साप्ताहिक संवाददाता
बाढीको पीडाले बिथोलिएको बाराको जनजीवन असोज २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा केन्द्रित हुन थालेको छ । नेता–कार्यकर्ताका साथै पक्कापक्की भैसकेका तथा सम्भावित उम्मेदवार घरदैलोमा व्यस्त छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा) ले चुनावमा जाने निर्णय गरेलगत्तै मतदाताहरू थप उत्साही भएका छन् । गाउँ–गाउँमा उम्मेदवारका सम्बन्धमा आलोचना गर्ने र समर्थन जनाउने क्रम तीव्र भएको छ ।
राजनीतिक दलहरूको घरदैलोलगायतका चुनावी गतिविधिले मतदाताहरू उत्साही देखिन्छन् । राजमार्ग छेउछाउको स्थानीय तहमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । त्यहाँ माओवादी तेस्रो प्रतिस्पर्धीका रूपमा देखा पर्दैछ । यसैगरी सदरमुकाम र आसपास तथा सीमावर्ती क्षेत्रको स्थानीय तहमा कांग्रेस, राजपा, संघीय समाजवादी तथा एमालेबीच कडा प्रतिस्पर्धा हुने सम्भावना छ ।
२ उपमहानगरपालिका, ५ नगरपालिका तथा ९ गाउँपालिका रहेको यो जिल्लामा ३७ दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन् ।
२ सय ९४ मतदान स्थल रहेको बारा जिल्लामा ४ सय ५१ मतदान केन्द्रका लागि मतदान अधिकृत तोकिएका छन् । १६ वटै स्थानीय तहमा मतदान अधिकृतको कार्यालय खुलिसकेको छ भने निर्वाचनको कार्यक्रमसमेत सार्वजनिक भैसकेको छ ।
चुनावको सबैखाले बन्दोबस्त मिलाउन व्यस्त छौं, मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले भने । सबै ठाउँमा मतदाता शिक्षा पुर्याउने, मतदान केन्द्र तोक्नेदेखि लिएर निर्वाचन सामग्रीको व्यवस्थापनमा जुटेको निर्वाचन कार्यालयका प्रमुख नरेश सर्राफले बताए । यता गाउँ–सहरमा मतदाताहरू आफ्नो मताधिकार कसरी प्रयोग गर्ने ? कसलाई मत दिने ? कुन पार्टीले कस्ता र कुन उम्मेदवारलाई अघि सार्दैछ ? को राम्रा–को नराम्रा भन्ने छलफल–बहसमा व्यस्त छन् ।
यसबाहेक गाउँका कुन नेता कुन पार्टीमा प्रवेश गरे वा गर्दैछन् ? कुन पार्टीको नेता कहाँ आए, के गरे ? लगायतका विषय पनि चर्चाको विषय भएका छन् ।
अहिले आन्दोलनकारी मधेसवादी दलका तारो बनेका तीन ठूला दल कांग्रेस, एमाले तथा माओवादी केन्द्रका सबैजसो शीर्षस्थ नेताहरू दिनहुँ राजनीतिक प्रशिक्षणमा व्यस्त हुन्छन् । नेताहरूलाई उम्मेदवार छान्न, प्रशिक्षण चलाउन, प्रचारात्मक सभा आदि गर्दैमा भ्याइ–नभ्याइ छ । चुनाव चिह्न तथा पार्टीका झन्डावाल सवारीहरूको ओइरो लागेको छ । प्रदेश नम्बर–२ मा मधेस आन्दोलनको मुख्य केन्द्र पश्चिमको वीरगन्ज र पूर्वको जनकपुरमा राजनीतिक दलका नेताहरूको आवागमन बढेको छ ।
पछिल्ला दुई वर्ष घरीघरी भैरहने आन्दोलनले त्रसित स्थानीय समुदायले बिस्तारै स्वतन्त्र र सहज महसुस गर्न थालेको छ ।