साप्ताहिक संवाददाता
आखिर युसेन बोल्ट पनि आममानिसजस्तै रहेछन्, आफ्नो अन्तिम सय मिटर दौड जित्न सकेनन् । यो एक अन्तिम दौड छाडेर उनले अरू सबै प्रतिस्पर्धामा विजयी झन्डा गाड्दै आएका थिए । लन्डनमा चलिरहेको एथलेटिक्सको वल्र्ड च्याम्पियनसिप उनको अन्तिम प्रतियोगिता हुने तय थियो । यस्तोमा विश्व एथलेटिक्सका सबैभन्दा तीव्र गतिका धावक बोल्टले अन्तिम पटक सय मिटर दौडिने पनि निश्चित थियो । सबैको आशा थियो, यो दौड पनि उनैले जितून् तर त्यस्तो भएन ।
भनिन्छ, खेलाडीको जीवनमा सुरुवातजत्तिकै उत्कृष्ट भए पनि त्यसलाई त्यत्तिकै उत्कृष्ट पूर्णविराम लगाउन कठिन हुन्छ । बोल्टको कथा पनि त्यस्तै रह्यो । यसपटकको सय मिटर दौडमा उनी तेस्रो स्थानमा आए । जमैकाका यी धावक अहिले ३० वर्षका भैसकेका छन्, त्यसैले उनको शरीर पनि पहिलेको जस्तो छैन । पछिल्लो समय उनी पूर्णत: फिट पनि थिएनन्, चोटको समस्याबाट गुज्रिरहेका थिए । अन्तत: यही कारणले उनी आफ्नो अन्तिम सय मिटर दौडमा शीर्ष स्थानमा रहन सकेनन् ।
उक्त प्रतिस्पर्धामा पहिलो हुने खेलाडी थिए, अमेरिकाका जस्टिन ग्याटलिन । बेइजिङमा भएको ओलम्पिकमा यिनै ग्याटलिनलाई पछाडि पार्दै विश्व एथलेटिक्समा बोल्ट युग सुरु भएको थियो । तिनै ग्याटलिनले अन्तिम दौडमा बोल्टलाई पछाडि पारे, तर ग्याटलिन उत्तिकै विवादास्पद खेलाडी पनि हुन् । प्रतिबन्धित औषधीको प्रयोगमा दुईपल्ट समातिएका ग्याटलिन लामो समय प्रतिबन्धबाट समेत गुज्रिसकेका छन् । त्यसैले उनले यसपटकको दौड जित्दा कोही खुसी हुन सकेनन् ।
लन्डनमा सम्पन्न उक्त दौड हेर्न जति उपस्थित थिए, सबै ग्याटलिनको यो उपलब्धिबाट उल्टै चिन्तित थिए । यसको कारण थियो, बोल्टबिनाको अबको एथलेटिक्स कस्तो हुनेछ भन्ने चिन्ता । बोल्ट त्यस्ता खेलाडी हुन्, जो कहिल्यै प्रतिबन्धित औषधी प्रयोगमा मुछिएनन् । उनी अहिलेसम्मकै सबैभन्दा सफा खेलाडी हुन्, डोपिङ प्रकरणमा । प्रतिबन्धित औषधीको प्रयोगबिना पनि उत्तिकै सफल खेलाडी हुन सकिन्छ भन्ने सबैभन्दा ठूलो प्रमाण बनेका थिए, बोल्ट ।
यिनै कारणले गर्दा बोल्टलाई विश्व एथलेटिक्समा अहिलेसम्मकै सबैभन्दा महान् खेलाडी मानिएको छ । यति मात्र होइन, समग्र विश्व खेलकुदमै पनि उनलाई बक्सिङका मोहम्मद अलि अनि फुटबलका पेलेको समकक्षमा राखेर हेरिन्छ । बोल्ट आफैं पनि प्रतिबन्धित औषधी प्रयोगका घोर विरोधी हुन् । उनले पछिल्लो अन्तर्वार्तामा भनेका थिए, यस्ता शक्तिबद्र्धक औषधी प्रयोग गर्ने खेलाडी बढ्दै जाने हो भने एथलेटिक्स खेल आफै मरेर जानेछ ।
दुखद संयोग कस्तो रह्यो भने यस्ता महान् खेलाडीको अन्तिम सय मिटर दौड जित्ने खेलाडी रहे, डोपिङको प्रतीक मानिने ग्याटलिन । यसै कारणले पनि एथलेटिक्स प्रेमीहरू चिन्तित भएका हुन् । धेरैले केसम्म पनि भनेका छन् भने बोल्टले आफ्नो महानतालाई सिद्ध गर्न त्यो अन्तिम दौड जित्न आवश्यक पनि थिएन । उनी यसअघि नै महान् खेलाडी सावित भैसकेका छन् ।
सय र दुई सय मिटर दौडको विश्व कीर्तिमान बोल्टकै नाममा छ । ओलम्पिकमा लगातार यी दुई स्पर्धामा तीनपल्ट स्वर्ण जित्ने खेलाडी हुन्, बोल्ट । ओलम्पिकमा उनले जितेको स्वर्णको संख्या ८ छ । उनले जितेको एक स्वर्ण साथी खेलाडी डोपिङमा परेपछि खोसिएको थियो, अन्यथा उनी तीन संस्करणको ओलम्पिकमा ३–३ स्वर्ण जित्ने खेलाडी हुने थिए । वल्र्ड च्याम्पियनपिसमा पनि उनको उस्तै दबदबा थियो । वास्तवमै बोल्टबिनाको विश्व एथलेटिक्सको कल्पना गर्न सकिँदैन ।