निर्माता सुनिलकुमार थापाको प्रश्न
निर्देशक झरना थापाको जवाफ
सुनिल : पहिलो पटक ए मेरो हजुर–२ मार्फत निर्देशक बनेकी छौ, अनुभव कस्तो रह्यो ?
झरना : सर्वप्रथम त मलाई निर्देशकका रूपमा विश्वास गर्नुभएकोमा तपाईंलाई धन्यवाद । पहिलो पटक यो जिम्मेवारी वहन गर्न पाउँदाको अनुभव चुनौतीपूर्ण छ । दर्शकको माया प्राप्त गरेपछि त्यो चुनौती सफलतामा परिवर्तन हुनेछ ।
सुनिल : निर्माताका रूपमा तिम्रो निर्देशनबाट ढुक्क हुने सम्भावना कत्तिको छ ?
झरना : कलाकारिता क्षेत्रमा यति लामो अनुभवका कारण निर्देशकका रूपमा पनि राम्रो काम गरेकी छु । ढुक्क भए हुन्छ ।
सुनिल : अभिनेत्रीका रूपमा काम गर्न सजिलो कि निर्देशकका रूपमा अरूलाई काम गराउन गाह्रो ?
झरना : अभिनेत्री बन्नु नै सजिलो रहेछ । निर्देशकका रूपमा त एकदमै प्रेसर अनि जिम्मेवारीवहन गर्नुपर्ने रहेछ । आफू पनि कलाकार भएकाले कलाकारलाई अभिनय गराउनचाहिँ सजिलै लाग्यो ।
सुनिल : तिमी अभियनमै फर्कने सम्भावना कत्तिको छ नि ?
झरना : सम्भावना त छ तर पहिलेजस्तो एकदम धेरै चाहिँ होइन ।
सुनिल : ए मेरो हजुर–२ पछि कुनै अन्य निर्माताले चलचित्र निर्देशन गर्न प्रस्ताव गरेका छैनन् ?
झरना : प्रस्ताव त आएको छ, तर म फागुनदेखि आफ्नो होम प्रोडक्सनकै अर्को चलचित्रमा व्यस्त हुने भएकाले अन्य चलचित्रलाई समय दिन भ्याउँदिन जस्तो छ ।
सुनिल : एउटा कुशल निर्देशक बन्न के–के कुरा चाहिने रहेछ ? तिमीमा ती सबै गुण छन् ?
झरना : धैर्यता, स्पष्ट दृष्टिकोण, मेहनत, क्रिएटिभ माइन्ड र एक्टिभनेस । यी सबै गुण ममा छन् ।
सुनिल : छोरी पनि ठूली भइन्, उनलाई चलचित्रमा ल्याउने केही सोचेकी छौ ?
झरना : पहिले ब्याचलर क्लियर होस्, त्यसपछि मात्र चलचित्रमा आऊन् भन्ने सोच छ । तपाईंले पनि त्यस्तै योजना त बनाउनुभएको छ नि, होइन ?