म ३६ वर्षीय विवाहित पुरुष हुँ । मसँग भएको एउटा छालाको बेल्टसँगको सम्पर्क र वासनाले यौन उत्तेजना भएको महसुस हुन्छ । करिब १५ वर्षको उमेरदेखि नै मैले छालाको वासनामा यौन उत्तेजना महसुस गर्न थालेको हुँ । यौनसम्पर्कका क्रममा बेल्ट लगाएर आनन्द लिन खोज्दा मेरी श्रीमती अनौठो मान्छिन् । उनले विभिन्न प्रश्न गर्ने क्रममा हामीहरूबीच कहिलेकाहीँ झगडा पनि हुन्छ । उनी मलाई यस्तो व्यवहार कायम रहने हो भने सम्बन्ध विच्छेद गर्छु्ु भनेर धम्क्याउँछिन् । यो मेरो मनोवैज्ञानिक समस्या हो । पहिले–पहिले मलाई यो समस्या हो भन्ने लाग्दैनथ्यो, बरु रोमान्टिक विचारजस्तो लाग्थ्यो तर हिजोआज समस्या नै हो कि जस्तो लाग्न थालेको छ । यो कस्तो समस्या हो ?
- मिस्टर
कुनै पनि वस्तुको प्रयोग वा उक्त वस्तुलाई हेरेरकै भरमा यौन उत्तेजना हुनु स्वभाविक भए पनि यदि यस्तो व्यवहारले आफ्नो पार्टनरलाई दबाब महसुस हुन्छ र हिंसा हुन थाल्छ भने त्यो स्वभाविक होइन । चर्चित मनोदार्शनिक सिग्मन्ड फ्रायडले यस्तो व्यवहार लामो समयदेखिको डरले ल्याएको हुन सक्ने बताएका छन् । डोनाल्ड विनिकटको भनाइअनुसार बाल्यकालमा जस्तै औंला चुस्ने, मन परेको खेलौना वस्तु आफ्नै साथमा राख्नुपर्ने जस्ता व्यवहार, वयस्कमा यौन उत्तेजनाका लागि नभैनहुने वस्तु हुन पुग्छन् । पुराना मनोविद्हरूले यस्तो कुनै आघात्जन्य घटना बाल्यावस्थामा भएका कारण आउन सक्ने बताएका छन् ।
तपाईंको समस्या अन्य पुरुषहरूमा पनि देखिएकाले यस विषयमा विभिन्न अध्ययन–अनुसन्धानहरू भएका छन । यो दुर्लभ समस्या वा तपार्इंमा मात्र देखिएको समस्या होइन । ती अध्ययनहरूले देखाएअनुसार मानिसहरू छालामा मात्र होइन, अन्य कुरामा पनि यौन आकर्षित हुने तथ्य पत्ता लागेको छ । कुनै पनि वस्तुमा हुने आकर्षणलाई आधार मानेर हुने यौन व्यवहारलाई फेटिजम भनिन्छ । यसको उद्गम सन् १८०० को अन्त्यतिर भएको हो । अनुसन्धानअनुसार फेटिस व्यवहारमा महिलाभन्दा बढी पुरुष छन् । ४ सय व्यक्तिसँग यही विषयलाई लिएर एउटा अनलाइन अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धान मानिसहरू अन्य कुन वस्तुसँग आकर्षित हुन्छन् भन्नेमा केन्द्रित थियो, जसमा ४ सयमध्ये आधाले उनीहरू खुट्टा र पैतालाबाट आकर्षित भएको बताए । २० जनामध्ये एक जनाले शरीरको तरल पदार्थ जस्तै पिसाब, रजस्वलाको रगत वा स्तनबाट आउने दूधबाट यौन उत्तेजना हुने बताए ।
१० जनामध्ये एक जनाले शरीरको बनावटले आफूलाई प्रभावित गर्ने प्रतिक्रिया दिए । कतिपयले कम आकर्षण केश, पेट तथा दाँतबाट प्रभावित हुने बताए । एकतिहाइ व्यक्तिले उनीहरू जुत्ता वा बुटबाट आकर्षित हुने प्रतिक्रिया दिएका थिए । अर्को एकतिहाइले स्कर्ट वा मोजाले पनि आफूहरूलाई यौन आकर्षित गर्ने विचार व्यक्त गरेका थिए । १ प्रतिशतले घडी, केशमा लगाउने क्लिप आदिले आकर्षित गर्ने प्रतिक्रिया दिएका थिए । बाँकीले भित्री वस्त्रले आफूहरूलाई आकर्षित गर्ने बताए ।
यदि तपाईंको यो व्यवहारले तपाईंकी श्रीमतीलाई अप्ठ्यारो सिर्जना गरिरहेको छ भने यस विषयमा उहाँसँग कुरा गर्नु आवश्यक हुन्छ । तपाईंमा देखिएको यो व्यवहार समस्या हो कि होइन भन्ने कुरा उहाँले पनि प्रस्टसँग बुझ्न जरुरी छ । हाल देखिएको तपाइहरूबीचको यौनइच्छामा मात्र भिन्नतामा सीमित नरही सामाजिक समस्या सुरु हुन सक्छ र अन्तरालमा गएर आफैंलाई हानि हुन पुग्छ । विश्व स्वास्थ्य संगठनका अनुसार यसको उपचार सम्भव छ र त्यसका लागि विभिन्न किसिमको उपचार पद्धति अपनाउन सकिन्छ ।
मनोविद्को सहयोगमा साइकोथेरापी, कगनेटिभ बिहेभिएर थेरापीले मद्दत गर्न सक्छ, जसमा विगतमा भएको भावनात्मक समस्यामा भन्दा पनि हालमा देखिएको समस्यामा केन्द्रित रहेर उपचार गरिन्छ । यसमा औषधि–उपचार पनि गराउन सकिन्छ, जसका लागि मनोचिकित्सककहाँ सम्पर्क गर्न सकिन्छ । यदि तपाईं आफैंले आफ्नो पार्टनरलाई बुझाउन गार्हो हुन्छ भने सम्बन्धसम्बन्धी विशेषज्ञता हासिल गरेका मनोविद्को सहयोग लिन सक्नुहुन्छ, जसका कारण खुलस्त रूपमा एक–अर्काप्रति प्रस्ट हुन मद्दत मिल्छ ।