साप्ताहिक संवाददाता
आफ्नै पिताको जीवनीमा आधारित फिल्ममा अभिनय गरेर कला पर्दामा उपस्थिती जनाएका गायक सत्यराज आचार्य फेरि ठूलो पर्दामा देखिने भएका छन् । चलचित्र ‘साढे सात’ मा सत्य शीर्ष भूमिकामा देखिने भएका छन् । साम्तेन भुटियाको निर्देशन रहेको उक्त फिल्ममा सत्यराजले फोटो पत्रकारको भूमिका निर्वाह गरेका छन् । बिहीबार सोही फिल्मको ट्रेलर तथा पोस्टर सार्वजनिक सत्यको यो भूमिका सार्वजनिक भएको हो ।
२०७२ मा देशले भोगेको नाकाबन्दीको सेरोफेरोमा आधारित ‘साढे सात’ का बारेमा पटकथाकार समेत रहेका निर्देशक भुटियाले भने, ‘जतिबेला देशले नाकाबन्दी भोगिरहेको थियो । त्यही समयमा एउटा पत्रकारले भोगेको समस्या र देखेका घटनाक्रमलाई देखाउन खोजिएको छ ।’ फिल्ममा सत्यराजसहित सुनील थापा, मेनुका प्रधान, कामेश्वर चौरासिया, सुप्रिया कटुवाल, शिशिर वाङ्देल, युवराज घिमिरेको मुख्य भूमिका रहेको छ ।
फिल्ममा निर्देशक भुटियासहित सत्यराज र स्वरूपराज आचार्य, सुनील थापा, नरेशदेव पन्तका साथै डीजे सन्तोष निर्माताका रूपमा रहेका छन् । अनिश तामाङको छायांकन रहेको फिल्ममा संगीत सत्य–स्वरूपकै रहेको छ । फिल्म मंसिर १५ मा रिलिज हुने भएको छ ।