लामो समयदेखि नेपाली कांग्रेसको एकछत्र पकड रहेको जिल्ला रौतहटमा अहिले कुनै दलको एकपक्षीय पकड छैन । कुन स्थानमा कसले जित्छ अनुमान गर्न मुस्किल छ । रौतहट जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको राम्रो पकड मानिन्थ्यो । कार्यकर्ता तथा मतदातासँग मतलब नराख्ने कांग्रेसी नेताहरूको रवैयाका कारण कांग्रेस बिस्तारै कमजोर बन्दै गएको बताइन्छ । ०६४ चैतमा भएको पहिलो संविधानसभा निर्वाचनमा काग्रेंसले २ क्षेत्रमा, माओवादीले २ क्षेत्रमा, तत्कालीन तमलोपाले १ क्षेत्रमा तथा स्वतन्त्र उम्मेदवार बबनसिंहले १ क्षेत्रमा जित हासिल गरेका थिए ।
बिस्तारै कांग्रसले जमाएको पकड तोडदै ०७० को दोस्रो संविधानसभा निर्वाचनमा माओवादी, एमाले तथा फोरमले मत बाँडे । दोस्रो संविधानसभा निर्वाचनमा माओवादीले २, एमालेले २ र फोरमले १ क्षेत्रमा जित हासिल गर्दै कांग्रेसलाई १ क्षेत्रमा सीमित गराए ।
उक्त निर्वाचनमा एमालेका माधवकुमार नेपालले क्षेत्र नं. १ मा तत्कालीन सदभावनाका अजय गुप्तालाई झिनो मत अन्तरले पाखा लगाएका थिए । त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसका प्रभावशाली नेता पूर्वमन्त्री अफताब आलमलाई उनकै भान्जा महम्मद मुस्ताक आलमले हराए । त्यस्तै क्षेत्र नं. ३ मा माओवादी भूमिगत रहेकै बेलादेखि बन्दुकको बलमा पहिलो संविधान सभामा जित हासिल गरेका प्रभु साहले दोस्रो संविधानसभा निर्वाचनमा पैसा र विकासका कामको बलमा जित हासिल गरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।
यस्तै क्षेत्र नं. ४ मा कांग्रेसको बलियो राजनैतिक पर्खाल भत्काउँदै एमाओवादीका सत्यनारायण भगतले जित हासिल गरे । उनले जातिय नारा लगाउँदै कांग्रेसका कृष्ण यादवलाई पाखा लगाएका थिए । यस्तै क्षेत्र नं. ५ मा कांग्रेसका युवा नेता जितेन्द्र भनिने सुनिलकुमार यादवले जित हासिल गरे । उनी जिल्लाकै सबैभन्दा कम उमेरका सांसद हुन । क्षेत्र नं. ६ मा बलियो मानिएका कांग्रेसका उम्मेदवार देवप्रसाद तिमिल्सिनालाई पाखा लगाउँदै एमालेका रामकुमार भट्टराईले जित हात पारे । पहिलेदेखी नै एमाले कमजोर रहेको क्षेत्र नं. ६ मा एमालेले कांग्रेसलाई ठूलो झट्का दिएको थियो ।
त्यतिबेला रौतहटमा २ लाख ७९ हजार ७ सय ५० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांकले देखाएको छ । अहिले स्थानीय तहको निर्वाचन हुने बेलासम्ममा ४३ हजार ७ सय मतदाता बढेका छन् । तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि तयार भएको मतदाता नामावलीअनुसार रौतहटमा ३ लाख २३ हजार ४ सय ५० मतदाता पुगेका छन ।
रौतहटमा २ वटा गाउँपालिका तथा १६ वटा नगरपालिका छन् । जसलाई आफ्नो पक्षमा पार्न दलका नेता–कार्यकर्ताहरू कम्मर कसेर लागेका छन् । प्रमुख दलहरू कांग्रेस, एमाले, माओवादी केन्द्रसँगै मधेसवादी दलहरूले पनि रौतहटको चुनावी परिणामलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । पार्टीभित्र पनि टिकटका लागि दौडधूप जारी छ । स्थानीय तहमा कसले कहाँ जित हात पार्छन्, यसै भन्न सकिने अवस्था छैन ।