पहिरन
तीज पर्व आमनारीका लागि मात्र नभएर फेसन तथा मेकअपसँग सम्बन्धित व्यक्तिहरूका लागि पनि विशेष हुन्छ । तीजका विभिन्न पहिरन किन्न बुटिकदेखि डिपार्टमेन्टल स्टोर, फेसन सेन्टरदेखि लिएर विभिन्न पसलमा युवायुवतीहरूको ठूलो भीड लाग्छ । रातो र हरियो रंगलाई सौभाग्यको प्रतीक मानिने भएकाले पनि तीजमा विशेष गरेर यही रंगका पहिरन सबै वर्ग एवं समुदायको साझा भएका छन् ।
तीज विशेष गरेर महिलाका लागि महत्वपूर्ण पर्व हो । तीजमा माईत जाने मिठो खाने परम्परा त छदैँछ । अर्को तिर तीलाई फेसनका हिसावले पनि अब्बल पर्व मानिन्छ । अरुबेला सिम्पल भएर हिड्ने महिला पनि तीजमा भने मेकअप, गरगहना र महङ्गा पहिरनमा सजिएर हिड्ने गर्छन् । तीज र फेसनका सन्दर्भमा हामीले गायिका आगन्तुक खरेल, नायिका अश्लेषा ठकुरी, मोडल अस्मिता गौतम तथा कलाकार नानी थापासँग कुरा गरेका छौं ।
नायिका अश्लेषा ठकुरीलाई सानैदेखि तीज मन पथ्र्यो । आमाले लगाउने सारी र सारी लगाउँदा गर्ने मेकअपका कारण तीजप्रति उनको विशेष रुचि एवं झुकाव थियो । अश्लेषा आफैंलाई पनि सारी असाध्यै मन पर्छ । उनी यो तीजमा पनि सारी लगाएर तीजलाई अझ विशेष बनाउने बताउँछिन् । रातो रंगलाई सौभाग्यको प्रतीक मानिने हुनाले अश्लेषाले रातै रंगको सारी छानेकी छिन् । डिप ओपन डिजाइनको रातो सारी तथा ब्लाउजमा तीज मनाउने अश्लेषालाई सुनका गहनामा भने खासै लगाव छैन । अश्लेषा सारीमा सिम्पल देखिने एकसरो गहना लगाउँछिन् ।
गायिका आगन्तुक खरेललाई पहिरन तथा गीत–संगीतका कारण तीज सानैदेखि विशेष पर्व लाथ्यो । यो वर्ष पनि तीज गीत निकालेकी गायिका खरेल तीजमा सारी नै लगाउन रुचाउँछिन् । यो वर्षको तीजका लागि पनि आगन्तुकले रातो सारी किनेकी छिन् । सारीमा छड्के तिलहरी लगाउन मन पराउने आगन्तुक अन्य गहनामा भने उति साह्रो झुकाव देखाउँदिनन् । तीजको सारीमा सिम्पल देखिने एकसेट गहना भने उनले जोडजाम गरेर राखेकी छिन् ।
म्युजिक भिडियोमा अभिनय गर्दै आएकी मोडल अस्मिता गौतमलाई पनि तीजमा सारी तथा ब्लाउज नै मन पर्छ । यद्यपि यो वर्ष भने उनले लेहङ्गा लगाउने भएकी छिन् । चलेको डिजाइनको लेहङ्गा लगाउने अस्मिता त्यसमा चुरा तथा कानमा रिङ लगाउने बताउँछिन् । अन्य गहनामा भने उनको खासै रुचि छैन ।
रंगमञ्चकी कलाकार नानी थापा तीज त्यति धूमधामका साथ मनाउँदिनन् । सामान्य ढंगले आमाहरूसँग तीज मनाउने नानी कुर्ता–सुरुवाल लगाउँछिन् । कुर्ता भने कलरफुल छान्ने नानीले बताइन् ।
मेकअप
ब्युटिक्लब बबरमहलकी ब्युटिसियन दुर्गा मल्ल अश्लेषा ठकुरीकी प्रिय ब्युटिसियन हुन् । प्राय: दुर्गाबाटै मेकअप गराउने अश्लेषाले तीजमा पनि दुर्गाबाटै मेकअप गराउनेछिन् । धेरै भद्दा मेकअप नरुचाउने ठकुरी पहिरन र अनुहार दुवैलाई सुहाउने गरी हल्का मेकअप गर्छिन् । क्रिम, फाउन्डेसन तथा गाजल लगाएर हल्का मेकअप गर्ने अश्लेषा केश सज्जा पनि पहिरनअनुरूप नै गराउँछिन् ।
गायिका आगन्तुक खरेलले यो तीजमा ब्युटिसियन सुशीला केसीबाट मेकअप गराउनेछिन् । अरू बेला मेकअप गर्न नरुचाउने आगन्तुक तीजका बेला भने विशेष देखिन चाहन्छिन् । अन्य कार्यक्रम तथा विशेष दिनमा आफैं मेकअप गर्ने आगन्तुक तीजमा भने ब्युटिसियन सुशीलासँग मेकअप गराउन रुचाउँछिन् ।
मोडल अस्मिता गौतम भने आफैं मेकअप गर्छिन् । आफूलाई गुड मेकअप वुमन पनि भन्न रुचाउने अस्मिता प्राय: हरेक सभा तथा पार्टीहरूका लागि आफ्नो मेकअप आफैं गर्छिन् । तीजमा पनि आफैंले दैनिक प्रयोग गर्ने सौन्दर्य प्रसाधन प्रयोग गरेर मेकअप गर्ने अस्मिता बताउँछिन् ।
कलाकार नानी थापा सकभर मेकअप गर्न रुचाउँदिनन् । उनी सामान्यत: आफैं मेकअप गर्छिन् । मेकअपमा गाजल भने नछुटाउने नानीले बताइन् ।
पूजा तथा व्रत
नायिका अश्लेषा ठकुरी २०७३ सालको तीजमा पहिलो पटक व्रत बसेकी थिइन् । त्यतिबेला उनले घरनजिकैको शिवालयमा गएर अरूले जस्तै पूजा गरिन् । यो तीजमा पनि उनी सम्भव भएसम्म व्रत बसेर पशुपतिनाथको दर्शन गर्न जाने विचारमा छिन् । पशुपतिमा तीजको दिन राम्रोसँग पूजा गर्न नपाइने हुनाले पशुपतिभन्दा घरनजिकैको शिवालयमा गएर पूजा गर्ने पनि उनको सोच छ, पानी तथा फलफूल खाएर व्रत बस्ने अश्लेषाका अनुसार नाच्दा यही लगाइन्छ भन्ने छैन । धेरैजसो सारी वा लेहङ्गा नै लगाउने अश्लेषा घर नजिकै जाने हो भने कुर्ता–सुरुवालमा हुन्छिन् ।
गायिका आगन्तुक खरेल हरेक तीजमा व्रत बस्छिन् । उनी पूजा गर्न मन्दिर भने जाँदिनन् । घरमै परिवारका सदस्यहरू भेला भएर पूजा गर्ने र तीज मनाउने आगन्तुकलाई खाली पेट व्रत बस्नुपर्छ भन्ने लाग्दैन । उनी फलफूल तथा दूध खाएर तीजको व्रत बस्छिन् । गायिका खरेल नाच्दा भने हल्का खालको सारी लगाउँछिन् । भारी सारी लगाएर नाच्न गाह्रो हुने उनको अनुभव छ ।
मोडल अस्मिता गौतम स्कुल पढ्दादेखि नै आमासँगै व्रत बस्थिन् । अस्मिता यो वर्ष पनि व्रत बस्नेछिन् । पशुपति तथा अन्य शिवालय पुग्ने अस्मिता पानी तथा फलफूल मात्र खाएर व्रत बस्छिन् । नाचगानमा सहभागी हुँदा भने उनी लेहेङ्गा नै रुचाउँछिन् ।
रंगमञ्चकी कलाकार नानी थापाले सानैदेखि तीजको व्रत लिँदै आएकी छिन् । बिहान भने घरमै पूजा गर्छिन् साँझ पशुपतिमा गएर बत्ती बाली व्रत समापन गर्ने नानी बताउँछिन् । नानीका अनुसार तीजका बेला हुने नाचगानमा भने उनको खासै रुचि छैन ।