प्रेम यदि (संगीत) : गायिका मनिषा पोखरेल