दीपकराज गिरी, जितु नेपाल, नारायण त्रिपाठी, दमन रुपाखेतीसहित अहिलेका लोकप्रिय हास्य अभिनेताहरूलाई कुनै बेला नेपाल टेलिभिजनमार्फत दर्शकमाझ पुर्याउने श्रेय हास्य कार्यक्रम ट्वाक्क टुक्कलाई जान्छ । सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीद्वारा निर्देशित उक्त कार्यक्रमबाटै थुप्रै कलाकार जन्मिए, हुर्किए र लोकप्रिय भए । केही वर्ष दर्शकको रोजाइमा परेको उक्त कार्यक्रम अचानक बन्द भयो । उक्त कार्यक्रममार्फत अभिनय यात्रा प्रारम्भ गर्ने हास्य अभिनेताहरू विभिन्न हास्य श्रृंखलामार्फत दर्शकमाझ आउन थाले, यद्यपि दर्शकले ट्वाक्क टुक्कलाई बिर्सन सकेनन् ।
निर्देशक डिसीलाई दर्शकले माया गरेको उक्त कार्यक्रमलाई कुनै दिन पुन: फिर्ता ल्याउनुपर्छ भन्ने लागिरहेको थियो । त्यसका लागि उनले कान्तिपुर टेलिभिजनलाई रोजे । अघिल्लो वर्षको अन्त्यतिर कान्तिपुर टेलिभिजनमा डिसीकै निर्देशनमा ट्याक्क टुक्क रिटन्र्स शीर्षकमा एउटा हास्य कार्यक्रमको प्रसारण प्रारम्भ भयो । यो कार्यक्रमले छोटो समयमै लय समातेको छ ।
ट्याक्क टुक्कबाटै चम्किएका हास्य कलाकार हुन्– जितु नेपाल । त्यसो त जितु स्ट्याण्ड–अप कमेडीमा राम्रै मानिन्छन्, यद्यपि उनलाई मुन्द्रेको उपनाम प्रदान गर्ने लोकप्रिय श्रृंखला हो– जिरे खुर्सानी । लामो समय नेपाल टेलिभिजनबाट प्रसारण भएर दुई वर्षअघि रोकिएको थियो उक्त कार्यक्रम । जितु नेपाल तथा शिवहरि पौडेलद्वारा संयुक्त रूपमा निर्देशन गरिएको जिरे खुर्सानीलाई दर्शकहरू पर्खेर बस्थे । मिडिया हब तथा नेपाल टेलिभिजनबीचको खिचातानीका कारण रोकिएको उक्त श्रृंखलालाई यतिबेला जितु नेपालले आफ्नो एकल प्रयासमा पुन: टेलिभिजनमा फर्काएका छन् । विगतमा दीपकराज गिरी निर्देशित हास्य श्रृंखला तीतो सत्य प्रसारण हुने समय अर्थात् प्रत्येक बिहीबार राति ८:५० बजेदेखि पुन: प्रसारण प्रारम्भ भएको जिरे खुर्सानीका अधिकांश कलाकार पुरानै छन् ।
श्रृंखलामा जितु नेपालसहित राजाराम पौडेल, शिवहरि बैरागी नेपाल, देवीराम पराजुली, शिशिर राणा, निरज नेपाल आदि कलाकारले अभिनय गरिरहेका छन् । जिरे खुर्सानीको शीर्षक गीत पनि परिवर्तन गरिएको छ । उक्त गीतमा कलाकार जितु नेपालको स्वरसुन्न सकिन्छ भने भिडियोमा कार्टुन क्रूका कलाकार सरोज अधिकारीले नृत्य गरेका छन् । नेपाली टेलिभिजनमा हास्य श्रृंखलाको क्रेज बढ्नु अघि एउटा पारिवारिक श्रृंखला दर्शकको रोजाइमा परेको थियो– परिचय ।
ऋषि लामिछानेद्वारा निर्देशित उक्त श्रृंखलाका दर्शकमा तुलनात्मक दृष्टिले महिला बढी थिए । दुई साताअघि मात्र निर्देशक लामिछानेले यो श्रृंखलालाई पुनर्जीवन दिएका छन् अर्थात् नेपाल टेलिभिजनबाट प्रत्येक आइतबार राति ८:५० बजेदेखि यो श्रृंखला नयाँ स्वरूपमा प्रसारण हुन थालेको छ । नयाँ साज–सज्जासहितको यो श्रृंखलामा सरितासहित सरोज खनाल, नीर शाह, कविता शर्मा, वर्षा राउत, सुनिल कटवाल, आरपी पन्त आदि कलाकारले अभिनय गरेका छन् । एक दशकअघि उक्त श्रृंखला १ सय ४१ भाग जति प्रसारण भएर रोकिएको थियो ।
यी त भए विगतमा लोकप्रियताको शिखर चुम्न सफल केही टेलिभिजन कार्यक्रम, जो नयाँ साज–सज्जासहित पुन: दर्शकमाझ आउन थालेका छन् । यद्यपि दर्शकको रोजाइमा पर्न सफल पुराना लोकप्रिय कार्यक्रमको सूची यतिमै सीमित छैन ।
पुराना टेलिभिजनकर्मी भूषण दाहाल एकताका नेपाल टेलिभिजनमा सन्डे पप शीर्षकको कार्यक्रम प्रस्तुत गर्थे । सन्डेपपमा अंग्रेजी गीतका म्युजिक भिडियो प्रसारण हुन्थ्यो । उक्त कार्यक्रमले दर्शकको मन जितेको थियो ।
संगीतकार शम्भुजित बासकोटाको सांगीतिक कार्यक्रम प्रतिभाको डबलीले पनि थुप्रै प्रतिभा जन्माएको थियो । नेपाल टेलिभिजनबाट प्रसारण भएको उक्त कार्यक्रमलाई नेपालकै पहिलो रियालिटी शो पनि भनिन्छ ।
नरेश भट्टराईद्वारा सञ्चालित नृत्यमा आधारित रियालिटी शो ‘आँगन’ पनि दर्शकको रोजाइमा पर्न सफल पुरानो कार्यक्रम हो । आँगनकै शैलीमा तयार भएको नृत्यकै रियालिटी शो ‘छमछमी’ ले पनि दर्शकको साथ पाएको थियो । छमछमीको नयाँ संस्करण अहिले पनि प्रसारणको क्रममा छ ।
कुनै बेला पुराना अभिनेता सन्तोष पन्तको हिजो आजका कुरा हेर्न दर्शकहरू शुक्रबार साँझको प्रतीक्षामा हुन्थे । उक्त श्रृंखला केही वर्षअघि उक्त श्रृंखला प्रशारण हुन छाड्यो । केही समयपछि कान्तिपुर टेलिभिजनमा उक्त श्रृंखला नयाँ शैलीमा प्रसारण हुन थाले पनि पुरानो साख कायम गर्न नसक्दा केही महिनापछि नै टुंगियो ।
कान्तिपुर टेलिभिजनकै लोकप्रिय हास्य श्रृंखलामध्ये एक थियो घरबेटी बा । थुप्रै कलाकार जन्माउन सफल उक्त श्रृंखलाले दर्शकमाझ राम्रो छाप छाडेको थियो । प्रकाश ओझाद्वारा निर्देशित कान्तिपुर टेलिभिजनबाटै प्रसारण भएको हास्य श्रृंखला तीते करेलीले पनि राम्रो क्रेज बनाएको थियो ।
झन्डै १२ वर्षसम्म दर्शकलाई हँसाउन सफल हास्य श्रृंखला तीतो सत्यले त इतिहास नै कायम गरेको थियो । केही वर्षअघि प्रसारण रोकिएको उक्त श्रृंखलाको पुन: प्रसारण कहिले प्रारम्भ हुन्छ भनेर जिज्ञासा राख्नेहरू आज पनि भेटिने निर्देशक दीपकराज गिरी बताउँछन् ।
नवीन सुब्बाद्वारा निर्देशित टेलिश्रृंखला दलन, बद्री अधिकारीद्वारा निर्देशित टेलिश्रृंखला अविरल बग्दछ इन्द्रावती तथा श्याम भट्टराईद्वारा निर्देशित टेलिश्रृंखला गहनाले पनि दर्शकको मनमा गहिरो छाप छाडेका छन् ।
इमेज च्यानलबाट प्रसारण हुने टप अफ द पप कार्यक्रममार्फत भिडियो जक्की सुशील नेपाल सेलिब्रेटी भएका हुन् भन्दा फरक पर्दैन । नेपाल टेलिभिजन तथा कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कृपा अनप्लग्ड शीर्षकको सांगीतिक कार्यक्रमले पनि दर्शकको मन जितेको थियो । लाइभ ब्यान्डसहितको उक्त कार्यक्रम खर्चिलो हुँदा–हुँदै पनि लामो समय दर्शकको मनमा रहन सफल भयो ।
रोशन प्रताप रानाले नेपाल टेलिभिजनका लागि तयार पारेको सांगीतिक कार्यक्रम ‘तिम्रो गीत मेरो सन्देश’ कार्यक्रमले पनि दर्शकको मन जितेको थियो । उक्त कार्यक्रमकी सञ्चालिका थिइन् सिवानी सिंह थारू । सहर–बजारदेखि गाउँ–घरसम्म पुगेर दर्शकको सन्देश लिँदै उनीहरूलाई मन पर्ने गीत प्रसारण गरिने उक्त कार्यक्रमलाई दर्शकले आज पनि सम्झना गरिरहेका छन् ।
कृष्०ा भट्टराई