साप्ताहिक संवाददाता
प्रस्तोता समाज नेपालले नेपाली गीत–संगीतको क्षेत्रमा योगदान पुर्याउने चार स्रष्टा तथा एक सञ्चारकर्मीलाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा समाजले रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमाल, गायक वासुदेव मुनाल, गायक तथा संकलक कृष्णसुधा ढुंगाना एवं गायक मच्छेश्वर सापकोटालाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेको हो ।
समाजले सञ्चारकर्मी लोकराज अधिकारीलाई पनि सम्मान गरेको छ । समारोहमा ५० जना प्रस्तोतालाई रोयल्टीसमेत वितरण गरिएको थियो । गत वर्ष झै यस वर्षपनि गायिका अन्जु पन्तले सबैभन्दा धेरै २ लाख ४८ हजार रोयल्टी रकम प्राप्त गर्न सफल भईन् । अहिले चर्चामा रहेका संगीतकार कालि प्रसाद बास्कोटाले पनि पहिलो पटक ८९ हजार रुपैयाँ रोयल्टी रमक हात पारेका छन् ।
क्यान्सर पीडित मुनाललाई उपचार सहयोगका लागि कार्यक्रममै सहयोग
क्यान्सर रोगका कारण उपचार गराइरहेका अग्रज स्रष्टा बासुदेब मुनाललाई संगीतकर्मी कल्याणकारी कोषका तर्फबाट ११ हजार रुपैया सहयोग गरिएको छ । त्यसैगरी गायिका अन्जु पन्तले १० हजार, गायिका मञ्जु पौडेलले १० हजार,गायक एड्रियन प्रधानले रोयल्टी बापत बुझेको ६ हजार मुनालको उपचार सहयोगका लागि हस्तान्तरण गरे ।
त्यसैगरी कलाकार एबं छक्का पञ्जा निर्देशक दिपाश्री निरौलाले आफूले रोयल्टी वापत पाएकोसम्पूर्ण रकममा केहि रकम थप गरी जम्मा १० हजार सहयोगको घोषणा गरेकी छन । उनले प्रस्तोता समाज मार्फत सो रकम मुलाललाई हस्तान्तरण गर्ने बताएकी छिन् । त्यसैगरी अधिबक्ता एबं प्रतिलिपी अधिकार संरक्षण मञ्चका महासचिव परशुराम कोइरालाले २१ हजार रुपैया उपचारका लागि सहयोग गर्ने घोषणा गरेका छन ।