कुनै समय सामान्य परिवारको मानिसका लागि सेनामा प्रवेश भनेको तल्लो स्तरमा सीमित थियो । अधिकृत स्तरमा प्रवेश गर्न सेनाको माथिल्लो तहमा आफ्नो मानिस हुनुपर्छ भन्ने मान्यता थियो तर अहिले योग्यता र क्षमता भएका २१ वर्ष उमेर नकटेका, कक्षा १२ उत्तीर्ण युवा वा युवतीले सहज रूपमा अधिकृत क्याडरका लागि प्रतिस्पर्धा गर्न सक्छन् । अझ लोकसेवा आयोगबाट लिखित परीक्षा लिने निर्णय भएपछि सैनिक सेवामा युवाहरूको आकर्षण बढेको छ ।
लोकसेवाले परीक्षा लिए पनि प्रारम्भिक फिट्नेस र जनरल आइक्यु भने सेना आफैंले लिने गरेको छ । यी दुई चरण पार गरेपछि मात्र लोकसेवाको परीक्षामा सामेल हुन पाइन्छ । अन्य सरकारी अधिकृतका लागि लोकसेवाले नै लिखित तथा मौखिक परीक्षा लिए पनि सेनाको अधिकृत क्याडरका लागि भने उसले लिखित मात्र परीक्षा लिन्छ । त्यसपछिका तीन चरणका परीक्षा सेनाका विशेषज्ञहरूद्वारा लिइन्छ । यी सबै परीक्षा लिइसकेपछि मात्र सेनाको अधिकृतका लागि योग्य मानिन्छ । यसरी योग्य भएका युवा/युवतीले सेनाको खरिपाटी तालिम केन्द्रमा प्रदान गरिने दुई वर्षको कोर्स पूरा गरेपछि सेनाको नेतृत्व लिन सक्ने अधिकृत तयार हुन्छन् ।
सेनाको अधिकृत स्तरमा योग्यता पुगेका जुनसुकै क्षेत्रका युवाहरूको प्रवेश सुरु भएसँगै उपत्यकामा पूर्व तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटहरू पनि सञ्चालनमा छन् । यस्ता इन्स्टिच्युटले प्रारम्भिक रूपमा आवश्यक योग्यता, शारीरिक तथा मानसिक तयारीका लागि सहयोग गर्ने डिमा एकेडेमी बागबजारका सञ्चालक प्रितम खड्का बताउँछन् । ‘हामी क्यान्डिडेटहरूलाई आधारभूत जानकारी गराउनुपर्ने कुरादेखि लिएर लोकसेवामा कसरी लेख्ने अनि त्यसपछिका विभिन्न परीक्षामा प्रस्तुत हुने विधि सिकाउँछौँ ।’ खड्का भन्छन्– ‘कतिपय युवा सिधै प्रतिस्पर्धामा जान्छन् र साना–साना कुरा पनि थाहा नभएर प्रारम्भिक चरणबाटै बाहिरिन्छन्, त्यस्ता सामान्य त्रुटिबाट पहिले नै सजग हुनु राम्रो हुन्छ ।’
यस्ता इन्स्टिच्युटले शारीरिक अवस्थाको जानकारी, प्रारम्भिक व्यायामको तालिम, लोकसेवा तयारी र त्यसपछिका चरणमा लिइने परीक्षाका सम्बन्धमा अध्ययन–अध्यापन गराउँछन् । आफू सिधै गएर दिइने परीक्षार्थीभन्दा इस्न्टिच्युटको माध्यमबाट जाने क्याडरहरू बढी उत्तीर्ण भएको खड्का दाबी गर्छन् ।
उपत्यकामा सेनाका अधिकृत स्तरको जागिरका लागि सहजीकरण गर्न डिमा एकेडेमी बागबजार, कोलम्बिया एकेडेमी, बानेश्वर, भ्यू इन्टरनेसनल बानेश्वर, एसएस इटडी पुरानो बसपार्क, ग्लोबल सेक्युरेटी फाउन्डेसन, सडमा एकेडेमी फाउन्डेसन तथा साइनिङ स्टार जस्ता ट्रेनिङ इन्स्टिच्युटहरू पनि सक्रिय छन् ।
यी चरण पार गर्नुपर्छ
शारीरिक परीक्षण
शैक्षिक योग्यता प्लस २ उत्तीर्ण, उमेर २१ वर्ष नकाटेको, शारीरिक रूपमा सामान्यभन्दा फरक नभएको युवा–युवतीले दरखास्त खुलेका बेला आवेदन दिन सक्छन् । पहिले आफ्नो शारीरिक अवस्थाका बारेमा पूर्ण जानकारी हुनुपर्ने सेनामा लामो समय शारीरिक प्रशिक्षकका रूपमा काम गरेर भर्खरै रिटायर भएका दिनेश खड्का बताउँछन् । सेनाको जुनसुकै तहमा प्रवेश गर्दा पनि सुरुमा शारीरिक जाँच अनिवार्य रहेको उनको भनाइ छ । ‘केशको रौंदेखि खुट्टाको पैतालासम्म जाँच हुन्छ ।’ खड्का भन्छन्– ‘यी कुरा सामान्यभन्दा फरक (एवनर्मल) देखिनु हुँदैन ।’
विशेष गरी चोटपटक लागेको छ वा ट्याटु बनाएको छ भने प्रयास नै नगरे हुन्छ । आँखामा दीर्घकालीन समस्या भएको, गुप्तांगमा समस्या भएको, अण्डकोष ठूलो–सानो भएको, खुट्टा जोडिनेजस्ता समस्या नभएको हुनुपर्छ । यस्ता कतिपय समस्या दीर्घकालीन हुन्छन्, जसमा सुधार गर्न सकिँदैन भने कतिपयलाई सुधार गर्न सकिने खड्काको भनाइ छ । तोकिएको शैक्षिक एवं शारीरिक योग्यता पुगेकाहरूको विभिन्न किसिमका चिकित्सकीय जाँच गरिन्छ । जस्तो दीर्घ रोग नभएको, पायल्स वा ब्लडप्रेसर नभएको हुनुपर्छ ।
प्रारम्भिक व्यायाम
शारीरिक उचाइ पुरुषको हकमा ५ फुट ५ इन्च अग्लो हुनुपर्छ, महिलाको हकमा ५ फुट २ इन्च । त्यसैगरी वजन पुरुषको हकमा ५० किलोग्राम र महिलाको हकमा ४० किलोग्राम न्यूनतम चाहिन्छ । पुरुषको हकमा छाती नफूलाउँदा ३२ इन्च र फूलाउँदा ३४ इन्च हुनुपर्छ । महिलालाई यो आवश्यक छैन । त्यसैगरी आँखाको पावर प्लस माइनस २ हुनुपर्छ । शारीरिक व्यायाममा छोटो दूरीको दौडमा ३ सय मिटर पुरुषले ५५ सेकेन्डभित्र र महिलाले ६५ सेकेन्डभित्र पूरा गर्नुपर्छ । लामो दौडतर्फ पुरुषले १६ मिनेटमा २ माइल पार गर्नुपर्ने हुन्छ भने महिलाले २१ मिनेटभित्र उक्त दूरी पार गर्नुपर्छ । त्यस्तै पुरुष महिलाको सेट अप क्रमश: १५ र ८, पुस अप १० र ५, चेन अप पुरुषले ३ पटक गर्नुपर्ने हुन्छ । यी सबै अभ्यास गर्दा कसरी बस्ने कसरी उभिने, कसरी प्रस्तुत हुने भनेर पूर्व तयारी कक्षामा सिकाइने खड्काले बताए ।
आईक्यू
शारीरिक चरणमा उत्तीर्ण भएपछि ६० नम्बरको आईक्यू (सामान्यज्ञान) को लिखित परीक्षा लिइन्छ । उक्त परीक्षामा बहुवैकल्पिक प्रश्नहरू हुन्छन् । आधा घण्टाभित्र ती प्रश्नको उत्तर दिइसक्नुपर्छ । यसमा उत्तीर्णांंक ४० नम्बर हुन्छ ।
लोकसेवा चरण
अधिकृतका लागि आवेदन दिएपछि सेनाले नै लिने तिन चरणका परीक्षा उत्तीर्ण गरेपछि लोकसेवाको परीक्षा सामना गर्नुपर्ने हुन्छ । लोकसेवामा विशेष गरी नेपाली, अंग्रेजी, गणित तथा आईक्यू टेस्ट गरी चार विषयको परीक्षा लिइन्छ । आईक्यूबाहेक अन्य विषय १००/१०० पूर्णांकका हुन्छन्, जसको उत्तीर्णांक ४० हुन्छ भने आईक्यू ६० नम्बरको हुन्छ । जुन ३० मिनेटमा सक्नुपर्ने हुन्छ, त्यसको उत्तीर्णांक २४ हुन्छ । अंग्रेजी, गणित र नेपालीको कक्षा १०, ११ र १२ को पाठ्यक्रममा आधारित भएर प्रश्न सोधिन्छ । त्यसमा ८० पूर्णांकको वस्तुगत र २० नम्बरको बहुबैकल्पिक वस्तुगत प्रश्न हुन्छन् ।
नेपाली विषयमा व्याकरण, प्रतिवेदन तयार, टिप्पणी लेखन, निबन्ध, चिठी लेखन, अनुच्छेद लेखन, सूचना लेखन, व्याकरण, वादविवाद, मनोसंवाद आदि विषय हुन्छन् । ती सबै विषयमा नेपाली राष्ट्रियतासँग जोडिएर सोधिने प्रश्न हुन्छन् । उम्मेदवारको सामाजिक मनोवादलाई पनि विशेष अध्ययन गर्ने खालका प्रश्न हुन्छन् । लोकसेवाको तयारी गर्दा विशेष गरी देशभक्तिको भावना दर्साउन सक्ने र देशलाई आफूले कस्तो योगदान गर्न सक्छु भन्ने उत्तर प्रभावकारी हुने विगत लामो समयदेखि लिखित परीक्षाको तयारी गराउँदै आएका शिक्षक अभिराज अधिकारी बताउँछन् ।
सेनाबाट पुन: परीक्षा
लोकसेवाबाट, लिखितमा उत्तीर्ण भएपछि पुन: सेनाको लिखित एवं मौखिक आदि तीन चरणका परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ । अधिकृतका लागि वर्षौंदेखि खारिएका विज्ञहरूले विभिन्न कोणबाट प्रश्न सोध्छन्, व्यवहारिक तथा सैद्धान्तिक पक्ष हेर्छन् जसको क्यान्डिडेटले सामना गर्नुपर्ने हुन्छ । यसमा एउटा सेनाको अधिकृत हुन उसमा उपयुक्त ज्ञान तथा सीप छ छैन हेरिन्छ । व्यक्तिको व्यक्तित्वदेखि उसको विवेकको अवस्था, नेतृत्व गर्ने क्षमता आदि कुरा विज्ञबाट सूक्ष्म रूपमा अध्ययन गरिने पूर्वप्रमुख सेनानी प्रदीप कार्की बताउँछन् । लिखित, मौखिक र तालिमका माध्यमबाट उक्त मूल्यांकन हुने उनको भनाइ छ ।
त्यस क्रममा उम्मेदवारको व्यवहारलाई १५ भागमा बाँडी चारवटा फ्याक्टरमा अध्ययन गरिन्छ । यी सबै फ्याक्टरमा उपयुक्त सावित भएपछि मात्र कुनै पनि युवा/युवती अफिसर क्याडरका लागि योग्य हुन्छन् । ‘यी चरण उत्तीर्ण गरेपछि बल्ल अधिकृतको क्यान्डिडेटका रूपमा एउटा उम्मेदवार छानिन्छ ।’ कार्की भन्छन्– ‘अब उ दुई वर्षको तालिम पूरा गरेपछि मात्र सैनिक अधिकृत हुन्छ ।’ जसका लागि खरिपाटीस्थित सैनिक तालिम केन्द्रमा उसले कडा तालिम लिनुपर्ने हुन्छ । यदि यसबीच कुनै किसिमको शारीरिक समस्या आए सैनिक अधिकृत हुने अवसरबाट बञ्चित हुनुपर्छ ।
सैनिक अधिकृत हुन चाहिने पूर्वनिर्धारित गुण
अन्य चरण पार गरेपछि सेनाको आफ्नै तीन तरिकाको जाँच हुन्छ जसलाई मैले लिखितम, बकितम र गरितम भन्ने गरेको छु । यो परीक्षा लेखेर, भनेर र आफैं गरेर दिनुपर्छ, जसमा विज्ञले नम्बर दिन्छन् र सवै नम्बर जोडी उसको क्षमताको मूल्यांकन गरिन्छ । यी तीन चिज गर्न मानिसका गुणहरूलाई १५ भागमा बाँडी ४ वटा फ्याक्टरमा अध्ययन गरिन्छ ।
फ्याक्टर–१
व्यक्तिको बौद्धिकता र विषयवस्तुको ज्ञान कति छ ?
संगठनात्मक क्षमता छ/छैन
तर्क गर्न सक्ने क्षमता छ/छैन
अभिव्यक्ति क्षमता छ/छैन
फ्याक्टर–२
समाजमा घुलमिल गर्न सक्ने क्षमता छ/छैन
जिम्मेवारीको भावना छ/छैन
सहयोगी भावना छ/छैन
फ्याक्टर–३
(यो फ्याक्टर पहिलोको वाइ प्रोडक्ट हो )
कुनै पनि काम गर्ने उत्साह (आफैंले पहल लिन्छ कि अरूको पछि लाग्छ ) कस्तो छ ?
आत्मविश्वास कति छ ?
समूह परिचालन गर्न सक्ने क्षमता छ/छैन
तत्कालीन निर्णय लिन सक्ने क्षमता छ/छैन
बोलीमा मिठास छ/छैन
फ्याक्टर–४
आफूले भनेको कुरामा कस्तो दृढता छ ।
शारीरिक तथा मानसिक तन्दुरुस्ती
सहासिलो पन/आँटिलोपन