चितवन जिल्लामै पहिलो पटक सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता शनिवारबाट सुरु हुदैं छ । खेल गतिविधि शुन्य भईरहेको समयमा केही समय सिंगो जिल्ला खेलमय बन्ने छ । नारायणगढ जेसिजको आयोजनामा हुन लागेको ‘प्रथम इ–प्लानेट जेसिज कप राष्ट्रिय फुटबल’ प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्दै छन् । भदौ १७ देखि २६ गते हुने प्रतियोगिताको तयारी पुरा भएको छ । जब ठूला चाडबाड आउन थाल्छन । तब जिल्लामा खेल गतिविध बढ्दै जान्छन ।
प्रतियोगिता क्याम्पाचौरमा हुने छ । अघिपछि हरेक प्रतियोगितामा सहभागिता जनाउने त्रिभुवन आर्मी क्लवले यो पटक सहभागिता नजनाउंदा भने दर्शकले केही खल्लोपन महसुस गर्ने छन् । हरेक प्रतियोगितामा उपाधी दाबेर आर्मीले आन्तरिक समस्या देखाउंदै प्रतियोगितामा सहभागिता नजाउने जनाएको छ ।
उता अन्तिम समयमा आएर मनाङ मस्र्याङदी क्लवले सहभागिता जनाउने भएपछि दर्शक दंग छन् । मनाङसंगै फ्रेन्डस् क्लव कुपण्डोल, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल प्रहरी र हिमालयन शेर्पा क्लव रहेका छन् । त्यस्तै चितवन–११, पोखरा–११, झापा–११, विजय युथ क्लव हेटौंडा– ११ र सुदुर पश्चिम– ११ ले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।
इच्छाकामना गाउंपालिकाको कुरिनटारमा भूकम्पपछि नारायणगढ जेसिजद्धारा निर्मित १४ घरका सदस्यको शैक्षिक, आर्थिक विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो । दर्शकले टिकट काटेर खेल हेर्न पाउने छन् । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद सहित ट्रफी पाउने छ । त्यस्तै उप विजेताले १ लाख ७५ हजार पुरस्कार पाउने छ । प्रत्येक दिन खेलमा प्लेर अफ द म्याच हुनेले ५ हजार नगद र ट्रफी पाउने छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, फेयर प्ले टिम र सर्वाधिक गोलकर्ताले फाईनलमा १०/१० हजार नगद पाउने छन् । गत बर्ष कार्तिकमा भएको टुबोर्ग विकास रनिङ शिल्ड अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको पुरस्कार राशी ३ लाख र गत बर्षकै साउनमै भएको चौथो नेपाल कप फुटबल प्रतियोगिताको पुरस्कार राशी ३ लाख मात्र थियो । त्यसैले ‘प्रथम इ–प्लानेट जेसिज कप राष्ट्रिय फुटबल’को पुरस्कार राशी जिल्लामा अहिले सम्मकै सबै भन्दा धेरै हो ।