साप्ताहिक संवाददाता
आगामी साउन २२ गते सम्पन्न हुन गइरहेको म्यूजिक खबर म्यूजिक अवार्डका अवसर पारेर विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गर्न लागिएको छ । छैटौं संस्करणको म्यूजिक खबर म्यूजिक अवार्डको अवसरमा विभिन्न ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गर्ने यस अघि नै सार्वजनिक भैसकेको छ । नोमिनेसनमा परेका कलाकारलाई प्रमाणपत्र समेत प्रदान गरिसकेको आयोजकले केहि सम्मानित व्यक्तिको नाम सार्वजनिक गरेको छ ।
यो वर्ष म्यूजिक खबर दीर्घ साधना सम्मान– २०७४ बाट वरिष्ठ गीतकार रत्नशमशेर थापालाई सम्मान गरिने भएको छ । थापालाई २५,५५५ नगद राशिसहित सम्मान गरिने आयोजकले जनाएको छ ।
वि.सं. २००८ सालबाटै अर्थात् बाह्रवर्षे उमेरदेखि नै कविता लेख्न थालेका रत्नशमशेर थापाले वि.सं. २००९ सालबाटै गीत पनि लेखेका हुन् । लामा कविता, नाटक, कथा लगायत थुप्रै गीत संगीतमा थापाको कलम चलेको छ । २०२० सालमा ओभानो सिउँदो र २०२६ सालमा रुझेको परेला गीतसङ्ग्रह प्रकाशित गरेका थापाले २०३६ सालमा चकला भरिको घाम, २०६० सालमा ताराका काँचा रङ कवितासङ्ग्रह प्रकाशित गरेका छन् । वि.सं.२०४२ मा ‘दोभान’ नामक एल्वम निकालेका थापाले हजारौंको संख्यामा गीत लेखेका छन् । उनका गीतले नेपाली सांगीतिक आकाशमा सदाबाहार स्थान पाएका छन् । नेपाली गीतसंगीत उद्योगमा पुर्याएको यहि योगदानलाई हेर्दै थापालाई छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा दीर्घ साधना सम्मान प्रदान गर्न लागिएको आयोजकको भनाई छ ।
म्यूजिक खबर दशकको सम्मान २०७४ बाट भने यो वर्ष बरिष्ठ गायक शिशिर योगी र गायिका सत्यकला राईलाई सम्मानित गरिने भएको छ । नेपाली सांगीति क्षेत्रमा दकश लामो यात्रा तय गरेका दुबै गायक गायिका कयौं गीत लोकप्रिय छन् । योगीका सारङ्गी त रेटे पनि, यो देशमा म एउटा मानिस खोजिरहेछु जस्ता सयौं कालजयी छन् भने राईका आइडी काडैले, ढडिया थापिदेउ, तिमी मसँग नबोल्ने अरे, इन्टरनेटैमा जस्ता सयौं गीत लोकप्रिय छन् ।
यस वर्षको म्यूजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान पछिल्लो समयमा बाल आवाजलाई बुलन्द पार्दै अघि बढेका प्रतिभा बेगेन्द्र बुढालाई प्रदान गरिने भएको छ । त्यसैगरी यस वर्षको म्यूजिक खबर युवा प्रतिभा सम्मान गीतकार एवं संगीतकार पदम रोकायालाई प्रदान गरिन लागिएको छ । ६० सालबाट निरन्तर लोकदोहोरी, आधुनिक गीत लेखन एवं संगीत सिर्जनामा लागिपरेका पदम रोकायाका गीत जति चर्चामा आए आफू भने ओझेलमा परिरहनु भयो । ताम्रपत्र, ट्रफी र दोसल्ला ओढाएर सम्मान गरिनेछ ।
यो वर्ष ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’ भने बरिष्ठ कवि गीतकार तथा संचारकर्मी डा.नवराज लम्साललाई प्रदान गरिने भएको छ । डा.लम्साललाई ५५५५ नगद राशिसहित पुरस्कार प्रदान गरिनेछ । रेडियो नेपाल, बीबीसी रेडियो जस्ता ठूला मिडियामा आफ्नो स्वरको माध्यमबाट संचार क्षेत्रमा उल्लेख्य योगदान पुर्याउादै आउनुभएका डा.लम्सालले नेपाली गीतसंगीतमा उदाहरणीय कार्य गर्दै आउनुभएको छ । नेपाली साहित्य, गीत संगीतलाई केन्द्रविन्दूमा राखेर संचार क्षेत्रमा अहोरात्र खटिरहने संचारयोद्धा हुनुहुन्छ । छैठौं म्यूजिक खबर म्यूजिक अवार्डमा म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।
बुद्धिमान घिसिङलाई यस वर्षको म्यूजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गर्न लागिएको छ ।