साप्ताहिक संवाददाता
भदौ १३ गतेदेखि चलिरहेको नाडा अटो शोमा दुईपांग्रे सवारी साधनका १९ वटा आयातकर्ता कम्पनीले भाग लिएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालित यो अटो शो भदौ १८ गतेसम्म चल्नेछ । यस पटकको अटो शोमा पहिले जस्तै टीभीएस, महिन्द्रा, बजाज, सुजुकी, होन्डा, हिरो, केटीएम, यामाहा, भेस्पा तथा यूएम बाइक सहभागी छन् । त्यसैगरी बेनेली, रोयल इन्फिल्ड, एसवाईएम एवं क्रस एक्स मोटरसाइकल पनि मेलाको आकर्षणमा छन् । यसपटकको अटो शोमा रनर, सीएफ मोटो, निउ तथा हन्टर आदि नयाँ बाइक कम्पनीसमेत सहभागी छन् ।
यामाहा एफजी २५
यामाहाको एफजी २५ बाइक पहिलो पटक अटो शोमा प्रदर्शन हुँदैछ । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधियुक्त एफजी २५ मा ४ स्ट्रोक र २४९ सीसीको इन्जिन जडान गरिएको छ । एफजी सिरिजको यो हेभी बाइकको मूल्य ३ लाख ४४ हजार ९ सय रुपैयाँ छ ।
होन्डा सीबी १९० आर
जापानिज होन्डा मोटर्सले सीबी १९० आर मोडलको बाइक भित्र्याएको छ जसको मूल्य नेपाली बजारमा ५ लाख रुपैयाँभन्दा बढी छ । स्पोर्टी लुक्सको यो बाइक १ सय ८४ सीसीको छ । यसमा फाइव स्पिड गियरका साथ १२ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी छ ।
टीभीएस स्ट्राइकर
१२५ सीसी इन्जिन क्षमताको टीभीएसको स्ट्राइकर पहिलो पटक यो अटो शोमा देखिएको छ । एक लिटर पेट्रोलमा ६७ किलोमिटर माइलेज दिने यो बाइकको मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ छ । यो मोटरसाइकल तीन रङमा उपलब्ध हुन्छ ।
हिरो मेस्ट्रो एज
यस पटकको अटो शोमा हिरोको मेस्ट्रो एज स्कुटर सबैको आकर्षणमा छ । १ सय १० सीसीको मेस्ट्रो एज बिल्कुल नयाँ मोडल हो । यसमा एयर कुल्ड, फोर स्ट्रोक सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । आकर्षक लुक्सको यो स्कुटर विभिन्न ६ कलरमा उपलब्ध हुनेछ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम छ । यो बाइकले ६५ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ भने यसमा ६ लिटर पेट्रोल अटाउने इन्धन ट्यांकी छ ।
रेनेगेड कमान्डो र स्पोर्ट एस
रेनेगेड कमान्डो क्रुजर सेगमेन्टको बाइक हो । यसमा २७९.५ सीसीको फोर स्ट्रोक तथा लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । अगाडिको पांग्रामा टेलिस्कोपिक सस्पेन्सन तथा पछिल्लो पांग्रामा ड्युअल सक एब्जर्बर छ । यो बाइकको मूल्य ४ लाख ९९ हजार रुपैयाँ छ । यी दुवै बाइकमा १८ लिटरको इन्धन ट्यांकी छ भने तौल १ सय ७२ किलोग्राम छ ।
होन्डा अफ्रिका ट्विन
होन्डाले नेपाली बजारमा बहुप्रतीक्षित बाइक अफ्रिका ट्विन अर्थात सीआरएफ १००० एल उतारेको छ । विश्व बजारमा सन् २०१५ मै उपलब्ध भए पनि नेपाली बजारमा यो हालै मात्र सार्वजनिक गरिएको हो । होन्डा अफ्रिका ट्विनमा ९९८ सिसीको प्यारालल ट्विन इन्जिन छ, जसले ९५ पीएस पावर तथा ९२ एनएम टर्क उत्सर्जन गर्छ । यसको ग्राउन्ड क्लियरेन्स २ सय ५० एमएम छ । फोर–भल्व युनिक्याम हेड डिजाइन प्रयोग गरी यसलाई लिटर–क्लास इन्जिनका रूपमा विकास गर्ने व्यवस्था मिलाइएको होन्डाले बताएको छ । यो बाइकको मूल्य २५ लाख ५० हजार रुपैयाँ छ ।
बेनेली टीएनटी ३००
बेनिलीको टीएनटी ३०० मोडल अपग्रेडेड भर्सनमा भित्रिएको छ । अटो सोमा यसको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो । नयाँ भर्सनमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) थपिएको बताइएको छ । यो प्रिमियक बाइक हो । स्पोर्टी डिजाइनको यो बाइकले हेभी बाइकका पारखीहरूको विश्वास जित्ने कम्पनीको अपेक्षा छ ।
महिन्द्रा गस्टो
महिन्द्रा गस्टो स्कुटर आकर्षक कलर तथा उत्कृष्ट डिजाइनमा नेपाल भित्रिएको छ । ग्राफिक्स र केही फिचर्स परिवर्तन भएको गस्टो १ सय १० सीसीको छ । झन्डै साढे तीन वर्षपछि गस्टोको अपग्रेडेड भर्सनमा नेपाल भित्रिएको हो । नेपालमा गस्टोको मूल्य १ लाख ७६ हजार ९ सय रुपैयाँ छ । नयाँ गस्टोको मूल्य पनि सोही हाराहारीमा भएको बताइएको छ । यसले ६३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।