साप्ताहिक संवाददाता
दर खाने दिनदेखि ऋषि पञ्चमीसम्म मनाइने तीजलाई गीत–संगीतले ठूलो चाड बनाइदिएको छ । पछिल्ला केही वर्षयता तीज आउनुभन्दा केही महिनाअघिदेखि नै तीज लक्षित गीत, संगीत तथा म्युजिक भिडियोहरू टेलिभिजनदेखि सामाजिक सञ्जालसम्म छाउँछन् । यो वर्ष पनि करिब ३ सयभन्दा बढी तीज गीतका म्युजिक भिडियो निर्माण गरिएको एउटा तथ्यांकले देखाएको छ । अघिल्लो साता सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन अमेरिका प्रस्थान गरेका कोरियोग्राफर शंकर बिसीका अनुसार उनले यो वर्ष ८५ वटा तीज गीतका म्युजिक भिडियो निर्देशन/कोरियोग्राफी गर्न भ्याए । बिसी जत्तिकै सक्रिय कोरियोग्राफर झन्डै एक दर्जन छन् ।
तीज लक्षित गीत–संगीतको संख्या बढेसँगै दर्शक तथा श्रोताले पनि यसमा विविधता प्राप्त गर्न थालेका छन् । तीज गीतमा विसंगति बढेको गुनासो आए पनि अन्य विधाका गीत–संगीतमा सक्रियमा भएका स्रष्टाहरूले समेत यो वर्ष तीज गीत गाएका छन् । आधुनिक, पप, चलचित्र आदि विधाका गीत गाउने गायक–गायिकाहरूले गाएका तीज गीतले श्रोताहरूलाई नौलो स्वाद त दिएकै छन्, ती गीत विकृति तथा अश्लीलताबाट समेत टाढा छन् ।
अम्बिका गुरुङ प्राय: आधुनिक गीत रचना गरेर स्थापित भएकी गीतकार हुन् । नेपाली गीत–संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्यले अमेरिकामा भावसागर इन्टरटेन्मेन्ट एलएलसी स्थापना गरेकी गीतकार गुरुङले पहिलो पटक दुईवटा तीज गीत रचना गरिन्, जसका म्युजिक भिडियो अघिल्लो साता सार्वजनिक भए । तीमध्ये तीज आयो है...गीतमा सुगम संगीतकी स्थापित गायिकाद्वय आभा मुकारुङ तथा कला राईको स्वर सुन्न सकिन्छ । उक्त गीतलाई सुगम संगीत नै सिर्जना गरेर चर्चामा आएका संगीतकार प्रकाश लेप्चाले संगीतबद्ध गरेका हुन् । उक्त गीतको भिडियोमा आकर्षक नृत्य संयोजन हेर्न सकिन्छ ।
आएनौ छोरी...शीर्षकको अर्को तीज गीत पनि सुगम संगीतमै आधारित छ । भावुक शैलीको उक्त गीतको भिडियोमा अभिनेत्री मिथिला शर्माको कारुणिक अभिनय छ । यो गीतमा भने पप गायिका रजनी राईको स्वर सुन्न पाइन्छ । पप गायिका भए पनि रजनीले आफ्नो पहिलो तीज गीतमा प्रसस्त मेहनत गरेकी छिन् ।
सरस्वती लामा पप तथा रक गायिका हुन् । आधुनिक तथा सेलो गीत समेत गाइरहेकी यी गायिकाले यसपटकको तीजका लागि रक गीत गाइन् । यो गीतको फरक स्वर, पृथक् संगीत तथा नौलो किसिमको म्युजिक भिडियोलाई दर्शकहरूले मन पराएका छन् । ‘तीज पनि रकमै जम्ने भो’ शीर्षकको उक्त गीतमा गायिका लामाले अत्याधुनिक वाद्ययन्त्रहरू प्रयोग गरेकी छिन् । गायिका लामाले आफ्नो गीतमा ओए शिव शम्भो, लामो साडी लगाउँदा जीउमा गरम भो, नलगाउँदा झनै सरम भो जस्ता शब्दहरू राखेर नौलोपन दिएकी छिन् । गायिका लामाले उक्त गीतमा महिलाका पीडा तथा वेदना समेटेकी छैनन्, बरु छोटा पहिरन तथा डिस्कोका कुरा गरेकी छिन् । सरस्वतीको गीतमा टंक बुढाथोकीले संगीत दिएका छन् भने म्युजिक भिडियोको निर्देशन विक्रम चौहानले गरेका छन् ।
आगन्तुक खरेल पप गायिका हुन् । खरेल बेला–बेलामा आधुनिक गीत पनि गाउँछिन् । यी गायिका अघिल्लो वर्षदेखि तीज गीतप्रति आकर्षित भएकी हुन् । उनले गत वर्ष तथा यो वर्ष गाएका दुवै तीज गीत सुगम संगीतमा आधारित छन् । दुवैका संगीतकार बिजु बज्र हुन् । दुई वर्षअघि आऊ सँगै नाचौं शीर्षकको तीज गीत गाएकी आगन्तुकले यो वर्ष बरी लै रमाइलो तीजमा गाएकी छिन् । आगन्तुकको यो वर्षको तीज गीतको म्युजिक भिडियोलाई संगीतकार बज्रले नै निर्देशन गरेका छन् जसमा अभिनेत्री नम्रता सापकोटा, मोडल सुष्मा थापा तथा गायिका खरेल आदि कलाकारले कम्मर मर्काएका छन् ।
गायिका सुशीला पाठकले पनि यसै वर्ष आफ्नो पहिलो तीज गीत गाइन् । सबैले गाउँछन् एउटै मात्र गीत शीर्षकको उक्त गीतमा राज सागरको संगीत निर्देशन छ । गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ, जसमा गायिका आफैंले कम्मर मर्काएकी छिन् । केही साताअघि पहिलो एकल एल्बम सप्तरंगी सार्वजनिक गरेकी गायिका पाठक तीजको रंगमा रंगीन पहिलो पटक यस प्रकारको गीत गाएको बताउँछिन् ।
गायिका देविका प्रधानले समेत पहिलो पटक तीज गीत गाएकी छिन् । यसै साता सार्वजनिक भएको आमाको झझल्को शीर्षकको बीबी अनुरागीद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोको निर्देशक बिजेश पौडेलले गरेका हुन् ।
पप तथा आधुनिक गीतकी गायिका सहिमा श्रेष्ठले पनि यो वर्ष तीज गीत गाइन् । ओम भोला शिव शंकर शीर्षकको उक्त गीतमा दीपक शर्माको संगीत निर्देशन छ भने भिडियोमा अभिनेत्री अशिष्मा नकर्मीले नृत्य गरेकी छिन् ।
पप गायिका योजना पुरीले यसपटकको तीजका लागि सुगम संगीतमा आधारित गीत गाएकी छिन् । गौरव दर्पणद्वारा संगीतबद्ध उक्त गीतको भिडियोमा गायिका पुरीसहित विजेता पुरी तथा साथीहरूले आकर्षक नृत्य गरेका छन् ।