साप्ताहिक संवाददाता
अघिल्लो साता काठमाडौंमा चलचित्र ऐश्वर्यको पहिलो औपचारिक समारोह थियो । रमेश उप्रेतीद्वारा निर्मित उक्त चलचित्रको पहिलो गीत सार्वजनिक गर्ने समारोहमा चलचित्रकर्मीहरूको बाक्लै उपस्थिति देखिन्थ्यो । करिश्मा मानन्धरदेखि दीपकराज गिरीसम्मका कलाकार पुराना अभिनेता रमेश उप्रेतीलाई बधाई दिन भेला भएका थिए । समारोहमा पहेंलो गाउनमा सजिएकी एउटी युवतीले सबैको ध्यान आकर्षित गरिरहेकी थिइन् ।
औपचारिक समारोह प्रारम्भ हुनुअघि उनी को हुन् ? भनेर सोधीखोजी पनि भयो । समारोह प्रारम्भ भएपछि उनी चलचित्रकै नायिका दीपिका प्रसाईं भएको निश्चित भयो । गीतको प्रिमियरपछि रमेश उप्रेतीले त प्रसंसा पाए नै त्योभन्दा बढी दीपिकाको सौन्दर्यको चर्चा भयो । समारोहलगत्तै सञ्चारकर्मीहरूबाट घेरिएकी दीपिकाले चलचित्रकर्मीहरूको समेत बधाई पाइन् ।
लक्ष्मीपूजाको दिन सार्वजनिक हुने उक्त चलचित्रको प्रदर्शनपछि आफू अभिनेत्रीका रूपमा स्थापित हुने कुरामा विश्वस्त अत्तरिया, कैलालीकी दीपिका मोडलिङ गर्दा–गर्दै चलचित्रमा आएकी हुन् । ५ फिट ६ इन्च अग्ली दीपिकाले केही स्थापित ब्रान्डका लागि मोडलिङ गरेको बताइन्छ ।