साप्ताहिक संवाददाता
करिब ४१ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमा फकने भएका छन् । नेपालमा नाटक नगरेको ४१ वर्ष भएपनि भारतमा उनले ३६ वर्षअघिसम्म नाटक गरेका थिए । सुलक्षण भारतीको निर्देशनमा तयार हुँदै गरेको नाटक ‘लाटीको छोरो’मार्फत पहाडी रंगमञ्चमा पर्किन लागेका हुन् ।
‘समय व्यस्तताका कारण चाहेर पनि म नाटकमा फर्किन सकिरहेको थिइन्,’ अभिनेता पहारीले भने, ‘अहिले यो नाटकमा काम गर्न पाउनुलाई म संयोग मान्छु । नाटकमा रिहर्सल गर्न जाँदा अहिले म आफूलाई ३१–३२ वर्षको ठिटो ठानिरहेको हुन्छु । ऐनमा हेर्दामात्र बुढो भएको महसुस हुन्छ ।’
यो नाटकमार्फत नेपाली रंगमञ्चमा पहिलोपल्ट प्रोडक्सन डिजाइनको अभ्यास गरिदैछ । प्रोडक्सन डिजाइनको काम कलाकार प्रकाश दाहालले गर्दैछन् । प्रोडक्सन डिजाइनरले नाटकको सेट, लोकेसन, प्रकाश, कलाकार लगायत नाटक निर्माणका सम्पुर्ण प्रक्रियामा सिर्जनात्मक ढंगले डिजाइन गर्ने काम गर्छ । ‘डिजाइनरले निर्माता र निर्देशकविच पुलको काम गरिरहेको हुन्छ, नाटकको प्रोडक्सनलाई पुर्ण रुपमा सफल बनाउन भुमिका खेलिरहेको हुन्छ र हामीले गर्न खोजेको यही हो,’ प्रकाशले भने ।
नेपाली रंगमञ्च अहिलेसम्म व्यवसायिक हुन नसकेको प्रकाशको गुनासो थियो । उनले नाटकलाई व्यवसायिक बनाउन आफूहरुले ‘लाटीको छोरो’मार्फत प्रयास थालेको बताए ।