साप्ताहिक संवाददाता
अभिनेत्री अश्लेषा ठकुरी चलचित्र प्रेमगीत–२ को उत्साहजनक व्यवसायबाट उत्साहित छिन् । चलचित्र प्रदर्शन हुनुअघि सार्वजनिक भएका ट्रेलर तथा गीतहरू हेरेपछि दर्शकले अश्लेषालाई नराम्री भनेर टिप्पणी गरेका थिए । अश्लेषाले पनि सामाजिक सञ्जालका ती प्रतिक्रिया पढेकी रै’छिन् ।
साप्ताहिकसँगको पछिल्लो भेटमा समेत अश्लेषाले आफ्नो सुन्दरताको भन्दा अभिनयको मापन हुनुपर्ने उल्लेख गरिन् । त्यसो त चलचित्र प्रेमगीत–२ की यी नायिकाले चलचित्रको एउटा संवादमा समेत आफू अभिनेता प्रदीप खड्काजत्तिको राम्री नभएकाले प्रदीपले आफूलाई प्रेमिका बनाउन नचाहने बताएकी छिन् । यद्यपि वास्तविक भैदियो ठीक उल्टो ।
यतिबेला अश्लेषाको अभिनयले चौतर्फी प्रशंसा पाइरहेको छ । प्रेममा पीडा पनि हुन्छ भन्ने भावनालाई जीवन्त शैलीमा प्रस्तुत गरेकी अश्लेषाले चलचित्रमा जोडदार अभिनय गरेकी छिन् । दर्शकलाई उनको सुन्दरताभन्दा अभिनयले लठ्ठ पार्छ । नेपाल, थाइल्यान्ड तथा बर्मामा छायांकन गरिएको यो चलचित्रको सफलताले अश्लेषालाई पक्कै फाइदा पुर्याउनेछ ।