नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठ अहिले ‘गाल्डेन बोइ’ नामक नाटकमा अभिनय गरिरहेकी छिन् । सोही नाटकको सेरोफेरोमा रहेका नायिका श्रेष्ठसँग गरिएको कुराकानी :
चलचित्रको प्लान हुँदाहुँदै अनायास नाटक ‘गोल्डेन ब्वाइ’ मा अभिनय गर्न थाल्नुभयो ?
मैले आफ्नै ब्यानर हाइलिहाई इन्टरटेन्मेन्टबाट चलचित्र बनाउन नयाँ स्क्रिप्टका लागि आह्वान गरेकी थिएँ, जसमा केही नयाँ खालका स्क्रिप्ट पनि आएका छन् र आउने क्रम समेत जारी छ । यसबीच निर्देशक डेबोरा मेरोलाले नाटक ‘गोल्डेन ब्वाइ’को प्रस्ताव ल्याउनुभयो र म त्यसमा निर्माता तथा अभिनेत्रीका रूपमा जोडिएँ । अब नाटकको सबै सो सकिएपछि म व्यस्त हुने भनेकै आफ्नो चलचित्रमा हो ।
यो नाटक नम्रताको करियरका लागि कत्तिको महत्वपूर्ण छ ?
मूलत: म कलाकार हुँ र म एउटै परिधिभित्र बाँधिएर चलचित्रकी अभिनेत्रीका रूपमा मात्र सीमित हुन चाहन्न । यसअघि पनि मैले नाटकमा अभिनय गरिसकेकी छु । अभिनय करियरमा आफ्नो क्षमता बढाउन हरेक कलाकारले नाटकमा अभिनय गर्नु महत्वपूर्ण हुन्छ । फेरि दर्शकहरूका अगाडि प्रत्यक्ष अभिनय गर्नुको बेग्लै मज्जा छ ।
तपाईं त आफ्नो रहर पूरा गर्न मात्र नाटकमा काम गरिरहनुभएको छ भनिन्छ नि ?
नाटक मेरो रहरभन्दा पनि रुचि हो र अभिनय मेरो पेसा हो, चाहे त्यो नाटक होस् वा चलचित्र वा म्युजिक भिडियो नै किन नहोस् ।
आममानिसका लागि त यो नाटकलाई नेपालीमा अनुवाद गरेको भए हुन्थ्यो, किन अंग्रेजी मै ?
नाटकको निर्देशक डेबारा अमेरिकन हुनुहुन्छ । उहाँले पहिले अंग्रेजीमै गरौं भन्नुभयो र अहिले अंग्रेजी भाषामा मञ्चन गरिरहेका छौं, तर हालसालै हाम्रो टिम मिटिङ बस्दा नाटकको विषयले अहिलेको नेपाली समाजको समेत प्रतिनिधित्व गरेको कुरा उठ्यो । पहिले यसपटकका शोहरू सकौं । सम्भवत: यसलाई अनुवाद गरेर केही समयपछि नेपालीमा समेत मञ्चन गर्न सकिन्छ ।
नाटक कुनै थियटरमा नदेखाएर बारमा देखाउनुको कारण केही छ ?
बारमा नाटक देखाउँदा त्यसले सन् १९३० ताकाको वातावरण र परिवेश अनुभूत गराउँछ । निर्देशकले त्यही चाहनुभएको हो । त्यहाँ नाटक मञ्चन गर्दा दर्शकहरूलाई लागोस् कि उहाँहरू पनि नाटकको एउटा भाग हो ।
नाटक चलिरहंदा बियर र स्न्याक्स सर्व गर्दा दर्शकको ध्यान नाटकमा केन्द्रित हुन्छ त ?
मध्यान्तरमा सर्व गरेका छौं, जति बेला मञ्चमा नेसनल लेभलका बक्सिङ खेलाडीहरूले वास्तविक बक्सिङ खेलिरहेका हुन्छन् । बियर पिउँदै बक्सिङ हेर्ने दर्शकहरूको प्रतिक्रिया राम्रो पाएका छौं हामीले ।
नाटकको पात्र लुरना मुनको चरित्र निर्वाह गर्न कत्तिको गाह्रो लाग्यो ?
आफूलाई बिर्संदै अरूको चरित्रमा प्रवेश गरेर त्यो पात्रलाई निर्वाह गर्न अवश्य पनि गाह्रो हुन्छ । लुरनाको चरित्र कतै हराएको वा रहस्यपूर्ण छ । नाटकको कतिपय स्थानमा त्यो पात्रले पाँच मिनेटसम्म कुनै संवाद बोल्दैन । त्यतिबेला चाहिँ मलाई गाह्रो भएको थियो । निर्देशक र टिमको सहयोगले अहिले सहज हुँदै गएको छ ।
अब चलचित्रसम्बन्धी योजना के छ ?
दुई तीनवटा चलचित्रबाट कुरा भैरहेको छ । यो नाटकको मञ्चन सेप्टेम्बर १० मा सकिन्छ, अनि मात्र त्यसको कुरा अघि बढाउँछु । फेरि म आफ्नै होम प्रोडक्सनबाट पनि चलचित्र निर्माण गर्ने तयारीमा छु ।