साप्ताहिक संवाददाता
हिजोआज सबै डिजिटल डिभाइसमा मेमोरी कार्डको प्रयोग बढ्दो छ, जसबाट आफ्नो डिभाइसको स्टोरेज क्षमता बढाउन सकिन्छ । स्मार्टफोन, ट्याब्लेट, म्युजिक प्लेयर, डिजिटल क्यामेरा, ल्यापटप आदिमा एसडी कार्ड हुन्छ ।
प्रत्येक डिभाइसका लागि अलग–अलग किसिमका एसडी कार्ड हुन्छन् र प्रत्येकको स्पिड तथा स्टोरेज क्षमता पनि फरक–फरक हुन्छ । त्यसैले एसडी कार्ड किन्नुभन्दा पहिले आफ्नो आवश्यकतामा ध्यान पुर्याउनुपर्छ । व्यवसायिक फोटोग्राफरलाई तीव्र स्पिड भएको एसडी कार्डको आवश्यकता पर्छ भने त्यसको स्टोरेज क्षमता पनि धेरै चाहिन्छ ।
अल्ट्रा हाइ स्पिड स्टोरेज भएको कार्ड व्यवसायिक प्रयोगका लागि हो जसका लागि अलिक बढी रकम खर्चिनुपर्ने हुन्छ । यो कार्डले सबै डिभाइसमा सपोर्ट गर्दैन । प्रत्येक एसडी कार्डमा त्यसको स्पिडको जानकारी दिइएको हुन्छ, जसका कारण कार्ड छान्न समस्या पर्दैन ।
मेमोरीकार्ड माइक्रो, मिनी, मिडियम तथा स्टान्डर्ड साइजमा उपलब्ध हुन्छन् । कुनै एक एसडी कार्ड फरक साइज भएको डिभाइसमा प्रयोग गर्न सकिँदैन । फरक–फरक साइजका एसडी कार्डलाई आफ्नो ल्यापटपदेखि स्मार्टफोनसम्ममा प्रयोग गर्न सकिन्छ । माइक्रो र मिनी एसडी कार्डका लागि एडेप्टर पनि उपलब्ध हुन्छन्, जसको प्रयोग क्यामेराबाट अन्य डिभाइसमा सजिलै गर्न सकिन्छ ।
स्टान्डर्ड एसडी कार्ड को स्टोरेज १ देखि ४ गिगाबाइटसम्म हुन्छ । दैनिक प्रयोगका लागि एसडीएचसी एसडी कार्ड प्रयोग गर्न सकिन्छ । यसको स्टोरेज क्षमता २ देखि ३२ गिगाबाइटसम्म हुन्छ । एसडीएक्ससि कार्डमा भने ३२ गिगाबाइटदेखि २ टेराबाइटसम्मको स्टोरेज उपलब्ध छ ।