१. मेयरको उम्मेदवारले सम्भव हुने सपना मात्र बाँड्नुपर्छ ।
२. बिपनामा आफ्नो सपनाले आफैंलाई नगिज्याओस्, नजिस्क्याओस् र नझुक्याओस् ।
३. गर्न सक्नेजति मात्र बोल्नुपर्छ । नसक्ने कुरामा मौन बस्नु नै उपयुक्त हुन्छ । मौन बस्न नसके चुप लाग्नुपर्छ ।
४. दुनियाँभरिको खिसिट्युरी सुन्नुभन्दा एक–दुईवटा काम गर्या भए हुन्थ्यो । उद्घाटन र शिलान्यासलाई पनि सय दिने कार्यमा समावेश गरे हुन्थ्यो ।
५. पार्टीले तयार पारेको ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गर्नुअघि आफूले पनि रुजु गर्नुपर्छ । प्रतिबद्धता पूरा गर्न नसके के जवाफ दिने भन्ने ज्ञान पनि पार्टीबाटै माग्नुपर्छ ।
६. जनताबाट उठ्ने जुनसुकै प्रश्नको उत्तर प्रस्टसँग दिन मेयर तयार रहनुपर्छ । उत्तर दिन नसक्ने अवस्थामा ‘पास’ गर्न सक्नुपर्छ ।
७. सोझो हुँदैमा सफल भइन्छ भन्ने भ्रम पाल्नु हुँदैन । भित्रबाट सोझो र बाहिरबाट कागको फुल चोर्न सक्ने मात्र सफल मेयर मानिन्छ ।
८. इमान्दार बन्दैमा लोकप्रियता कायम रहँदैन । लोकप्रियता कायम गर्ने उत्तम उपाय भनेको काम, काम अनि काम नै हो ।
९. असफल बन्न गलत काम गर्नै पर्छ भन्ने छैन । असफल बन्ने हजार उपायमध्ये ‘बेकार सय दिन’ पनि हुन् ।
१०. गर्छु भनेको काम गरेन भने पनि त्यो स्वत: असफल मानिन्छ । नबोलेको सानो काम गरे पनि ठूलै सफलता मानिन्छ ।
११. मेयर भ्रष्ट नभए पनि अल्छी नै भयो भने मात्र पनि नगरपालिकालाई दशा लाग्छ । नगरपालिकालाई दशा लाग्यो भने नगरवासीलाई रिस उठ्न थाल्छ ।
१२. वडाध्यक्षहरूका लागि मोबाइल फोन खरिद गर्नुभन्दा पहिले वडावासीहरूका लागि मोबाइल ट्वाइलेट बनाउनु उपयुक्त हुन्छ ।
१३. भोट जित्न जति सजिलो छ, मन जित्न त्यति नै गाह्रो छ । मन जित्नका लागि वचनअनुसार कर्म गर्नुपर्छ ।
१४. ओरालो लागेको मेयरलाई आफ्नै भोटरले लखेट्छन् ।
१५. इमानदारले भन्दा कामदारले जनताको मन जित्न सक्छ ।
१६. राजधानीलाई विद्या भएरमात्र पुग्दैन, चतुर्विद्या पनि चाहिन्छ ।
१७. सहरका मेयरमा विद्या र सुन्दरता मात्र होइन, कार्यकुशलता र जागरुकता पनि चाहिन्छ ।
१८. यस पटकको बहुमत अर्को पटकको झिनो मत बन्न सक्छ । झिनो मतले हारेको मेयर तेस्रो पटक अल्पमतमा पर्ने पक्का छ ।
१९. मेयर एक्लैले केही पनि गर्न सक्दैनन्, तर काम गराउन भिटो त प्रयोग गर्न सक्थे नि †
२०. सिंगापुर बनाइदिन्छु भन्ने किशुनजीको सपनाले अहिलेसम्म हामीलाई घुमाइरहेको छ ।
२१. प्रचण्डको स्वीजरल्यान्ड सपनाले हामीलाई न निदाउन दिएको छ, न त ब्युँझन दिएको छ ।
२२. विद्यासुन्दरको सपना पनि त्यस्तै सपनाको अर्को कडी बन्न पुगेको छ ।
२३. असम्भव सपनाले आफूलाई पनि सिध्याउँछ, पार्टीलाई पनि बिताउँछ । चुनाव अघि सम्भव सपना मात्र देखाएको भए १ सय दिनमा यत्रो विरोध आउँदैनथ्यो ।
२४. विश्वकै सफा सहर होइन, नगरले विश्वकै कामकाजी मेयर खोजिरहेको छ ।
२५. १ सय दिनमा एउटै कुरा भए पनि गर्नोस् तर चुप लागेर नबस्नोस् ।
२६. १ करोडको गाडी किन्ने कुरो जसको भए पनि त्यसलाई रोक्ने काम मेयरको हुनुपथ्र्यो ।
२७. केशव स्थापितको स्पिड देखेका काठमाडांैवासी प्रतिबद्धतापत्र हेरेर बस्न सक्दैनन् ।
२८. शताब्दी लाग्ने कामलाई सय दिनमा गर्छु भनेर हुन्छ ?
२९. चुनावअघिको उम्मेदवार र चुनावपछिको मेयरमा आकाश–जमिनको फरक हुन्छ ।
३०. जसरी हुटिट्याउँले आकाश थाम्दैन, त्यसरी नै एउटा मेयरले काठमाडांै बनाउन सक्दैन ।
३१. आश्वासनका भरमा आएको भोट १ सय दिनले बगाउन सक्छ ।