साप्ताहिक संवाददाता
भीषण वर्षापछि तराईमा बाढीको प्रकोप सुरु भयो । गत शनिबार नै धुर्मुस—सुन्तली फाउन्डेसनले राहत लिएर तराई झर्ने निर्णय गरिसकेको थियो । त्यहीअनुसार फाउन्डेसनले राहत सामग्रीहरू तयार पार्यो । आइतबार पूरै तराईमा बाढीको ताण्डव थियो । निरन्तरको वर्षाका कारण मानिसहरू बगेका, गाउँ डुबानमा परेका, सयौं घरपरिवार विस्थापित भएका, ठाउँ—ठाउँमा सडक भत्किएका, पहिरो गएका, पुल बगाएका खबरहरू आइरहेका थिए ।
तराईमा निम्तिएको त्राहीमामको अवस्थाले काठमाडौंमा एकछिन पनि बस्न मन लागेन् । कतिबेला तराई झरु भैरहेको थियो । आइतबार बिहानै हामी काठमाडौंबाट महोत्तरीका लागि हिँड्यौं । मैले बर्दिवासमा साथीहरूलाई अघिल्लो दिननै राहत सामग्रीहरू तयार पार्न लगाइसकेको थिए । आइतबार साँझ ४ बजे म बर्दिवास पुगे । त्यहाँ प्रदेश नम्बर २ को होटल व्यवसायी संघका अध्यक्ष हिरा गौतम आदि साथीहरू हुनुहुन्थ्यो । उहाँहरूको टोली राहत सामग्रीसहित तयारी अवस्थामा थियो । साँझ अबेर बर्दिवास पुगे पनि सिंगो गाउँ नै डुबानमा परेको र मानिसहरू उठिबास भएका दृश्यले बर्दिवासमै रोकिरहन सकिन् । रात परे पनि हामीले राहत कार्य अघि बढायौं ।
त्यही साँझ शुभ स्वस्तिक हस्पिटल, बर्दिवासको टोली तथा महोत्तरीको जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधिसहित औषधी, टर्चलाइट, पकाउने भाडाकुँडाहरू, चिउरा, दालमोठ, भुजिया, मुरै, पानी आदि लिएर हामी १० बजे भंगहा—४ रामनगर पुग्यौं । त्यहाँको अवस्था पनि हृदयविदारक थियो । बाढीले पूरै डुबेको स्थिति । जता हेर्यो त्यतै धमिलो–मटैलो पानीको साम्राज्य । त्रासदिपूर्ण वातावरण । घर, खाद्यान्न, लत्ता कपडा पूरै डुबेको अवस्था । मानिसहरू भोकभोकै । ओढ्ने ओछ्याउने केही थिएन्, सबै बाढीले पुरेको वा बगाएको थियो । कतिसम्म भने प्यास लाग्दा पिउने पानी समेत पाइने अवस्था थिएन् । खानेपानीका पाइपहरू टुटेफुटेका, ट्युबेल बाढीले पूरै डुबाएको थियो । हामीले राहत सामग्रीमा पानी पनि लगेका थियौं । कतिपय ठाउँमा प्रवेश पनि निषेध गरिएको थियो भने कतिपय ठाउँमा उद्धार टोलीहरू पनि असुरक्षित हुने अवस्था थियो ।
भंगहामा उद्धार कार्य सम्पन्न भैसकेको रहेछ । मानिसहरू बाँचिन्छ होला भन्ने आशा व्यक्त गरिरहेका थिए । त्यहाँ चारवटा घर बाढीले बगाएको थियो, अरू सबै घर डुबानमा परेका थिए । सबै आफ्नो घर बनाइदिनुपर्यो भनेर विनय गर्न थाले । बर्दिवासबाट लगेको राहत सामग्री हामीले त्यहाँका ३७ परिवारलाई बाड्यौं । झाडापखाला लागेका बिरामीको उपचार गर्यौं र त्यही रात बर्दिवास फर्कियौं । त्यो रात बर्दिवासस्थित मुसहर बस्तीमा छिर्ने कुरा थियो तर, हामीले बनाएको मुसहर बस्ती सुरक्षित रहेकाले त्यहाँ गएनौं बरु विपद्मा परेका अरू बस्तीहरूमा केन्द्रित हुने तयारी गर्यौं ।
भोलिपल्ट (सोमबार) बिहानै बर्दिवासमा राहत सामग्री किनेर धनुषा पुग्यौं । सामग्री जुटाएर धनुषा जनकपुर उपमहानगरपालिका—१ स्थित मेहत्तर, मुसहर तथा पासवानहरूको संयुक्त दलित बस्तीमा पुग्यौं । जनकपुरका समाजसेवी रामआशिष यादव आदितको सूचनाका आधारमा हामी त्यहाँ पुगेका थियौं । त्यहाँ हामीले ८८ परिवारलाई चिउरा, दालमोठ, मुरै, बिस्कुट, पानी आदि राहत बाड्यौं । त्यहाँ पनि घरहरू भत्किएका, पानीमाथि घरहरू तैरिरहेको अवस्था थियो । मुसहर बस्ती निर्माण गरेको थाहा पाएपछि त्यहाँका मानिसहरूले पनि बस्ती बनाइदिन आग्रह गर्न थाले । उनीहरूले मलाई बाढीले घर बगाउनेहरूको नाम लिष्ट नै दिएका छन् ।
जनकपुरबाट हामी ढल्केबार हुँदै लहान पुग्यौं । लहानमा राहत सामग्री किनेर सप्तरीतिर लाग्यौं । सप्तरीको भारदह आसपासका गाउँमा उद्धार एवं राहत वितरणमा सक्रिय भयौं । भारदह पुग्दा हामीले त्यहाँको अवस्थाका सम्बन्धमा सोध्यौं कोसी बाँध किनारको बस्तीमा अझै मासिनहरू उद्धारको पर्खाइमा रहेको थाहा भयो । भारदहको कोसी बाँध किनारको बस्तीमा पुग्दा त्यहाँको अवस्था अझ मार्मिक थियो । घरहरू पूरै डुबेका । पानीका ठूला—ठूला ताल बनेका । बालबालिकाहरू बाढीको चपेटाबाट बाहिर आउन घरका ठूलाबडा र अरू सहाराको खोजी गरिरहेका । त्यहाँ हामी बालबालिका एवं वृद्ध–वृद्धाको उद्धारमा सहभागी भयौं । ‘त्यतिबेला मेरो मनमा एकदमै मानवीय भावना पलायो, आफू डुब्छु भन्ने नै लागेन् । एक किलोमिटर डुबान भएको क्षेत्रमा कम्मर डुवाउने पानीमा हिँडेर हामीले धेरैको उद्धार गर्यौं ।
महोत्तरी, धनुषा, सिरहा र सप्तरी हुँदै मंगलबार दिउँसो म सुनसरी आइपुगेको छु । तराईको अवस्था अहिले निकै दयनीय छ । मानिसहरूसँग न बस्ने घर छ, न खाने खाद्यान्न । न त शरीरमा लगाउने लत्ताकपडाहरू नै छन् । खाद्यान्न, लत्ताकपडाहरू कतै पुरिएका त कतै बगेका छन् । बस्ने घरहरू भत्किएका छन् । भाडापखालालगायतका रोगको प्रकोप सुरु हुने सम्भावना छ । सर्पको डर पनि उत्तिकै छ । निकै कष्टकर अवस्था छ यहाँको । यतिबेला तराईले सबैको सहयोगको याचना गरिरहेको छ । सबै मनकारीहरूलाई म आफ्नातर्फ सक्दो सहयोग गर्न तथा तराईलाई यो विपत्तिबाट पार लगाउन सहयोग गर्न आग्रह गर्दछु । म अहिले पनि औषधी, खाद्यान्न, त्रिपाल, लत्ताकपडासहित सबै बाढी प्रभावित क्षेत्रमा पुग्ने प्रयासमा छु ।
(कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सँग गत मंगलबार गरिएको कुराकानीमा आधारित ।)
तस्बिर : सीतारामको फेसबुकबाट