म ३४ वर्षीय विवाहित युवक हुँ । मैले यौनसम्पर्क गर्दा Vaginal Contraceptive (Today capsule; Indian made) प्रयोग गर्दै आएको छु । यसबाट हामी दुवैको यौन सन्तुष्टिमा कुनै कमी आएको छैन, तर यसले पछि गएर कुनै नकारात्मक असर गर्छ कि ?
- ०४३२
यौनसम्पर्क वैवाहिक जीवनको एउटा अपरिहार्य पाटो हो । अहिले यौनसम्पर्कको उद्देश्य सन्तान जन्माउनुभन्दा बढी यौन आनन्दका लागि हुन थालेको छ । गर्भनिरोधक साधन प्रयोगको मुख्य धेय यौनसम्पर्कको मजा लिए पनि सन्तान नजन्मियोस् भन्ने हुन्छ ।
गर्भनिरोधका साधन ?
तपार्इंलाई थाहै होला नेपालमा कन्डम, खाने चक्की, इम्लान्ट, कपर–टीजस्ता गर्भनिरोधका साधन उपलब्ध छन् । त्यसैगरी पुरुष तथा महिला बन्ध्याकरणजस्ता स्थायी उपाय अनि क्यालेन्डर विधि वा बाह्य स्खलन विधिका बारेमा पनि जानकारी पाउनु नै भएको होला । नेपालमा सहज रूपमा उपलब्ध नभए पनि यसबाहेक पनि गर्भ निरोधका अन्य साधन निर्माण भएका छन् जसमध्ये केही प्रमुख साधनका बारेमा कुरा गरौं ।
१. Cervical Cap : यो पाठेघरको मुखमा लगाइने नरम latex ले बनेको साधन हो । यसलाई शुक्रकीट नाशक औषधीका साथ प्रयोग गरिन्छ ।
२. Contraceptive film : यो एक इन्चको चारपाटे sheet हो । यसलाई पाठेघरको मुखनजिक योनिमा राखिन्छ र यसमा शुक्रकीटनाशक औषधी हुन्छ ।
३.Contreceptive sponge : योनिमा राखिने यो साधनले वीर्यलाई पाठेघरको मुखमा पस्न दिँदैन ।
४.Contraceptive supporting : योनिको भित्रीभागतिर राखिने यो साधनमा शुक्रकीटनाशक औषधी पनि हुन्छ ।
५. Diaphram : योनिभित्र राखिने यो साधनले पाठेघरको मुखमा शुक्रकीट पस्न दिँदैन ।
६. Contraceptive patch : चारपाटे ‘band aid’ जस्तै देखिने यो साधनमा हार्मोनयुक्त औषधी हुन्छ र यसलाई महिलाको पाखुरा, नितम्ब, पेटजस्ता स्थानमा टाँसेर प्रयोग गर्न सकिन्छ ।
७. Ring : योनिमा राखिने यो गोलाकार साधनमा हार्मोनयुक्त औषधी हुन्छ ।
८. Shield : यो सिलिकनले बनेको सानो कचौराजस्तो आकारको साधन पाठेघरको मुखमा टयाप्प मिल्ने गरी राखिन्छ र यसलाई शुक्रकीट नाशक औषधीयुक्त जेली वा क्रिम लगाई प्रयोग गरिन्छ ।
तपाईंले प्रयोग गर्नुभएको साधन के हो ?
तपाईंले vaginal contraceptive भन्नुभएको छ । तपाईंलाई थाहै हुनुपर्छ, अंग्रेजी शब्द Vagina को अर्थ योनि हो अर्थात् यो योनिमा प्रयोग गरिने गर्भनिरोधक साधन हुनुपर्छ । तपाईं पुरुष हुनुभएकाले तपाईंले यसको प्रयोग कसरी गर्नुभयो, बुझ्न सकिएन । मेरो बुझाइमा यो पक्कै पनि तपाईंकी श्रीमतीले प्रयोग गर्दै आउनुभएको छ ।
योनिमा राखिने यो साधनको नाम तपार्इंले भारतमा बनेको Today नामको capsule भएको कुरा गर्नुभएको छ । यसमा कुन औषधी प्रयोग गरिएको छ वा यो के–कस्ता सामग्रीबाट बनेको हो वा त्यसको वैज्ञानिक नाम पनि लेखिदिनुभएको भए जवाफ दिन सजिलो हुने थियो, तैपनि मेरो जानकारीमा भएको आधारमा यो क्याप्सुलभन्दा पनि suppository हो भन्ने लाग्छ । अचेल यसका लागि tablet शब्द प्रयोग हुन थालेको छ । अलि लाम्चो क्याप्सुलको आकारमा भएका tablets लाई caplets भनिन्छ । यो औषधीयुक्त पिण्ड हो र प्राय:जसो सोली वा लाम्चो आकारमा पाइन्छ । क्याप्सुल, विशेषत: जेलटिनले बनेको खोलमा भित्र औषधी राखिएका हुन्छन् ।
Today vaginal contraceptive ले कसरी काम गर्छ ?
हुन त अन्य देशमा Today व्यापारिक नाम भएको vaginal contraceptive, sponge का रूपमा उपलब्ध हुन्छ । तपाईंले भारतमा बनेका Today vaginal गर्भ निरोधको कुरा गर्नुभएकाले मलाई लाग्छ, यो by Bliss GVS Pharma कम्पनीको ‘carencure’ पहल अन्तर्गत बजारमा ल्याइएको प्रसाधन हो । यदि फरक परेको भए फेरि पत्र लेख्नुहोला ।
यो यौनसम्पर्कभन्दा यस्तै ५ मिनेटअघि योनिमा पसाउनुपर्ने गर्भनिरोधको साधन हो । यसमा Nonoxynol-9 भनिने शुक्रकीटनाशक औषधी हुन्छ । यो योनिमा राखेपछि फिँज आउने र औषधी सक्रिय हुने हुँदा शुक्रकीट निष्क्रिय हुन्छन् र पाठेघरतिर जान पाउँदैनन् । शरीरको तापकक्रम र योनिमा भएको रसले यसलाई dissolve हुन मद्दत गरी फिँज बन्न सहयोग गर्छ, जसले शुक्रकीटलाई पाठेघरनजिक पुग्न बाधा पुर्याउँछ । यसमा शुक्रकीटनाशक औषधी हुनुले नै यसलाई पहिलेका फिँज चक्कीको तुलनामा फरक बनाएको छ ।
यसको प्रयोग गरेपछि पुरुषको लिङ्गमा tingling sensation हुन सक्छ । लिङ्गको उत्तेजना पुरानै अवस्था नआई तुरुन्तै पिसाब फेर्दा यस्तो हुने भएकाले केही समय पर्खेर उत्तेजनाविहीन अवस्थामा पुगेपछि मात्र पिसाब फेर्न सल्लाह दिइन्छ । सही तरिकाले यसलाई प्रयोग गर्न सकिए प्रभावकारीता यस्तै ८५ प्रतिशत हुन्छ । यसलाई एकै दिनमा धेरै पटक प्रयोग नगर्ने सल्लाह दिइन्छ । यसले यौनरोगबाट जोगाउँदैन । यसको प्रमुख फाइदा के हो भने महिलाले चाहेका बेला यसलाई प्रयोग गर्न सक्छन् र यसले योनिमा राखेको एक घण्टासम्म गर्भनिरोधको काम गर्छ ।
गर्भनिरोधको यो साधनमा हार्मोनयुक्त औषधी नहुने भएकाले यसको नकारात्मक असर छैन भन्दा पनि हुन्छ । महिनावारीमा असर नपर्ने हुनाले कतिपय महिलाका लागि यो निकै फाइदाजनक हुनसक्छ । आफ्नै नियन्त्रणमा हुने भएकाले महिलाहरूले यसलाई रुचाएका छन् । यसले यौनसम्पर्कमा पनि कुनै प्रत्यक्ष असर गर्दैन ।
कतिपयलाई यसको एलर्जी हुन सक्छ । एलर्जी हुँदा योनि वा लिङ्ग रातो हुने, सुन्निने, शोथ हुने, चिलाउने आदि हुन सक्छ । अध्ययनहरूअनुसार श्रीमान्–श्रीमतीबीचमा सामान्य रूपमा प्रयोग गरिँदा यसको दीर्घकालीन गम्भीर असर परेको देखिएको छैन ।