साप्ताहिक संवाददाता
‘खासमा मलाई फेसबुक र इन्स्टाग्रामबाट टाढा भाग्न मन छ, तर सक्दिनँ,’ –केही समयअघि अनौपचारिक गफका क्रममा अभिनेत्री केकी अधिकारी भन्दै थिइन् । फुर्सद भयो कि मोबाइलमा इन्स्टा स्टोरी अपलोड गरिहाल्ने उनको बानी छ । त्यही बानी अर्की अभिनेत्री प्रियंका कार्कीमा पनि छ । प्रियंका आफू वरपरका घटनालाई इन्स्टा स्टोरी बनाएर पेस गरिहाल्छिन् ।
इन्स्टाको लत लागेकी अर्की अभिनेत्री हुन्— साम्राज्ञी राज्यलक्ष्मी शाह । धेरै पटक साम्राज्ञीले इन्स्टाग्राममा अपलोड गरेका तस्बिर तथा भिडियोको त समाचार पनि बनिसकेको छ । जस्तो कि उनले एकपटक नृत्याभ्यास गरेको भिडियोलाई केही अनलाइन पत्रिकाले समाचार बनाएपछि उक्त सामग्री भाइरल भएको थियो । उक्त सामग्री केही दिन युट्युबको ट्रेन्डिङमा समेत रह्यो ।
चलचित्रका अभिनेत्रीहरूमा सामाजिक सञ्जालको लत धेरै नराम्रोसँग लागेको छ जसमा इन्स्टाग्राम सबैको प्रिय भएको छ । इन्स्टामा फोटो अपलोड गरेपछि त्यसलाई सीधै आफ्नो फेसबुक पेजमा पनि तान्न मिल्ने भएपछि अधिकांश अभिनेत्रीको लगाव इन्स्टाग्राममा देखिएको हो । स्मार्टफोनमा इन्स्टा भएपछि अभिनेत्रीहरूलाई समय बिताउन पनि सहज भएको छ । छायांकन वा अन्य काममा रहेका बेला थोरै मात्र पनि फुर्सद भयो कि इन्स्टामा केही न केही अपलोड गर्ने वा इन्स्टा स्टोरी बनाउन तम्सने अभिनेत्रीहरूको कमी छैन ।
यसबाहेक चर्चित अभिनेत्रीहरूको इन्स्टा पेज पनि धेरै नै फेला पर्छ । प्रियंका कार्की भन्छिन्– ‘मेरो नाममा थुप्रै इन्स्टा पेज बनेका रहेछन् । तीमध्ये एउटा मात्र मेरो हो ।’ कुनचाहिँ ? उनले भनिन्– ‘आफै पत्ता लगाउनुहोस् ।’ हुन पनि प्रियंका कार्कीको नाम टाइप गरेर इन्स्टाग्राममा सर्च गरियो भने ४० वटाभन्दा बढी पेज देखा पर्छन् । त्यसमा दुईवटा उनका फ्यान पेज छन् ।
यसैगरी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको नाममा २० वटाभन्दा बढी पेज छन् । साम्राज्ञी आफ्नो नामको अंग्रेजी स्पेलिङ कबmचबनथभभ लेख्छिन् र त्यही स्पेलिङमा पनि २० वटा भन्दा बढी पेज छ । केकी अधिकारीका पनि १५ वटाभन्दा बढी पेज इन्स्टाग्राममा छन् । केकी इन्स्टा लभर त हुन्, तर अरूले झैं उनले पनि आफै ती सबै पेज खोलेकी भने होइनन् । ‘एउटा इन्स्टामा टाइम दिन त मुस्किलले समय निकाल्ने गरेको छु भने म त्यत्रो पेज कहाँ चलाउन सक्छु र ?’ –केकीले प्रतिप्रश्न गर्दै भनिन् ।
अभिनेत्रीहरूको वास्तविक पेजजस्तै गरेर उनका प्रशंसक तथा अन्यले फेसबुक, ट्विटर एवं इन्स्टाग्राममा पेज बनाइदिनु सामान्य नै भैसकेको छ । नेपालमा मात्र होइन सामाजिक सञ्जालमा त्यस्ता फेक पेज हलिउड, बलिउडका सेलिब्रेटीहरूका पनि बन्ने गरेका छन् । जबसम्म कुनै आपत्तिजनक पोस्ट पेजमा आउँदैन तबसम्म सेलिब्रेटीहरूले त्यसतर्फ ध्यान पनि दिँदैनन् ।
रह्यो कुरा हाम्रा महिला सेलिब्रेटीहरूको इन्स्टा लतका बारेमा । अभिनेत्री रेखा थापा इन्स्टामा भन्दा फेसबुकमा बढी एक्टिभ देखिन्छन् । फेसबुकमा रहेका नेपाली महिला सेलिब्रेटीहरूमा सबैभन्दा बढी फलोअर्स उनकै पेजमा छ । इन्स्टामा भने उनका १२ हजार ६ सय फलोअर्स छन् । रेखाले भने जम्मा १८ जनालाई मात्र फलो वा फलोब्याक गरेकी छिन् । इन्स्टाग्राममा प्रियंका कार्कीका सबैभन्दा बढी फलोअर्स छन् । ४ लाख २५ हजार जनाबाट फलो गरिएकी प्रियंका कार्कीको पेजमा उनले भने ६ सय ३६ जनालाई मात्र फलोब्याक गरेकी छिन् । साम्राज्ञी राज्यलक्ष्मी शाहको पेज भने छरिएका छन् । अफिसियल साम्राज्ञी आरएल शाह नाममै उनका अनगिन्ति पेज छन् जसमध्ये दुईवटामा डेढ लाखभन्दा बढी फलोअर्स छन् । नम्रता श्रेष्ठको अफिसियल इन्स्टा पेजमा २ लाख ७४ हजार फलोअर्स छन् भने उनले जम्मा १८ जनालाई फलो गरेकी छिन् । अभिनेत्री वर्षा राउतको आईएम वर्षा राउत नाममा दुईवटा पेज छन्, जसमध्ये एउटामा १ लाख २ हजार र अर्कोमा जम्मा १ सय ६४ जना फलोअर्स छन् । निशा अधिकारी मल्लको इन्स्टा पेजमा १ लाख ८ हजार फलोअर्स छन् ।
के कस्तो अपलोड ?
निशा अधिकारी मल्ल विवाहपछि हाल श्रीमान् शरदसँग भारत भ्रमणमा छिन् । उनले विवाहउप्रान्त अपलोड गरेका इन्स्टा तस्बिरमा ३लष्कजबचबम लेख्ने गरेकी छिन् । प्रियंका कार्की छायांकनका बेला फुर्सदमा खिचिएका तस्बिर बढी अपलोड गर्छिन् भने हालै उनले एउटा छायांकनका क्रममा ढुंगामाथि बस्दा हावाले स्कर्ट उडाएको आफ्नो तस्बिर अपलोड गरेकी थिइन् जसमा २९ हजारभन्दा बढी लाइक आयो । उनको काखमा प्रेमी आयुष्मान देशराज श्रेष्ठ सुतेको तस्बिरमा त झन् डेढ लाखजति लाइक आएको थियो । प्रियंका कार्कीको कुनै पनि इन्स्टा तस्बिरमा २० हजारभन्दा बढी लाइक आउने गरेको छ ।
जो सक्रिय छन्
इन्स्टामा सक्रिय हुनेहरू धेरै छन् । विशेष गरी अभिनेत्रीहरूमा साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की, केकी अधिकारीबाहेक जेबिका कार्की, सोनिया गहतराज, सुरबिना कार्की, बेनिशा हमाल, रेखा थापा, अनु शाह, श्वेता खड्का, वर्षा राउत, वर्षा शिवाकोटी, अशिष्मा नकर्मी, नम्रता सापकोटा, निशा अधिकारी आदिलाई इन्स्टामा सर्वाधिक सक्रिय अभिनेत्री भन्न सकिन्छ ।
स्टोरीमा व्यस्त
इन्स्टाग्राममा च्याट र स्टोरीको सुविधा थपिएपछि अभिनेत्रीहरू त्यसैबाट आफ्ना साथीसंगीहरूसँग च्याट गरिरहेका पाइन्छन् भने सबै जना वरपरको वातावरण तथा स्थिति खिचेर त्यसलाई स्टोरी बनाई पोस्ट गर्छन् । त्यसो त इन्स्टास्टोरी अचेल युवापुस्तामा निकै लोकप्रिय छ ।
२४ घण्टा मात्र टिक्ने स्टोरी बनाउन सबैमा प्रतिस्पर्धा हुने गरेको छ । कसको स्टोरी सबैभन्दा राम्रो भन्ने अदृश्य प्रतिस्पर्धामा केही अभिनेत्री रहेको उनीहरूको इन्स्टा स्टोरी हेर्दा थाहा हुन्छ । वर्षा राउत स्टोरी अपलोड गर्दा आफूलाई रमाइलो लाग्ने बताउँछिन् । उनी इन्स्टामा उपलब्ध इनर एप्सको सहायताले विभिन्न रूप बनाउँदै र साथीसंगीहरूसँगको रमाइलोलाई आफ्नै प्रकारले स्टोरी बनाउँदै समय व्यतीत गर्न मज्जा मान्छिन् । प्रियंका कार्की पनि दिनभरि हुने विभिन्न किसिमका क्रियाकलापलाई स्टोरी बनाउन रमाइलो मान्छिन् । कार्की खानेकुरा खाएको, हाँसेकोदेखि लिएर भेटघाट, नाचगान, घुमघाम आदि क्रियाकलापलाई स्टोरी बनाएर पोस्ट गरिरहन्छिन् । यसरी स्टोरी बनाउनमा सुरबिना कार्की, सुषमा अधिकारी, अनु शाह, नम्रता सापकोटाहरू पनि निकै अगाडि छन् ।
केही अभिनेत्रीको इन्स्टापेज :
official_samragyee_rl_shah
gbkakarki
surabina_karki
priyanka.karki
kekiadhikari
benishahamal
rekha.thapa
karishma_manandhar
anushah_000
shweta1786
imbarsharaut
barsha.siwakoti
bipanathapa7
sarasangee1
ashishmanakarmi
namratasapkotaa