सम्पत्तिमा सबैको हाई हाई हाई, विपत्तिमा कोही छैन दाजुभाइ ।’ यो भनाइ अब पुरानो भयो । ‘सम्पत्तिमा थोरैको हाई हाई, विपत्तिमा धेरै छन् दाजुभाइ’ भन्नुपर्ने भएको छ अहिले । विगतको महाभूकम्प र अहिलेको विनाशकारी बाढीले सिकाएको कुरा यही नै हो ।
होला, अरू बेला हामी नेपालीहरू बिचारका आधारमा बाझ्यौं होला । भाषाका कारण बाँडियौं होला । भूगोलले गर्दा झगडा गर्यौं होला । राजनीतिको नाममा रिसायौं होला तर पहाडलाई आपत् पर्दा मधेसले टेको पुर्यायौं । मधेसलाई विपत् पर्दा पहाडले काँध थाप्यौं । सिंगो देशलाई अप्ठेरो पर्दा विश्ववासी नेपालीले होस्टेमा हैंसे गर्यौं । यही नै अहिलेको नेपाली स्वभाव हो ।
हुन त मलाई पनि पहिले यस्तै लाग्थ्यो, ‘सम्पत्तिमा सबैको हाई हाई, विपत्तिमा कोही छैन दाजुभाइ ।’ किनभने सुख मात्र बाँड्न सकिन्छ, दु:ख त बाँड्न सकिँदैन जस्तो लाग्थ्यो, तर एउटा नेपालीलाई दु:ख पर्दा सहयोगमा फैलने नेपाली हातहरू देखेपछि भन्न मन लाग्छ, दु:ख पनि बाँड्न सक्ने कला नेपालीहरूमा प्रशस्तै रहेछ ।
हो, दु:खबाट मुक्ति अरूबाट सम्भव छैन । आफैंले प्रयास गर्नुपर्छ, तर दु:ख मुक्तिको मार्ग अरूको सहयोगले सरल र सहज हुन्छ । आपत्विपत्मा मानिसले गर्ने सहयोगको अर्थ पनि यही हो ।
हुन त आफूलाई आपत् परेका बेला धेरै मानिस कठैबरा भन्ने मात्र हुन्, आपत्सँग मुकाबिला पीडित स्वयंले गर्नुपर्छ । विपत्मा काखी बजाउनेहरूको संख्या पनि कम हुँदैन । यस्तो बेला विपत्बाट उम्कने प्रयास हामी आफैंले नगरे कसैले सहयोग गर्नेवाला छैन । हाम्रो आमधारणा यही हो ।
यद्यपि सबै सूत्र सधैं लागू हुँदो रहेनछ । त्यसमाथि पनि नेपालीको हकमा झन् हुँदै हुँदो रहेनछ । विपत्तिमा यति धेरै दाजुभाइ हुँदा रहेछन् कि विपत्ति पनि दोहोर्याएर आउन डराउँछ जस्तो । यसपटकको विनाशकारी बाढीमा आएका सहयोगी मनहरूको लहरले यस्तै देखाएको गजुरियल ठम्याइ छ ।
त्यसो त विगतको विनाशकारी महाभूकम्पको विपत्तिमा पनि हामीले थुप्रै दाजुभाइ देख्यौं, जसले विपत्तिमा हामी छौं दाजुभाइ भन्दै राहत र उद्धारमा सहभागी भए । निर्माण र पुनर्निर्माणमा साथ दिए र दिइरहेका छन् । यो असल भावना अहिलेको बाढीपहिरोमा अझ चुलिएको गजुरियल बुझाइ छ ।मधेस बाढीको चपेटामा पर्दा पहाडका धेरै दाजुभाइ मधेस झरे ।
कोही सशरीर झरे । कोही धनले झरे । कोही मनले झरे । कोही वचनले झरे । कोही कर्मले झरे । समग्रमा सिंगो पहाड मधेस झर्यो । सिंगो नेपाल प्रभावित क्षेत्रमा गयो । गैरहेको छ र गैरहनेछ । गजुरियल ठम्याइ छ, हामी सबै नेपाली अंश नलाग्ने आफ्नै दाजुभाइ हौं । अंग्रेजीमा ब्रदर्स फ्रम एनोदर मदर, सिस्टर्स फ्रम नेक्स्ट मदर ।
केही यस्ता दाजुभाइ पनि हुन्छन् जो आपत्काललाई दाम कमाउने मौका बनाउँन खोज्छन् । विपत्काललाई नाम कमाउने अवसरका रूपमा प्रयोग गर्छन् । यस्ता समाजसेवीलाई हामीले निरुत्साहित गर्नुपर्छ । केही यस्ता दाजुभाइ पनि भेटिए जो अरूको आपत्लाई आफ्नै मानेर सेवामा समर्पित भए । विपत् आफैंलाई परेको मानेर सहयोगमा तल्लीन भए । उनीहरूलाई उत्साहित गर्नुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।