चलचित्र पराइ घरबाट नेपाली रजतपटमा डेब्यु गरेका रमेश उप्रेतीले यतिबेला अभिनेताका साथै निर्माताका रूपमा पुनरागमन गरेका छन् । केही वर्ष अमेरिकामा बिताएर स्वदेश फर्किएका उप्रेतीले निर्मल शर्माको निर्देशनको चलचित्र ब्रासलेटबाट अभिनयको दोस्रो इनिङ प्रारम्भ गरेका हुन् । कात्तिक २ गतेदेखि प्रदर्शनमा आउने दीवाकर भट्टराई निर्देशित चलचित्र ऐश्वर्यमा अभिनेता तथा निर्माताका रूपमा प्रस्तुत भएका उप्रेतीले साप्ताहिक मार्फत आफूलाई मनपर्ने ‘अलटाइम फेवरेट’ अभिनेत्री यसरी छानेका छन् :
करिश्मा मानन्धर
करिश्मा मानन्धर चलचित्र क्षेत्रकै गर्विलो नाम हो । सुन्दर तथा सदावहार नायिकाको उपाधि प्राप्त गरिसकेकी करिश्माको मन सफा छ । सहयोगी अनि अत्यन्त दयालु करिश्मालाई नजिकबाट चिनेपछि मात्र उनका बारेमा थाहा हुन्छ ।
झरना थापा
नृत्यमा निपूर्ण अनि अभिनयमा आफूलाई अब्बल सावित गरिसकेकी झरना थापा सहज र सरल अभिनेत्री हुन् । सबैसंग हाँसेर कुराकानी गर्नु तथा मीठो बोली–व्यवहार उनका गहना नै हुन् ।
रेखा थापा
पछिल्लो दशकमा दर्शकहरूबीच एकछत्र राज गरेकी रेखा थापाको नटखट अभिनय र अदा मलाई मनपर्छ । समयको वहावलाई राम्रोसँग चिनेर अघि बढ्न सक्ने उनको आँटिलो स्वभावले पनि मेरो मन जितेको छ । बहुप्रतिभाशाली व्यक्तित्व एवं निरन्तरको क्रियाशिलता उनको सबैभन्दा बलियो पक्ष हो ।
नम्रता श्रेष्ठ
युवा पुस्ताकी ढुकढुकी नम्रता श्रेष्ठको सुन्दरता अनि भावपूर्ण अभिनय मन नपराउने शायदै कोही होलान् । विभिन्न किसिमका पात्र र चरित्रलाई फरक ढंगबाट निर्वाह गर्न रुचाउने नम्रता सवल कलाकार हुन् ।
पूजा शर्मा
युवापुस्ता लगायत सबैले रुचाएकी चुलबुले पूजा शर्माको अभिनय र सबैसंग मिल्न सक्ने बानी मलाई मनपर्छ । कसैको दु:ख देख्न नसक्ने कोमल मनकी पूजा एकपछि अर्को चलचित्रमा आफूलाई निर्खार्दै अभिनय यात्रामा अघि बढिरहेकी कलाकार हुन् ।
केकी अधिकारी
आँखाले नै सबै कुरा बोल्न सक्ने केकी अधिकारी अब्बल प्रतिभा हुन् । उत्कृष्ट अभिनय गर्न सक्ने केकी बाहिर जति साधारण र क्यूट देखिन्छिन्, पर्दामा त्योभन्दा धेरै गुणा शसक्त रुपमा प्रस्तुत हुन्छिन् ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
एउटा मात्र चलचित्र प्रदर्शन भए पनि आफ्नो ग्ल्यामरस छवि अनि सशक्त अभिनयसहित प्रस्तुत भएकी साम्राज्ञी राज्यलक्ष्मी शाह मलाई मनपर्ने नायिका हुन् । युवा पुस्ताको ढुकढुकी बन्न सफल साम्राज्ञी प्रसस्त सम्भावना बोकेकी नायिका हुन् ।
दीपिका प्रसाईँ
मोडलिङबाट अभिनयमा होमिएकी दीपिका प्रसाई चलचित्र ऐश्वर्यबाट पहिलो पटक अभिनय यात्रा तय गर्दैछिन् । सरल, सुन्दर, सहयोगी अनि मीठो मिजासकी दीपिका अभिनय एवं नृत्यमा पनि निपूर्ण छिन् । म उनका सुन्दर आँखा, ओठ र अभिनयको प्रसंसक हुँ ।