साप्ताहिक संवाददाता
नेपालले यो प्रतियोगितामा कुनै पदक जितेन । प्रतियोगिता सुरु हुनुअघि नेपालले पदक जित्ने दाबी पनि गरेको थिएन । नेपालका लागि उपलब्धि के मात्र हो भने प्रतियोगिताकै क्रममा नेपालमा पहिलो पटक युथ र जुनियर स्तरका खेलकुद आयोजना गर्ने आधार तयार भएको छ । अब नेपाली भारोत्तोलनले यही आधारमा टेकेर भविष्यका लागि राम्रा खेलाडी उत्पादन गर्न सक्नेछ । प्रतियोगिताकै लागि भनेर नेपालले पहिलो पटक टिम तयार पारेको थियो ।
सुरुमा नेपाल भारोत्तोलन संघले ४० जना खेलाडीलाई छनौट गरेर प्रशिक्षण दिएको थियो । त्यसबाट उत्कृष्ट १३ खेलाडी छनौट भएयता उनीहरूले प्रतियोगितामा आफ्नो चुनौती प्रस्तुत गरे । विश्व भारोत्तोलनमा एसिया नै महाशक्ति भएकाले नेपालले पदकको आशा गर्न पनि सकेको थिएन, तर जति पनि खेलाडीले सहभागिता जनाए, उनीहरू सबैले आ–आफ्नो प्रदर्शनमा सुधार गरे ।
नेपाली भारोत्तोलनका लागि सबैभन्दा ठूलो उपलब्धि रह्यो, महिलातर्फ ६ वटा राष्ट्रिय कीर्तिमान बन्नु । कमला श्रेष्ठ र सञ्जु चौधरीले ती कीर्तिमान कायम गरेका हुन् । कमला र सञ्जुलाई भविष्यमा नेपाली भारोत्तोलनका स्टार खेलाडी मानिएको छ ।
सुनसरीकी २० वर्षीया कमलाले स्न्याचमा ६७ किलोग्राम तथा क्लिन एन्ड जर्कमा ८५ किलोग्रामसहित कुल १ सय ५२ किलोग्राम उचाल्दै आफ्नै कीर्तिमानमा सुधार ल्याइन् । उनले पुरानो कीर्तिमानभन्दा स्न्याचमा १ किलोग्राम र क्लिन एन्ड जर्कमा ६ किलोग्रामसहित कुल ७ किलोग्राम बढी उचालेकी हुन् । कमलाले गत वर्ष राजविराजमा भएको सातौं राष्ट्रिय खेलकुदमा स्न्याचमा ६६ तथा क्लिन एन्ड जर्कमा ७९ गरी कुल १ सय ४५ किलोग्राम उचाल्दै झन्ट कटवालको कीर्तिमान तोडेकी थिइन् । कमला १२ औं दक्षिण एसियाली खेलकुदमा भने वास आउटको सिकार भएपछि पदक जित्ने अवसरबाट वञ्चित भएकी थिइन् ।
कमलाले भनिन्— कीर्तिमान बनाउन पाउँदा खुसी छु । अर्कातर्फ नेपालगन्जकी १८ वर्षीया सन्जुले ५३ किलोग्राम स्पर्धाको स्न्याचमा ६० किलोग्राम तथा क्लिन एन्ड जर्कमा ८० किलोग्रामसहित कुल १ सय ४० किलोग्राम उठाएर देवी चौधरीले सातौं राष्ट्रिय खेलकुदमा बनाएको राष्ट्रिय कीर्तिमान तोडेकी छिन् । सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा देवीले स्न्याचमा ५९ किलोग्राम तथा क्लिन एन्ड जर्कमा ७९ किलोग्रामको कीर्तिमानी प्रदर्शन गरेकी थिइन् ।
पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सन्जुले भनिन्— कीर्तिमान बनाउने कुरा सोचेकी पनि थिइनँ । त्यसैले एकदम खुसी छु । उनले दुवै कीर्तिमान दोस्रो प्रयासमा बनाएकी थिइन् । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकाले केही नर्भस भइयो । त्यसैले प्रशिक्षण अनुरूपको प्रदर्शन भने गर्न सकिनँ, –सञ्जुको भनाइ थियो ।